0
गोल्डेन न्यूज संवाददाता
कास्कीको भदौरेतामागी गाविसमा एक दलित अनमीमाथि जातीय भेदभाव गर्ने गुरुङ दम्पत्ति पक्राउ परेका छन् । पीडित अनमी अम्बिका सुनारको जाहेरीको आधारमा प्रहरीले ठकुरशोभा र उनका श्रीमान् चन्द्रबहादुर गुरुङलाई शुक्रबार पक्राउ गरेको हो । गुरुङ दम्पत्तिले गत पुस २८ गते एक भोजमा जुठो भाँडा नमाझेको भन्दै अम्बिकालाई दुव्र्यवहार गरेका थिए । गुरुङ दम्पत्तिविरुद्ध अम्बिकाले विहीबार जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् । जिल्ला प्रहरी कार्यालयको निर्देशनमा पामेस्थित प्रहरी चौकीमा खटिएका प्रहरीले गुरुङ दम्पत्तिलाई भदौरे कुत्मिडाँडास्थित घरबाट पक्राउ गरेको हो । उनीहरुलाई हाल थुनामा राखिएको प्रहरी कार्यालयले जनाएको छ । गुरुङका आफन्तले शुक्रबार छलफल गर्न समय माग गरेको भएपनि कार्यालयले सार्वजनिक विदाको दिन छलफल नहुने भन्दै उनीहरुलाई फर्काइदिएको थियो । 
पीडित अम्बिकाले आफूलाई पीडकका आफन्तले ‘माफि माग्न र उनले पकाएको खान समेत तयार भएको’ भन्दै उजुरी फिर्ता लिन दवाव दिएको बताइन् । ‘म कुनै हालतमा जाहेरी फिर्ता लिन्न’, उनले भनिन्, ‘दोषीलाई कानून बमोजिम कार्वाही हुनुपर्छ ।’ अधिवक्ता शिवबहादुर सुनारले जातीय भेदभावको घटनामा सरकारवादी मुद्दा हुने भएकोले प्रहरीबाट मिलाउन नमिल्ने बताए । उनले पीडकलाई २५ दिनसम्म हिरासतमा राखेपछि बयानको प्रक्रिया अगाडि बढ्ने र सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेश गर्नुपर्ने व्यवस्था रहेको बताए । पीडकलाई जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजायँ) ऐन २०६८ को आधारमा कार्वाही हुने उनले जानकारी दिए ।
संविधानले जातीय भेदभावलाई सामाजिक अपराधका रुपमा व्याख्या गर्दै दण्डनीय हुने व्यवस्था गरेको छ । २०६८ को ऐन अन्तर्गत दफा ७ को उपदफा १(क) मा जातीय विभेद् गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने उल्लेख छ । त्यस्तै दफा ७ को उपदफा २ बमोजिम सार्वजनिक पदधारण गरेको व्यक्तिले कसुर गरेमा निजलाई ५० प्रतिशत थप सजायँ हुने उल्लेख छ । पीडकले २५ हजार देखि १ लाख रुपैयाँसम्म क्षतिपुर्ति पीडितलाई उपलब्ध गराउनुपर्ने ऐनमा व्यवस्था छ ।






Post a Comment

 
Top