0
गोल्डेन न्यूज संवाददाता
खुल्ला एकल गायन तथा नृत्य प्रतियोगिता ‘गोल्डेन आइडल’ को सुपर मेगा अडिसन शनिबार पोखरा सभागृहमा हुने भएको छ । गोल्डेन स्टार मल्टिमिडिया प्रालिले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी दिएको हो । सुपर मेगा अडिसनमा विभिन्न जिल्लाका ११० जना प्रतिस्पर्धीको सहभागिता रहने बताइएको छ । यसअघि ११ जिल्लामा ३ वटा चरणमा छनोट कार्य सम्पन्न भैसकेको गोल्डेन स्टार मल्टिमिडियाका प्रबन्ध निर्देशक सरन गुरुङले जानकारी दिए । ११ वटा जिल्लामा गरिएको अडिसनमा ४७ जिल्लाका ४ हजार ४९ जना प्रतिस्पर्धीहरु सहभागी भएको गुरुङले बताए ।
सुपर मेगा अडिसनबाट उत्कृष्ट ७० जना प्रतिस्पर्धीहरु आगामी चरणको लागि छनोट हुनेछन् । त्यस्तै, माघ २३ गते हुने अडिसनबाट उत्कृष्ट ५०, फागुन ८ गते हुने अडिसनबाट उत्कृष्ट २० र फागुन २२ गते हुने अडिसनबाट उत्कृष्ट १० प्रतिस्पर्धी छनोट हुनेछन् । गायन तर्फ उत्कृष्ट ५ र नृत्यतर्फ उत्कृष्ट ५ प्रतिस्पर्धी बीचको अन्तिम प्रतिस्पर्धा चैत २७ गते पोखरा सभागृहमा हुने बताइएको छ । सोही दिन गायन र नृत्य विधाका ‘गोल्डेन आइडल’ को विजेता घोषणा गरिने छ । दुवै विधाका विजेतालाई रु १ लाख नगद पुरस्कार प्रदान गरिने प्रबन्ध निर्देशक गुरुङले बताए । फस्ट रनरअपलाई रु ५० हजार र सेकेण्ड रनरअपलाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । मूल्याङ्कन प्रक्रिया भने उत्कृष्ट ५० छनोटसम्म निर्णायकमा सर्वाधिकार रहनेछ । त्यस्तै उत्कृष्ट ५० छनोट पछि अन्तिम प्रतिस्पर्धासम्मका लागि दर्शकको प्रवेश टिकट र एसएमएसबाट ४० प्रतिशतको योगदान रहने गरि निर्णायकमा ६० प्रतिशत अधिकार निहित रहने व्यवस्था रहेको छ ।
 ‘देशका कुनाकाप्चामा लुकेर रहेका प्रतिभावान कलाकारहरुको खोजी गर्नु हाम्रो उद्देश्य हो’, प्रबन्ध निर्देशक गुरुङले भने,–‘हामी प्रतिभाको उचित मुल्याङ्कन गरि आम नागरिक माझ परिचित गराउछौं ।’ करिब ३५ लाखको खर्चमा हुन लागको गोल्डेन आइडल एनटिभी प्लसबाट हरेक आईतबार राति १० बजे र पुनः प्रसारण सोमबार विहान ४ बजे र दिउँसो १ः३० बजे हुने बताइएको छ । यसअघि पहिलो संस्करणमा गायनतर्फ रोहनजंग कार्की र नृत्यतर्फ शोभा खनाल, दोश्रो संस्करणमा गायनतर्फ कल्पना थापा र नृत्यतर्फ विशेषता श्रेष्ठ विजयी भएका थिए ।




Post a Comment

 
Top