0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसको आसन्न महाधिवेशको सरगर्मीले अन्ततः पार्टीका सभापति सुशिल कोइरालालाई पनि छोएको छ । सभापतिमा दोहो¥याएर उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा करिब मौन बसेका सभापति कोइरालाले सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा मुख खोले । उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले खुलेर उम्मेदवारी घोषणा गरिरहेका बेला सुशीलले आफू पुनःउम्मेदवार बन्ने संकेत गर्दै त्यसका तीन आधार प्रस्तुत गरे । ‘मेरो नेतृत्वमा यत्रो संविधान आयो त्यो उपलब्धि होइन ?’ कांग्रेस नेता लेखनाथ न्यौपानेको संस्मरण पुस्तक ‘कांग्रेस र म’ सार्वजनिक गर्दै कोइरालाले भने,–‘यसले पार्टीको उचाई बढाएको छ ।’ 
आफ्नै निरन्तरको अडानले संविधान आएको भन्दै कोइरालाले आफ्नो स्वास्थ्यलाई लिएर हल्ला चलाइएको पनि बताए । उनले कांग्रेसले संसद्मा पेश गरेको संविधान संशोधन विधेयकमा सहमति बन्न लागेकोतर्फ लक्ष्यित गर्दै यसलाई आफ्नो पहिलो आधारका रुपमा प्रस्तुत गरे । ‘म बुढो भयो भनेर भनेको सुनेको छु, के बुढोले काम गर्न सक्दैन ?’ भन्दै उनले भने, ‘बूढो हुँदैमा पार्टी र देशको लागि काम गर्न सक्दैन भन्नु गलत हो ।’ तेस्रो आधारका रुपमा उनले आफ्नो स्वास्थ्यलाई पेश गरे । ‘म पूर्ण रुपले स्वस्थ छु,’ उनले भने, ‘मेरो बारेमा धेरै हल्ला चलाइयो । कतिले त सुशिल अब गयो पनि भने ।’ उनले दोहो¥याउँदै प्रष्टीकरण दिँदा उपस्थ्ति माझ हाँसो समेत चलेको थियो । उनले थपे,–‘हो मलाई क्यान्सर भएको थियो । तर, म ठीक भएको छु । अब मलाई समस्या छैन ।’
मोर्चासँगको वार्ताका लागि कार्यक्रमबाट चाँडै विदा हुने भनिए पनि उनले बोल्दा बोल्दै झण्डै एक घण्टा समय लिएका थिए । आफ्नाबारे प्रष्ट पार्न उनले रमाइलो ढंगले तर्क राखेका थिए । ‘तपाईहरु मेरो बोलि सुनिरहनुभएको छ । मेरो तोते बोली छ । के म केटाकेटी भएर तोते बोलेको हो ?’ मुस्कुराउँदै उनले भने– ‘जिब्रोको उपचार गर्दा यस्तो बोली भएको हो । छातिमा क्यान्सर पनि छ । तर, दुवै निको भएको छ । अब मलाई केही हुन्न ।’ उनले रोगबाट प्रेरणा लिएर देश र जनताको लागि काम गर्ने प्रणसमेत गरे । ‘मेरो रोगको बारेमा चिन्ता नगर्नुस् । फेरि रोग लागे औषधिमूलो गरुँला । तर म भन्दा देश सिकिस्त छ । हामीले देशको चिन्ता गर्नुपर्छ,’ कोइरालाले भने ।
कांग्रेसकै युवा नेताहरुले पुराना पुस्ताले नेतृत्व छाड्नुपर्ने भनेकोमा पनि फरक मत राखे । ‘बूढो हुँदैमा असक्षम हुने होइन । झन् ओल्ड इज गोल्ड भन्छन् नी,’ कोइरालाले त्यसोभन्दा कार्यक्रममा हाँसोको फोहोरा छुटेको थियो । यद्यपि उनले प्रत्यक्ष रुपमा महाधिवेशन र उम्मेदवारीको कुरा भने गरेनन् ।








Post a Comment

 
Top