0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ५१औं वार्षिकोत्सव कार्यक्रम देशैभरका शाखाहरुमा विविध कार्यक्रमका साथ मनाइएको छ । बैङ्कको क्षेत्रीय कार्यालय पोखरा, पोखराका अमरसिंहचोक, पृथ्वीचोक, महेन्द्रपुल र पार्दी तथा लेखनाथको तालचोक कार्यालयले पोखरा वृद्धाश्रममा नगद हस्तान्तरणको साथै चियापान गरी संयुक्त रुपमा मनाएका छन् । कार्यक्रमका वीच राष्ट्रिय बाणिज्य बैङ्क लिमिटेडका पश्चिमाञ्चल क्षेत्रीय प्रबन्धक गणेशकुमार ढकालले पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै प्रबन्धक ढकालले आगामी दिनमा सामाजिक दायित्व अन्तर्गत यस्तै कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।  बैङ्कका उपप्रमुख राजकुमार खड्काले बैङ्कको बार्षिकोत्सव मनाउने सन्दर्भमा खाजा खर्च बापत प्राप्त रकमलाई सामाजिक कार्यमा लगाउन पाउँदा खुशी लागेको बताए । 
पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले वाणिज्य बैंकका तर्फबाट पहिलोपटक सहयोग प्राप्त भएको भन्दै यसले अन्य बैंकहरुलाई पनि सहयोगका लागि प्रेरित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका क्षेत्रीय उपप्रमुख राजेन्द्रकुमार कट्टेल, कर्जा इन्चार्ज रुद्रनाथ पोखरेलले पनि बोलेका थिए । राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रमुख तथा अन्य कर्मचारीको साथमा पोखरा वृद्धाश्रमका ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो ।
यसैगरी त्यस्तै सरल नमुना बचत तथा ऋण सहकारी संस्थाको आफ्नो आठौं बर्ष प्रवेशको अवसरमा पारी पोखरा वृद्धाश्रममा फलफूल वितरण गरिएको थियो । संस्थाका अध्यक्ष दीपक बाँस्तोलाको नेतृत्वमा गएको टोलीले वृद्धाश्रममा रहको ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरी आफ्नो बार्षिकोत्सव मनाएको हो । आइतबार नै नेपाल आयल निगम पोखरा एअरपोर्ट शाखामा कार्यरत मनोहर डिसी र उनकी श्रीमती प्रतिष्ठा जिसीले विवाहको १०औं वर्षगाँठका अवसरमा नगद १२ हजार रुपैयाँ सहयोग गरेका छन् । पोखरा वृद्धाश्रममा असहाय र वेवारिसे अवस्थाका ज्येष्ठ नागरिक तथा सेवकसेविका गरी ६५ जना आश्रित रहेका छन् ।

Post a Comment

 
Top