0
राजाराम पौडेल
कास्की जिल्ला अदालतमा निःशुल्क निवेदनको प्रयोग बढ्दै गएको छ । गत मंसिर महिनाबाट सुरु गरिएको यो सेवा प्रदान गर्नका लागि अदालतमा न्यायमा पहुँच कक्षको स्थापना गरिएको छ । अदालतमा पुग्ने सेवाग्राहीले यो सुविधाको बारेमा बुझ्दै गएकोले शुरुवातका दिनको तुलनामा यो सुविधा लिने सेवाग्राहीको संख्यामा वृद्धि हुदै गएको कास्की जिल्ला अदालतका स्रेस्तेदार दीनबन्धु बरालले बताए । ‘मंसिर महिनाबाट सुरु गरिएको यो सेवाको प्रभाव बढ्दै भएको छ’–बराल बताउँछन् ।  यो सुविधाको बारेमा सेवाग्राहीलाई जानकारी होस् भन्ने उद्देश्यले अदालतको सूचना पार्टीमा समेत यो सुविधाको बारेमा सूचना मार्फत जानकारी गराइएको छ । यो सेवा लिने क्रममा कुनै झन्झट भएमा से्रस्तेदार वा न्यायाधीश समक्ष सिधै गुनासो गर्न सकिने श्रेस्तेदार बरालले बताए । अदालतमा मुद्धा मामिलाको लागि पुग्ने सेवाग्राहीलाई अदालतबाट प्रदान गरिने न्यायिक परामर्श सेवा उपलब्ध गराउँदा समेत यो सेवाको बारेमा जानकारी दिने गरेको उनको भनाइ छ ।
यो सेवाको प्रभावकारिताको लागि न्यायमा पहुँच कक्षको व्यवस्था गरिएको छ । यो कक्षबाट अदालतमा मुद्धा दर्ता हुदाँको चरणबाट फैसला कार्यान्वयन सम्मका चरणहरुमा सेवाग्राहिहरुको लागि आवश्यक पर्ने निवेदन उपलब्ध गराइएको बरालले जनाए । ‘निवेदनहरु निःशुल्क रुपमा सेवाग्राहीलाइ उपलब्ध गराउने र भर्न नसक्ने वा नजान्नहरुको लागि अदालतका कर्मचारी र वैतनिक वकिलबाट भर्ने व्यवस्था मिलाइएको छ ।’ उनले भने । विशेषगरि नक्कल पाउँ, गूज्रेको म्याद थामि पाउँ, साक्षी हाजिर गराइ पाउँ, सक्कल लिखत दाखिला गरेको लगायतका निवेदन सेवाग्राहिले खोज्ने गरेको उनले जनाए । यसैगरि कास्की जिल्ला अदालतले यसअघि नै सुरु गरेको सेवाग्राहिका लागि झन्झटमुक्त सेवालाई निरन्तरता दिएको छ । अदालतले नक्कल दिने, पेसी÷तारेख तोक्ने, गुज्रेको तारेख थाम्ने थमाउने, वारेसनामा सकारनामा सम्बन्धी कार्य, मिलापत्र, पुनरावेदन फिर्ता, तामेली लगायतको निवेदन दर्ता गर्ने, लिखित जवाफ वा अन्य प्रमाण कागजात पेश गर्ने, जुनसुकै फुटकर निवेदन दर्ता वा दरपिठ गर्ने,मुद्दाको कारवाही सम्बन्धि जानकारी सूचना लिनेदिने लगायतका काम एक घण्टा भित्र उपलब्ध गराउने व्यवस्था मिलाएको छ । छिटोछरितो झन्झटमुक्त सेवाले सेवाग्राहीलाइ सहजता महसूस गराएको स्रेस्तेदार  बरालले बताए ।

Post a Comment

 
Top