0
गोल्डेन न्यूज संवाददाता
मिलन युवा क्लवको आयोजनामा लमजुङको गिलुङमा जारी क्वोइ च्हों देवी रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनल आज (शुक्रबार) हुँदैछ । खुल्ला पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगितामा पुरुषतर्फको सेमिफाइनल खेल पनि शुक्रबार नै हुने बताइएको छ । शुक्रबार पहिलो सेमिफाइनल खेलमा आयोजक रातो गिलुङ र शिशुुवा एफसी, लेखनाथ भिड्दैछन् । 
दोश्रो सेमिफाइनल खेल लमजुङकै क्रियटिभ युथ क्लव, डढुवा र मितेरी युवा क्लव, घामराङबीच हुने छ । सेमिफाइनलका विजेताहरु शुक्रबार नै फाइनल भिड्नेछन् । महिलातर्फ फाइनलमा आयोजक सेतो र पहेलोबीच खेल हुने क्लवका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । बिहीबार भएको पुरुषतर्फको क्वार्टरफाइनलमा क्रियटिभ युथ क्लव, डढुवाले मनकामना युथ क्लव कमेरेलाई २–० ले हराएको थियो । अर्को क्वार्टरफाईनल खेलमा शिशुवा एफसी, लेखनाथले दुधपोखरी युवा क्लव, पसगाउँ, लमजुङलाई पनि २–० ले नै पराजित ग¥यो ।
महिलातर्फ भगवती युवा क्लव, टक्सार र आयोजक सेतोबीच भएको सेमिफाइनल खेल टाइब्रेकरमा पुगेको थियो । निर्धारित समयमा दुबैतर्फबाट कुनै गोल हुन नसकेपछि समय थप गरिएको थियो । थप समयमा पनि कुनै गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा आयोजक सेतोले भवती युवा क्लवलाई ४–२ ले हराएको थियो । आइतबारदेखि सुरु भएको प्रतियोगिता पुरुषतर्फ २२ र महिलातर्फ ५ टिम सहभागि थिए । क्लवले गिलुङको चिसापानीमा स्थित बुद्धोदय उच्च माविको ४१ औं बार्षिकोत्सवका अवसरमा प्रतियोगिताको आयोजना गर्दै आएको हो । पुरुष फुटवलतर्फ प्रतियोगिता मा प्रथम र द्वितीय हुने टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला फुटवल प्रतियोगितातर्फ प्रथम हुने टिमलाई नगद १५ हजार रुपैयाँ र द्वितीय हुने टीमलाई नगद ७ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । 
२०४२ सालमा स्थापित मिलन युवा क्लवले २०५४ सालदेखि खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लवले यहि वर्षदेखि महिला फुटवल प्रतियोगिता पनि समावेश गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक गिलुङ समाज, यूके रहेको छ । प्रतियोगिताका अन्य प्रायोजकहरुमा गिलुङ समाज, हङकङ, गिलुङ गाउँ सुधार सहयोग समिति, पोखरा र गिलुङ गाविस कार्यालय रहेका छन् ।




Post a Comment

 
Top