0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८७ करोड भन्दा बढी बजेट प्रस्ताव गरेको छ । आगामी आर्थिक बर्ष २०७३÷७४ को लागि कुल अनुमानित ८७ करोड २० लाख ५५ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको हो । मंगलवार आयोजित २०औं नगरपरिषद् मार्फत कार्यकारी अधिकृत झलकराम अधिकारीले आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रस्तुत बजेट चालु आर्थिक बर्षको तुलनामा १७ प्रतिशतले बढी हो । पूर्वाधार तथा संरचना विकासतर्फ झण्डै आधा बजेट विनियोजन गरिएको छ । जसका लागि ४२ करोड ८० लाख ४० हजार अर्थात् कुल बजेटको ४९ प्रतिशत छुट्याईएको छ । जनसंख्या तथा सामाजिक विकासतर्फ १७ करोड ३१ लाख ९० हजार अर्थात् कुल बजेटको १९ प्रतिशत , कृषि, वन तथा वातावरणतर्फ ७ करोड ६४ लाख ५ हजार अर्थात् ९ प्रतिशत , भूमि तथा जलस्रोततर्फ २ करोड अर्थात् कुल बजेटको तीन प्रतिशत र प्रशासन तथा संगठनतर्फ १७ करोड ४४ लाख २० हजार अर्थात् जम्मा बजेटको २० विनियोजन गरिएको छ । अधिकारीका अनुसार संघसंस्थातर्फ कुल १ अर्ब २१ करोड १२ लाखको कार्यक्रम पेश भएको छ । नगरपालिकातर्फको कुल बजेटमध्ये आन्तरिक आम्दानी ४० करोड ३५ लाख र बाह्य स्रोततर्फ ४३ करोड ८५ लाख तथा वैदेशिक सहायताबाट ३ करोड ५५ हजार रुपैयाँ आय अनुमान गरिएको छ । आन्तरिक आय तर्फ आगामी बर्ष प्रस्ताव रकम गत आबको तुलनामा १४ प्रतिशतले बढि हो ।
यस्तै पोखरा उप–महानगरपालिकामा पछिल्लो समय थप हुन आएका नयाँ वडाको विकासका लागि विशेष कार्यक्रम तय गरिएको छ । ग्रामीण वडाहरुमा पूर्वाधार निर्माण, सामाजिक परिचालन, महिला सशक्तिकरण एवं वातावरण मैत्री कार्यक्रम संचालन गर्दै नगरवासीको प्रत्याभूति दिन थप ११ वडालाई ग्रामीण क्षेत्र घोषणा गरी विशेष प्याकेजका कार्यक्रमहरु एकीकृत रुपमा संचालन गरिने अधिकारीले बताए ।
नयाँ वडाको हकमा पूर्वाधार विकासको लागि प्रतिवडा एक करोडको दरले ११ करोड रुपैयाँ छुट्याईएको छ । खानेपानी तथा सरसफाईका लागि प्रति वडा ५ लाखको दरले ५५ लाख, महिला शशक्तिकरणका लागि १ लाखको दरले ११ लाख, सामाजिक परिचालन, टोलविकास संस्था, गठंन क्षमता विकास र लक्षित वर्गको कार्यक्रमको लागि ११ लाख, सार्वजनिक जग्गाको लगत एवं संरक्षणको लागि एक मुष्ठ ५ लाख,  सौर्य उर्जा विस्तारको लागि एकमुष्ठ ५० लाख रुपैया विनियोजन गरिएको छ । नयाँ वडालाई विशेष विभिन्न शिर्षकमा १२ करोड २१ लाख रकम विनियोजन गरिएको अधिकारीले जानकारी दिए ।
थप भएका साविकका वडाको सबै केन्द्रमा यसै आगामी आर्थिक बर्ष भित्र मोटर बाटो निर्माण गरिने नगरपालिको लक्ष्य छ । नयाँ वडाका ग्रामिण वस्तिहरुमा २० प्रतिशत जनसहभागिता रहने ब्यवस्था नगरपालिकाले गरेको छ । नयाँ वडाहरुको हकमा ब्यवसाय करमा ५० प्रतिशत छुट दिईने सार्वजनिक नीति कार्यक्रममा उल्लेख छ । त्यस्तै ती वडाहरुमा सम्भाब्य मनोरन्जन एवं पिकनिक स्थलको पहिचान गरि पूर्वाधार निर्माण गर्ने, आगामी आर्थिक बर्ष भित्र करको दायरामा ल्याउने नीति लिईएको छ ।
यस्तै हाम्रो पोखरा राम्रो पोखरा कार्यक्रम अन्तर्गत मापदण्ड विपरितका संरचनालाई हटाउन २५ लाख, पोखरा प्रबेशद्वार विजयपुर, फेदी र छोरेपाटन लगायतका स्थानमा स्वागतद्वारा निमार्णमा २० लाख, भित्रि सडकमा सौर्यवत्ति राख्न र अम्मरसिंहचोक, पृथ्बीचोक, सृजनाचोक, जिरोकिलोमिटर, हल्लनचोक तथा अन्य मुख्य शहरी सडकहरुमा सौर्य सडक वत्तीको व्यावस्थापनको लागि ३ करोड ७९ लाख सौर्य उर्जा कोष खडा गरीने भएको अधिकारीले बताए । एक घर दुई रुख, अपाङ्ग मैत्री संरचना, वालमैत्री, भूकम्प प्रतिरोधात्मक संरचना निमार्ण, मापदण्ड पुरा गरेका घरलाई क, तीन वटा मापदण्ड पुरा गरेकालाई ख बर्गमा वर्गीकरण गरी सम्मानको संस्कार विकास गर्ने, जिल्ला विकास समितिको साझेदारी कार्यक्रमको लागि भने ५० लाख विनियोजना गरीएको छ । 
नेपाल पत्रकार महासंघ कास्कीको सिफारिसमा संचार क्षेत्रलाई १० लाख, जिल्ला खेलकुद विकास समितिको समन्वयमा खेल क्षेत्रमा १५ लाख विनियोजन गरिएको प्रमुख अधिकारीले बताए । परिषदले पोखराको समग्र पर्यटन विकास गुरु योजनाका लागि ९ लाख, २ महिना भित्र प्लाष्टीकको झोला मुक्त शहरको रुपमा घोषणा गरिने, दुई बर्ष भित्रमा नगर भित्रका हरेक घर घरमा धारा बनाउने, फेवाताल संरक्षण, बृक्षरोपण, चौतारा संरक्षण, फोहोर व्यवस्थापन, पोखरीहरुको संरक्षण सहित विभिन्न कार्यक्रम गर्ने भएको छ ।  




Post a Comment

 
Top