0
नेपाल सरकारले खाडीका छ मुलुक र मलेसियामा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था लागू गरेको लामो समय बितिसक्दा पनि पुर्ण रुपमा कार्यान्वयन भने हुन सकेको छैन । रोजगारीका लागि खाडी मुलुक जाने कामदारमध्ये आधाभन्दा बढीसँग म्यानपावर कम्पनीले तोकिएभन्दा बढी रकम अशुल्ने गरेको गुनासो छ । सरकारले गत असार २१ गतेदेखि निःशुल्क प्रवेशाज्ञा र टिकटको निर्णय कार्यान्वयन गर्दै विदेशी रोजगारदाताले रकम नदिएको अवस्थामा मात्रै म्यानपावरले प्रवद्र्धनात्मक खर्चबापत १० हजार लिन पाउने व्यवस्था गरेको थियो । एसिया मानवअधिकार तथा साँस्कृतिक मञ्चले नमुनाको रुपमा एक दिन गरेको सर्वेक्षण अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर विदेसिनेमध्ये ७२ कामदार र उनका परिवारसँगको कुराकानीका आधारमा गरिएको सर्वेक्षणमा ३७ जनाले १० हजारभन्दा बढी रकम तिरेको देखिएको छ । उनीहरुले ५० हजारदेखि एक लाख ५० हजारसम्म तिरेको पाइनुले फ्रि भिसा र टिकट पूर्ण रुपमा कार्यान्वयनमा आएको छैन भन्ने पुष्टि गर्छ । विदेसिन लागेका व्यक्तिहरुले रकम तिरेको बताए विमानस्थलबाटै फर्किनु पर्ने डरले विमानस्थलमा भने आफूहरु निःशुल्क रुपमा जान लागेको बताउँदै आएको तथ्यांकमा उल्लेख छ । विशेषतः खाडी देशहरुमा सामान्य ज्याला मजदुरी गर्ने जाने हुँदा उनीहरुलाई फ्रि भिसा र टिकटको बारेमा जानकारी हुँदैन । र, म्यानपावर कम्पनीहरुले पनि यस्तै मुर्गाहरु खोज्ने गर्छन् । वैदेशिक रोजगारका विषयमा सामान्य जानकारी समेत नहुँदा म्यानपावर व्यवसायीहरुले सर्वसाधारणलाई राम्रो कामको प्रलोभन देखाएर कडा परिश्रम गर्नुपर्ने ठाउँमा पठाएका हुन्छ । जबसम्म सर्वसाधारणमा सरकारले लागु गरेको फ्रि भिसा र फ्रि टिकटबारे जानकारी हुँदैन तबसम्म यो कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन हुन सक्दैन । वैदेशिक रोजगार विभाग भन्दा वैदेशिक रोजगार व्यवसायी चनाखो हुँदा वैदेशिक रोजगराीमा जानेहरु संगबाट आवश्यक भन्दा पनि बढी रकम असुलीदै आईएको छ । निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन गर्न विभागले प्रतिबद्ध रहेको जनाएपनि त्यसको व्यवहारिक पाटोको विषयमा अध्ययन हुन सकेको छैन । वैदेशिक रोजगार व्यवसायी संग घोडा टेकेकै कारण फ्रि भिसा र टिकट कार्यक्रम लागु हुन नसकेको हो । म्यानपावर व्यवसायीले प्रवेशाज्ञा निःशुल्क गर्न व्यवसायी तयार भए पनि निःशुल्क टिकटको सम्बन्धमा पुनरवलोकन हुनुपर्ने माग राख्नुले सरकार व्यवसायी संग झुकेको भान हुन्छ । सरकारले प्रभावकारी कदम चाल्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम विगतभन्दा केही घटेपनि अझै त्यसमा सुधार आउन भने सकेको छैन । सबथोक पुग्ने भए कोही विदेशिनु पर्दैन । देशमा रोजगारको अभावले विदेशिनु पर्ने बाध्यताकै सर्वसाधारण खाडी पुग्न विवश छन् । ऋणधन गरेर विदेशिने सर्वसाधारण नागरिकलाई दलालको ठगीबाट जोगाउन र सस्तो लगानीमा विदेश जाने वातावरण सिर्जना गर्न निःशुल्क भिसा र टिकट कार्यक्रमलाई पूर्ण रुपमा लागू गर्नुपर्छ ।












Post a Comment

 
Top