0
गोल्डेन न्यूज संवाददाता
सरकारी सेवा वारे गुनासो संकलनको लागि सञ्चालित हेलो सरकार सेवा अव क्षेत्रीय स्तरमा पनि विस्तार भएको छ । सरकारले गुनासो संकलनको लागि पोखरामा पहिलोपटक क्षेत्रीय सेवा सुरु गरेको हो । पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोेखरामा स्थापना गरिएको हेलो सरकार क्षेत्रीय सेवाको आईतवार सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले उद्घाटन गरे । पोखरा–७ नुवार थोक स्थायी वसोवास भएका ठाकुरप्रसाद बरालले हेलो सरकार कक्षमा गरेको उजुरीको सुनुवाईको कार्यान्वयन प्रक्रिया अघि बढाउँदै मुख्य सचिव सुवेदीले कार्यक्रमको शुभारम्भ गरेका हुन् । निवेदक बरालले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सम्बोधन गरी बुलौदी र फिर्केखोलामा जथाभावी रुपमा फोहोर फालेका कारण फेवातालमा प्रदुषण बढेकोले नगरपालिका कार्यालयले तत्काल खोलामा फोहोर फाल्ने काम नियन्त्रण र अहिले भएको फोहोरको उचित व्यवस्थापनका लागि माग गरेका थिए । जनगुनासो संकलन गर्दै सरकारी सेवा प्रभावकारी बनाउने लक्ष्य सहित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरवारमा मात्रै यो सेसा सञ्चालनमा थियो । केन्द्रमा मात्रै गुनासोको चाप बढेपछि सरकारले क्षेत्रीय स्तरको अवधारणा अघि सारेको हो । हेलो सरकार कक्षका शाखा अधिकृत प्रभाकर घिमिरेले कक्षमा आएका गुनासोलाई सुनुवाई एवम् कार्यान्वयनका लागि तत्काल सम्बन्धित निकायमा पठाउने व्यवस्था गरिएको जानकारी दिए । गुनासो संकलनको लागि क्षेत्रीय प्रशासन कार्यालयमा रहेको टोल फ्रि नम्बर ११११, फ्याक्स ११०० र टेलिफोन नं ०६१ – ४६४८४१ को व्यवस्था गरिएको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ ।

Post a Comment

 
Top