0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले ५ प्रदेश बनाउन आफूले पहल गर्ने बताएका छन् । प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने,–‘५ प्रदेश बनाउनुपर्छ भन्नेमा म दृढ छु । तर, मैले मात्र भनेर नहुने हुँदा ७ प्रदेश स्वीकारेको हुँ, अब पुनः सीमाङ्कन गर्दा ५ प्रदेश बनाउन पहल गर्छु ।’ एकथरीले प्रदेश बढाउने र अर्कोथरीले प्रदेश घटाउनुपर्ने तर्क गरिरहेको भन्दै उनले अहिलेको अवस्थामा ५ प्रदेश उपयुक्त हुने धारणा राखे ।
सीमाङ्कन परिमार्जन गर्ने नाममा पूर्वको २ नम्बर प्रदेशलाई झापासम्म र पश्चिम ७ नम्बर प्रदेशलाई कञ्चनपुरसम्म तन्काइयो भने देशमा आगो बल्ने उनले चेतावनी समेत दिए । आन्दोलनरत दललाई चित्त बुझाउने नाममा जबरजस्ती अन्य क्षेत्रको अधिकार खोस्न नहुने उनको जोड थियो ।
उनले भने ’नयाँ संविधानको बाटोमा जटिलता हुन्छन् तर, यसैभित्रबाट समाधान खोज्नु पर्छ ।’  संविधान अभ्यास गरेर यसैबाट सबै समस्याको निकास खोज्न सक्नुपर्ने उनले बताए । ‘बहुमत पु¥याएर आफ्नो माग पुरा गराउने बाटो संविधानले सुरक्षित गरेको छ’, उनले भने,–‘बहुमत त के मत नै जुटाउन नसक्ने अनि बाहिर बितण्डा गर्नेका कुरा सुन्दै जाने हो भने देश चल्दैन।’ सीमांकन तन्काएर पूर्वमा झापा र पश्चिममा कंचनपुर पुर्याउने प्रयास गरेर समस्या समाधान नहुने भनाइ उनले राखे । उनले भने–‘त्यसो गरियो भने देशमा आगो बल्छ ।’ आफू सुरुदेखि नै एक मधेस प्रदेशको विपक्षमा रहेको प्रष्ट पार्दै उनले भने–‘सबै दलले, नेता साथीहरुले पुरा हुनै नसक्ने मागलाई थुम्थुम्याउने र भ्रममा राखिदिने काम गर्नुहुँदैन । सबैतिरका जात जाति भाषाभाषी भएको विविधतालाई बिर्सनु भएन ।’
नेता खनालले मधेसको समस्या समाधानको अचुक उपाय भनेको संविधान कार्यान्वयन नै भएको जिकिर गरे । उनले एक मधेस एक प्रदेश राष्ट्रिय स्वाभिमान, स्वाधिनता र सार्वभौमिकताबिरुद्ध हुने बताउँदै यो कुनै हालतमा मान्य नहुने बताए । खनालले संविधानलाई अस्वीकार गरेर कुनैपनि समस्याको समाधान नहुने धारणा राखे । मधेस आन्दोलन होस् वा अन्य जुनसुकै समस्याको समाधान पनि संविधानको दायराभित्र रहेर गर्नुपर्ने उनको भनाई थियो । 
उनले भने–‘संविधान बनिसक्यो, अब यो संविधान तपाईंहरुले सँधै देख्ने गरेको माछापुच्छ«्रे हिमाल झैं उँभिन्छ, हिजो पनि यो यस्तै उभिएको थियो, आजपनि त्यस्तै छ र भोलि पनि यसरी नै उभिरहन्छ ।’ फरक प्रसङ्गमा वरिष्ठ नेता खनालले वर्तमान सरकार गतिशिल र प्रभावकारी नहुँदा देशभर गुनासो आइरहेको भन्दै सरकारलाई गतिशिल र प्रभावकारी भएर काम गर्न आग्रह गरे । जम्बो मन्त्रिपरिषद बनाएको प्रति असन्तुष्टी जनाउँदै उनले अलोकप्रिय निर्णय गर्दा होसियार रहन प्रधानमन्त्रीलाई सुझाव दिए । उनले नाकाबन्दीका कारण उत्पन्न परिस्थितिबाट उन्मुक्तिका लागि सरकारले विकल्प खोज्न ढिलाइ गरेको टिप्पणी उनले गरे । उनले चीनसँग सम्झौता गर्न ढिलाई गर्न नहुने पनि बताए ।
नाकाबन्दीले नेपाललाई गतिलो पाठ सिकाएको भन्दै वरिष्ठ नेता खनालले अब देश आत्मनिर्भरतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । नेपालले भारत र भारतीय जनतालाई सँधै मित्रताको नजरले हेरेपनि भारतले नाकाबन्दी गरेर अमानवीय र अन्यायपूर्ण काम गरेको आरोप लगाए ।
प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामजी प्रसाद लम्साल र सचिव अर्जुन गिरीले पनि बोलेका थिए ।







Post a Comment

 
Top