0
गोल्डेन न्यूज संवाददाता
विन्ध्यवासिनी मन्दिर परिसरमा ज्येष्ठ नागरिक मिलन केन्द्र संचालन हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिर हाताभित्र ५ कोठे भवनमा केन्द्र सञ्चालन गर्ने भएको हो । आगामी माघ ४ गते नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको समितिले जानकारी दिएको छ । पोखरामा सोमबार पत्रकार सम्मेलन आयोजना गरी समितिले ज्येष्ठ नागरिकहरुको सम्मान र संरक्षण गर्ने हेतुले ७० वर्ष पुगेका ३० जनालाई दिवा सेवा प्रदान गर्ने जानकारी दियो । समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठका अनुसार पुर्वान्ह ११ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिईनेछ । ‘खाजाको व्यवस्था सहित श्रव्यदृश्य सामाग्री मनोरञ्जनका सुविधा, प्रवचन, प्राथमिक स्वास्थ्य परीक्षण लगायतको सुविधा ज्येष्ठ नागरिकले केन्द्रबाट पाउनेछन्’ श्रेष्ठले भने । पहिले खानेपानी कार्यालय रहेको भवन समितिले नेपाल सरकारको भवन निर्माण शाखाले मुल्य तोकेबमोजिम किनेर सोहि भवनलाई स्तरोन्नति गरी सञ्चालन गर्न लागेको हो । तीन लाख ३४ हजार मूल्यमा किनेको भवनको अहिले रंगरोगन, फर्निचर लगायतका पुर्वाधार जोडजाम गर्ने काम भईरहेको छ । केन्द्र स्थापना गर्न सबैको साथसहयोग मिलिरहेको जनाउँदै अध्यक्ष श्रेष्ठले प्राप्त सहयोग र आन्तरिक श्रोतबाट नै केन्द्र सञ्चालन हुने बताए।  भाडा व्यवसायीले आवश्यक भाँडाकुडा, अन्य व्यवसायीहरुले टिभी, पंखा, हिटर, भ्याकुम क्लिनर लगायत सामाग्री सहयोग गरिसकेका छन् भने औषधि व्यवसायीले प्राथमिक स्वास्थ्य परीक्षणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाईसकेको सचिव तीर्थ श्रेष्ठले बताए । केन्द्रमा राखिने ३० जना ज्येष्ठ नागरिक छनौटका काम सुरु भईसकेको छ । उनले भने– ‘केन्द्र सञ्चालन सम्बन्धी ऐन अनुसार नै प्रशासनबाट स्वीकृति लिएर प्रक्रिया अघि बढाईनेछ । उनले सेवा निःशुल्क हुने तर सहयोग गर्न चाहनेले गर्न सकिने स्पष्ट पारे । केन्द्र सञ्चालनका लागि मासिक एक लाखदेखि डेढ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने दुई कर्मचारीको व्यवस्था समेत गरिएको छ । २०४३ सालमा स्थापित समितिले २०५१ देखि एक शैक्षिक सत्रमा २५ जनासम्मका बटुकहरुलाई निःशुल्क वैदिक शिक्षा समेत प्रदान गर्दै आएको छ ।

Post a Comment

 
Top