0
गोल्डेन न्यूज संवाददाता
गोरखा भूतपूर्व सैनिक संघ 
(गेसो) को सक्रियतामा स्याङ्जा जिल्लाको फेदीखोला गाविस वडा नं ८ साल्मी डाँडामा, विश्वयुद्धमा ज्यान गुमाएका ६० हजार नेपालीको स्मृतिमा गोरखा स्मारक बन्ने भएको छ । विश्व शान्तिका लागि नेपालीले विभिन्न युद्धमा सहादत प्राप्त गरेपनि उनीहरूको योगदानको कदर हुन नसकेको भन्दै गेसोले योगदानलाई जीवन्त राख्ने महत्वपूर्ण स्थलका रुपमा स्मारक निर्माण गर्न लागेको हो । पर्यटकीयरुपले अत्यन्त दर्शनीय साल्मीडाँडामा करिब ३०० रोपनी क्षेत्रफल जग्गालाई समेटेर स्मारकसहित जातीय सङ्ग्रहालय, सुविधायुक्त रिसोर्ट, हरित बगैँचा आदि निर्माणको योजना अघि सारिएको गेसोका अध्यक्ष पदमबहादुर गुरुङले बताए ।

विश्वमा शान्तिका लागि ६० हजार गोरखा सैनिकले ज्यान गुमाएका छन’–उनले भने– ‘जोस जाँगर भएका १४ देखि ४० वर्षसम्मका युवालाई विश्वयुद्धमा होमिए पनि नेपालले केही पाउँन सकेन, तिनै नेपालीको स्वाभिमान र अस्तित्वको खोजीका लागि स्मारकलाई एउटा महत्वपूर्ण स्थलका रुपमा विकास गर्ने सोंचमा छौँ ।

युद्धमा ज्यान गुमाएका नेपालीका सम्बन्धमा उनीहरुले कहाँ कसरी र किन ज्यान गुमाउनुपरेको ब्रिटिस सरकारले जानकारी नदिएको र उनीहरूको आफ्नो धार्मिक संस्कारअनुसार काजकिरियासमेत हुन नसकेको बताउँदै उनले विदेशी भूमिमा तड्पिएको आत्मालाई मुक्ति दिन गेसोले साल्मी डाँडामै २०६९ मङ्सिर ५ गतेदेखि तीन दिन १९ जातजातिका धर्मगुरु र कन्या राखेर आआफ्नो संस्कारअनुरुप सामूहिक काजकिरियासमेत गराइसकेको बताए । विभिन्न अध्ययन तथा अनुसन्धानका क्रममा नेपालका विभिन्न १९ जातजातिका युवाले विश्वयुद्धमा ज्यान गुमाएका थिए ।

गोरखा स्मारक निर्माणसँगै विश्वयुद्धमा ज्यान गुमाएका १९ वटै जातजातिको सांस्कृतिक सङ्ग्रहालय बनाउने लक्ष्य राखिएको गेसोका गण्डकी–धवलागिरि समितिका अध्यक्ष हर्कबहादुर पुनले बताए । संग्रहालयमा १९ वटै जातजातिका संस्कृतिलाई राखिनेछ’–उनले भने– ‘प्राकृतिक दृश्यावलोकनका लागि अत्यन्त उपयोगी स्थलका रुपमा रहेको यस स्थलमा निर्माण गरिने हरित बगैँचा, सुविधासम्पन्न रिसोर्ट आदिले यहाँको पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान दिनेछन् ।’ साल्मी डाँडाबाट पर्यटकलाई लोभ्याउने माछापुच्छे, धवलागिरि, अन्नपूर्ण हिमशृङ्खलालाई एकसाथ हेर्न सकिन्छ भने यहाँबाट कास्की, स्याङ्जा, पर्वतलगायतका जिल्लाका साथै पुम्दीकोट, उल्लरी गाउँ, टोर्के, आरुखर्क, फेदीखोला, नुवाकोट, आले देउराली, चारघरे, मट्टीखान लगायतका दर्शनीयस्थल एकसाथ अवलोकन गर्न सकिन्छ । स्मारक सहितका पूर्वाधार निर्माण र यहाँको समग्र पर्यटकीय विकासका लागि लगभग रु १० करोडको लागतको योजना अघि सारिएको बताउँदै गेसोका अध्यक्ष गुरुङले निर्माणाधीन स्मारक निर्माणका लागि हालसम्म आठ करोड ५० लाख रुपैयाँ सङ्कलन भइसकेको जानकारी दिए । ‘पर्यटकीय विकासलाई लक्षित गरी साल्मी डाँडाबाट कास्कीको भरतपोखरीसम्म जोड्ने पाँच डिब्बाको रेलमार्ग निर्माणको योजना समेत राखिएको छ’–उनले भने । रेलमार्ग निर्माणको योजना अघि बढाउनसके माछापुच्छेसहितका हिमशृङ्खला एकसाथ अवलोकन गर्दै कास्कीको पोखराको फेवातालसहित लेखनाथका सात ताल आदिको उच्च पहाडी भूभागबाट हेर्दै रेलको यात्रा गर्न सकिन्छ । यो योजना अघि बढाउनसके पर्यटकीयस्थल मट्टीखान, साम्मी, निर्मलपोखरी, बर, पाण्डेथुम हुँदै हुडिकोटसम्मको यात्रा र भरतपोखरीस्थित धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य कोटभैरव मन्दिरसम्म पर्यटकलाई पु¥याउन सकिने स्थानीयवासीहरू बताउँछन् । साल्मी डाँडामा गोरखा स्मारक निर्माण गरी विश्वयुद्धमा ज्यान गुमाउने नेपालीको स्मृति एवम् सम्मान गर्न र यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदानका लागि गेसोले सुरु गरेको अभियानमा सबैको सकारात्मक सहयोग आवश्यक हुने नेपाल आदिवासी जनजाति पत्रकार संघ कास्कीका अध्यक्ष हुम गुरुङले बताए । संघले सोमबार स्मारक निर्माणका लागि एकदिने श्रमदान गरेको छ ।











Post a Comment

 
Top