0
गोल्डेन न्यूज संवाददाता
कास्की दक्षिणभेगस्थित शान्ति उदय उच्च मा.वि. बर पाण्डेथुमले आफ्नो ५६ औं वार्षिकोत्सव एवम् ५७ औं अभिभावक दिवसका अवसरमा विद्यालयमा लामो समयदेखि अध्यापन गर्ने शिक्षक तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई आज सम्मान एवम् पुरस्कार प्रदान गरेको छ । विद्यालयले लामो समयदेखि अध्यापन गरी यस क्षेत्रकै शैक्षिक विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै शिक्षकहरू भोला सिंह ठाकुर, काजीमान आचार्य, र केदारनाथ आचार्यलाई दीर्घ सेवा सम्मान र शिक्षक रघुनाथ आचार्यलाई सेवा सम्मानबाट सम्मानित गरेको हो ।
कार्यक्रममा गंगाधर स्मृति अक्षयकोषबाट उत्कृष्ट शिक्षकका रुपमा कृष्णप्रसाद आचार्य र दुई जना छात्रछात्रालाई नगद पुरस्कार सहित कोषकी संरक्षक नन्दकुमारी आचार्यले सम्मान गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले समय सापेक्ष गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताए । समाजको परिवर्तनमा शिक्षक वर्गको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले शिक्षकको योगदान विद्यालयमा मात्र नभएर समाजले पनि अपेक्षा गर्ने उल्लेख गरे । विद्यालयको विकासका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्दै उहाँले सामाजिक विकासका लागि सबैको एकतावद्ध प्रयास आवश्यक हुने बताए । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद लम्सालले विद्यालयले गुणस्तरीय शिक्षाका लागि निरन्तर प्रयास जारी राखेको बताउँदै विद्यालय, विद्यार्थी र अभिभावक सबैको सकारात्मक प्रयासबाट विद्यालयको समग्र विकास गर्न सकिने बताए । 
विद्यालयका प्राचार्य टेकनारायण गिरीले विद्यालयले यस क्षेत्रकै शैक्षिक विकासका लागि लामो समयदेखि महत्वपूर्ण योगदान गर्दै आएको बताउँदै समयको मागलाई आत्मसात गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने दृढ संकल्पका साथ विद्यलाय अघि बढेको जानकारी गराए ।
विद्यालय निरिक्षक पदमराज आचार्यले सामूदायिक विद्यलायमा बढ्दो विद्यार्थीको घट्दो क्रम चुनौतीका रुपमा देखा परेको बताउँदै समयको माग अनुसारको गुणस्तरीय शिक्षा दिने तर्फ ध्यान दिनु अपरिहार्य भएको बताए ।
कार्यक्रममा गंगाधर स्मृति अक्षयकोषका सञ्चालक शिवराज आचार्य, लेखनाथ नगरपालिका कार्यालयका राममणि अधिकारी, राष्ट्रिय समाचार समिति पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका वासुदेव पौडेल, समाजसेवी यज्ञप्रसाद अधिकारी, मनोहर आचार्य, ऋषिराज आचार्य, निलराज आचार्य, विद्यालयका शिक्षक वेदनाथ आचार्य, रनबहादुर गुरूङ लगायतले विद्यालयले कास्की दक्षिण भेगको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा जोड दिएका थिए ।









Post a Comment

 
Top