0
गोल्डेन न्यूज संवाददाता
कृषि विकास बैंक लिमिटेडले  विविध कार्यक्रम गरि देशभर आफ्नो ४९औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा  क्षेत्रीय कार्यालय पोखराले पनि रक्तदान र कर्मचारी पुनर्मिलन कार्यक्रम आयोजना ग¥यो । साथै  बैंकमा २५ वर्ष काम गरेका कर्मचारीलाई दीर्घसेवा पदक र २० वर्ष काम गरेका कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । कार्यक्रममा अवकाश प्राप्त पूर्व कर्मचारीहरुले आफूले काम गर्दाको अनुभव र गुनासो सुनाए । उनीहरुले आफूहरुले काम गर्दा धेरै दुःख पाएको भएपनि अहिले बैंकले ठूलो फड्को मार्दा गर्व लायक भएको बताएका थिए । उनीहरुले भने–‘आफूहरुले काम गर्दा क्याल्कुलेटर समेत थिएन । कितावको सूत्र हेरेर व्याज हिसाव गर्नुपर्ने अवस्था थियो । सोही बैंक अहिले अत्याधुनिक भइसहेको छ । हामीहरुलाई अत्यन्तै गर्व लागेको छ ।’ बैंकमा काम गर्दा आफूहरुले धेरै दुःख पाएको भएपनि अहिले बैंकले बेवास्ता गर्दा दुःख लागेको उनीहरुको गुनासो थियो । ‘हामीहरुले पाएको दुःखलाई जुन मूल्याङ्कन हुनुपर्ने थियो त्यहो भएन । यसले हामीहरुको मन खिन्न भएको छ’–बैंकका पूर्व कर्मचारीको गुनासो छ । उनीहरुले बैंकको सेवा लिंदा अहिले पनि झण्झट बेहोर्नुपर्दा झन दुःख लागेको बताएका थिए ।
बैंकका पूर्व शाखा प्रमुख कर्णबहादुर बसेल, पूर्व कर्मचारी तथा नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख भक्तराज श्रेष्ठ,  पूर्व कामू निर्देशक नरेन्द्ररमण त्रिपाठी र पूर्व निर्देशक एकबहादुर बस्नेत लगायतले क्याल्कुलेटर समेत नपाउँदाको अवस्थाबाट चलेको बैंक अहिले अत्याधुनिक बैंकिङ सेवा संचालन गर्ने अवस्थामा आइपुग्दा गर्व गर्न लायक भएपनि सबै कुरामा राम्रो र छिटो छरित्तो नभएको बताएका थिए । संसारका विकास बैंकहरु फेल भएको अवस्थामा पनि कृषि विकास बैंक सफल हुनु, मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्नु, अन्य बैंकले समेत कृषि विकासलाई प्रमुख प्रतिद्वन्दीको अवस्थामा लिनु सह्रानीय भएको भन्दै बैंकका पूर्व कर्मचारीहरुले अत्यधुनिक बैंकिङ सेवा संचालन हुँदा समेत छिटो छरित्तो नहुनु र पूर्व कर्मचारीले पाउने सेवा समेत भरपर्दो नहुनु दुःखको कुरा भएको बताएका थिए ।    
यस्तै बैंकका सेवाग्राहीहरुले पनि बैंकले प्रदान गरेको सेवाप्रति असन्तुष्टि जनाएका छन् । वर्तमान परिस्थितिमा पनि बैंकको सिस्टम परिवर्तन हुन नसक्दा थप समस्यामा परेको बैंकका उनीहरुको गुनासो थियो । उनीहरुले बैंकलाई वर्तमान समय सापेक्ष संचालन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कृषि विकास बैंकबाट २०४५ सालदेखि कर्जा लिएर काम गरेका पोल्ट्री व्यवसायी तेजनाथ भट्टराई र २० वर्षदेखि कर्जा सेवा लिइरहेका निर्माण व्यवसायी महेन्द्र अधिकारीले बैंकले प्रदान गर्ने सेवाहरु अझैपछि छिटोछरित्तो नभएको, अन्य बैंकमा सजिलो हुने सेवा एलसी, अनलाईन सेवाहरु कृषि विकास बैंकमा अझैपनि धेरै झण्झटिलो भएको गुनासो गरेका थिए । 
वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्रबैंक पोखरा कार्यालयकी निर्देशक नीलम तिमिल्सिनाले कृषि विकास बैंक सामु थुप्रै चुनौती रहेको बताइन । उनले अन्य निजी बैंकले जस्तै राष्ट्र बैंकको नीति, निर्देशन पालना गर्नुपर्ने र निजी बैंकहरुसंग प्रतिस्पर्धा गरेर अघि बढ्नुपर्ने चुनौती कृषि विकास बैंकलाई रहेको बताइन । करिब ५० वर्षको इतिहासमा कृषि विकासले धेरै प्रगति गरेको भन्दै उनले बैंकको सेवालाई थप सरल बनाएर अघि बढ्न र पूर्व कर्मचारीहरुको गुनासोलाई संवोधन गरेर अघि बढ्न आग्रह गरिन् । नेपालको सबैभन्दा ठूलो हिस्सा कृषिले ओगटेको भएपनि कृषिमा लगानी गर्न बैंकहरु अझैपनि तयार नभएको स्पष्ट पारिन् । कृषिमा जम्मा ४.६ प्रतिशतमात्र लगानी भएको भन्दै उनले राष्ट्रबैंकले बैंकहरुलाई बाध्यात्मक अवस्था सृजना गर्दा समेत बैंक ग्रामिण क्षेत्रमा जान डराएको बताइन । उनले भनिन्–‘बैंकहरुले कृषकहरु बैंकमा नआएको भन्दै कृषिक्षेत्रबाट पन्छिन् खाजेका छन् ।’ मुलुकको वर्तमान संकटप्रति ख्याल गर्दै कृषिमा लगानी बढाउनुपर्ने खाँचो औंल्याउँदै तिमिल्सिनाले प्रत्येक बैंकहरुले कृषिमैत्री कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन । 
बैंकको क्षेत्रीय कार्यालय पोखराका प्रमुख राजन प्रसाद श्रेष्ठले बैंकले प्रदान गर्ने सेवा प्रवाह बारे जानकारी गराएका थिए । कार्यक्रममा बैंकका कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा, नेपाल राष्ट्रिय कर्मचारी संगठन कृषि विकास बैंकका क्षेत्रीय अध्यक्ष भिमप्रसाद सुवेदी, कृषि विकास बैंक कर्मचरी संघका क्षेत्रीय अध्यक्ष टेकराज तिमिल्सिना, वित्तिय कर्मचारी संघ कृषि विकास बैंकका क्षेत्रीय अध्यक्ष  पवित्रराज पौडेल, शाखा प्रमुख रुद्रकुमार श्रेष्ठ, लोकनाथ दवाडी लगायतले बोलेका थिए । 
यसैबीच वार्षिकोत्सवकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको बैंकले जनाएको छ । कार्यक्रममा कृषि विकास बैंक कर्मचारी संघका केन्द्रीय उपमहासचिव महेश पौडेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कृषि विकास बैंकको ९ अर्व ८६ करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी, ३ अर्व ४२ करोड ४० लाख रुपैयाँ साधारण शेयर रहेको छ । बैंकमा १ अर्व ७४ करोड ६२ हजा र (५१ प्रतिशत) नेपाल सरकार र १ अर्व ६७ करोड ७८ लाख रुपैयाँ (४९ प्रतिशत) सर्वसाधारणको लगानी छ । बैंकले २०७२ मंसिर मशान्तसम्ममा ८२ अर्व ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कूल निक्षेपमा क्षेत्रीय कार्यालय पोखराको २ अर्व ८२ करोड योगदान छ । यस्तै कर्जा लगानीतर्फ ७३ अर्व १४ करोड रुपैयाँ रहेकोमा पोखरा कार्यालयको योगदान ७ अर्व १९ करोड रुपैयाँ छ । बैंकले शेयरधनीलाई २०७०÷०७१ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो भने २०७१÷०७२ मा खूद नाफा १ अर्व ८७ करोड रुपैयाँ कमाएको छ । यस्तै बैंकले २०७२ मंसिर मसान्तसम्ममा ८४ करोड नाफा मनाएकोमा पोखरा कार्यालयको मात्र २७ करोड योगदान रहेको कामू क्षेत्रीय निर्देशक राजन प्रसाद श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । 
वि.सं. २०२४ सालमा स्थापित बैंकले नेपालको ७५ वटै जिल्लाका २५५ कार्यालयबाट सेवा प्रदान गरेको छ । बैंकमा २ हजार ७०० कर्मचारी रहेको बताइन्छ । यस्तै बैंकका १९४ शाखा र क्षेत्रीय कार्यालय पोखरा अन्तर्गतका २३ वटै शाखामा अनलाइन रेमिट सेवा, लकर सेवा र २१ स्थानमा एटीएम, मुलुकका १८६ कार्यालयबाट अनलाइन बैंकिङ, १२१ वटा कार्यालयमा अत्याधुनिक बैंकङि सेवा प्रदान गरिएको क्षेत्रीय निर्देशक श्रेष्ठले बताए।





Post a Comment

 
Top