0
गोल्डेन न्यूज संवाददाता
माघे सङ्क्रान्तिका अवसरमा स्थानीय सीतापाइलामा लाग्ने ढुङ्गे साँघु मेलामा एक लाख ५० हजार सहभागी भएका छन् । पश्चिमाञ्चल क्षेत्रकै सो जेठो मेला भर्न कास्की, पर्वत, स्याङ्जाबाट पनि भक्तजन आउने गर्दछन् । पोखरा उपमहानगरपालिका–१७ मा मनाइने मेला भगवान् रामचन्द्र र सीताजीले वनभोज खाएको स्थान सीतापाइलाको सेती नदीस्थित सीता घाटमा स्नान गरी यहाँस्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर, अकला मन्दिर, सीताको पाइला लगायतका धार्मिकस्थलमा दर्शन गर्ने गरिन्छ ।

आयोजक समितिका संयोजक ऋषिराम भण्डारीका अनुसार मेलाको व्यवस्थापन सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर व्यवस्थापन समितिले गर्दै छ । मेलालाई लक्षित गरी व्यापारिक कक्ष राख्ने प्रचलन छ । यस वर्ष विभिन्न सामानको व्यापारसहित होटेल तथा रेस्टुराँ समेतका ३०० कक्ष थिए । अध्यक्ष भण्डारीका अनुसार कक्ष स्थापनाबाट हरिहर मन्दिरका लागि लगभग रु दुई लाख आम्दानी भएको छ । मेलामा घरेलु उपयोगका चोया, फलामजन्य सामान, विभिन्न तयारी पोसाक, खानेकुरा आदिको उत्साहजनक व्यापार भएको स्थानीय ज्येष्ठ नागरिक कर्णाखर भण्डारीले बताए । मेलामा लायन्स क्लब अफ पोखरा माछापुच्छ«े भिलेजले निःशुल्क पिउने पानी र आकस्मिक उपचार सेवा प्रवाह गरेको थियो । मेलाकै अवसरमा ढुङ्गे साँघु सीतापाइला आमा समूहले सहभागीलाई तरुल, सखरखण्ड, खुदो चिउरा, सेलरोटी प्रसादका रुपमा उपलब्ध गराएको थियो । 
मेलाकै समय पारी राष्ट्रिय परोपकार महासङ्घ नेपाल, केन्द्रीय कार्यसमितिले पुस २६ गतेदेखि माघको ४ गतेसम्मका लागि आयोजना गरेको श्रीमद् भागवत माघे सङ्क्रान्ति महोत्सव, २०७२ मा शुक्रबार बिहानैदेखि अत्यधिक दर्शनार्थीको भीड रहेको थियो ।  सेती नदी किनारस्थित ढुङ्गे साँघुको सिद्ध परोपकार वैदिक गुरुकुल आश्रम परिसरमा सञ्चालित महोत्सवमा भागवत भास्कर कमलनयन गौतमले प्रमुख वाचकका रुपमा भागवत वाचन गरेका थिए ।












Post a Comment

 
Top