0
गोल्डेन न्यूज संवाददाता
कल्याण शेरचन स्मृति प्रतिष्ठान पोखराले चौथो वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता सम्पन्न गरेको छ। प्रतिष्ठानको आयोजना र फूम्रोखुँ बराह माध्यमिक विद्यालय घान्द्रकुको व्यवस्थापनमा सम्पन्न कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोरणबहादुर क्षत्रीले गरेका थिए। प्रमुख अतिथि क्षत्रीले विद्यालयमा यस्ता प्रतियोगिताहरु सञ्चालन हुँदा विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन सहयोग पुग्ने बताए। साथै उनले प्रतिष्ठानले टाढाबाट माया गरेर आफ्नै विद्यालयमा प्रतियोगिता सञ्चालन गरेकोमा आभारसमेत व्यक्त गरे।

२३ जना छात्रछात्राहरुले सहभागिता जनाएको प्रतियोगितामा कक्षा १० की सदिक्षा गिरी प्रथम, कक्षा आठकी मनिषा क्षेत्री र कक्षा १० की विपना नेपाली द्वितीय, कक्षा १० की मनिषा विक तृतीय र कक्षा १० कै सविता रानाले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए। विद्यालयका प्रधानाध्यापक दिपक क्षेत्रीले प्रतिष्ठानका पदाधिकारीहरु दिन रात नभनिकन विद्यालयमा आएर यहाँको भौतिक संरचनाका बारेमा जानकारी लिनुका साथै प्रतिष्ठानले विद्यालयलाई लगाएको गुन कहिल्यै नबिर्सने बताए। प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यक्रम संयोजक ज्ञानबहादुर थापाले फूम्रोखुँ बराह मावि घान्द्रुकका विद्यार्थीहरुमा शिक्षाको महत्व बुझाउनुका साथै कल्याण शेरचनका तीन विधा, कला साहित्य र संस्कृतिमध्ये यो वर्ष साहित्य विधा अन्तरगत कविता प्रतियोगिता राखिएको बताए।

निणायक संयोजक असफल गौतमले मापनका केही नियमका बारेमा जानकारी गराउँदै विजयी विद्यार्थीहरुलाई यही माघ २४ गते मूल विशेष समारोहबीच पुरस्कार वितरण गरिने बताए। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच सय नगदसहित प्रमाणपत्र वितरण गरिने भएको छ। अध्यक्षको आसनबाट बोल्दै प्रतिष्ठानका कोषाध्यक्ष प्रदिप गौचनले प्रतिष्ठानको वार्षिक कार्ययोजनालाई सहज बनाउन विद्यालयले खेलेको भूमिकाप्रति कृतज्ञता ज्ञापन गरे।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक जीवनाथ भट्टराई, शिक्षक प्रभात लामिछाने, शिक्षिका कमला सुवेदी, नुमा विक विद्यार्थीहरु मनिषा विक, विपना नेपाली, विवेक परियार, रोशन गुरुङलगायतले विभिन्न साङ्गीतिक प्रस्तुती राखेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक भिमप्रसाद सुवेदीले गरेका थिए।






Post a Comment

 
Top