0
२३ वर्षपछि अन्तर्राष्ट्रिय फूटबलमा उपाधि जितेर घर फर्कियो । विजेता नेपाली टोलीलाई स्वागत गर्न अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको शुभेच्छुकहरूको भीड कम उत्साहपूर्ण थिएन । नेपालले गत शुक्रवार ढाकामा बहराइन यु–२३ लाई फाइनलमा एकतर्फी ३–० गोल अन्तरले हराउँदै ऐतिहासिक सफलता हात पारेपछि यो उत्साह देख्न पाइएको हो । यसबाट देखिन्थ्यो कि नेपाल गुमाउने मात्र होइन, जित्ने वा पाउने क्षेत्र पनि धेरै छन् । २०७२ साल प्राकृतिक र मानवीयरुपमा भूकम्पका कारण त्रासको वर्ष बन्यो । राजनीतिकरुपमा संविधान निर्माण हुनु ऐतिहासिक अवसर भए पनि भारतीय नाकाबन्दीका कारण कष्टप्रद वर्ष बन्यो । खेल क्षेत्रमा पनि ठूलो धक्का लागेको वर्ष २०७२ नै हो । म्याच फिक्सिङको डरलाग्दो घटना सार्वजनिक भएसंगै नेपालको खेल क्षेत्र अझै पछाडि धकेलिने आशंकामा नेपाली खेलप्रेमी निकै चिन्तित पनि भएका थिए तर २३ वर्षपछि नेपालले पाएको यो जीतसागै खेल क्षेत्रमा ठूलो उमंग छाएको छ । नेपाली राष्ट्रिय फूटबल टिम–२३ वर्ष लामो उपाधिको खडेरी तोड्दै यसपटक बंगबन्धु गोल्डकप च्याम्पियन भएको छ । सन् १९८४ (काठमाडौं) र १९९३ (ढाका) को दक्षिण एशियाली महासंघीय खेलकूद साफ गेममा स्वर्णपदक जितेयता नेपालले पहिलोपल्ट उपाधि हात पारेको हो । नेपालले काठमाडौंमा १९९९ मा भएको आठौं साफ गेम्सको फाइनल पनि खेलेको थियो तर त्यसमा नेपाललाई बंगलादेशले १–० ले हराएको थियो । त्यसपछि नेपाली टीम फाइनलमा कहिल्यै पुगेन । यसपटक नेपाल फाइनलमा मात्र पुगेन, उपाधि पनि हात पारेको छ । नेपालमा धेरै प्रयास भएपनि फूटबल क्षेत्र माथि उठ्न सकेको थिएन । क्रिकेटमा विश्वकप खेल्ने हैसियतमा नेपाल पुगेपनि फूटबलमा केही समस्या देखिएको थियो । नेपालले लगातार हार बेहोर्न थालेपछि यसको कारण पनि खोजी गर्न शुरु गरिएको थियो । अन्ततः महत्वपूर्ण खेलहरुमा प्रतिष्पर्धी टीमलाई जिताउने शर्तमा खेलाडीहरुले ठूलो परिमाणमा रकम लिएर म्याच फिक्सिङ गरेको खुलासा भयो । नेपाल प्रहरीले लामो समयदेखि गरेको अध्ययनपश्चात यो खुलासा भयो र त्यस्तो राष्ट्रघातमा संलग्नहरु पक्राउ पर्नुका साथै खेलबाट बर्खास्त गरिए । नेपाली फूटबल क्षेत्रको सुधारका लागि यो ऐतिहासिक कदम थियो भन्ने कुरा अहिलेको जीतले थप प्रमाणित गरेको छ । नेपालमा खेलाडी नभएर वा नेपालले खेल क्षेत्रमा लगानी नगरेर भन्दा पनि हरेक क्षेत्रमा देखिने दलाली र राष्ट्रघात खेल क्षेत्रमा पनि भित्रिएकाले नेपालले निरन्तर हार बेहोर्नु परिरहेको रहेछ भन्ने अहिले आएर पुष्टि भएको छ । एकातिर खेलाडीहरुमा यस्तो प्रवृत्ति झांगिदै गएको र अर्कोतिर समग्र फूटबल क्षेत्रको नेतृत्व गर्ने अखिल नेपाल फूटबल संघको नेतृत्व पनि भ्रष्टाचारको दलदलमा फसेपछि सुधारको सम्भावना कमै थियो । लगातार २१ वर्ष एन्फा अध्यक्ष रहेका गणेश थापामाथि घूस लिएको आरोपमा अन्तर्राष्ट्रिय फूटबल महासंघले नै गत कार्तिक महिनामा १० वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेपछि यसलाई पनि खेल विश्लेषकहरुले फूटबल क्षेत्र सुधारमा ऐतिहासिक कदमको रुपमा लिएका थिए । म्याच फिक्सिङको खुलासा र एन्फामा शुरु भएको शुद्धिकरणसंगै नेपाली फूटबल टोलीले महत्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि हात पार्नु राम्रो संकेत हो । अब खेल क्षेत्रमा राज्यको उचित लगानी रेखदेखसंगै यसको शुद्धिकरण र सुदृढीकरणलाई पनि संगसंगै अगाडि बढाएर यसखाले उपाधिलाई निरन्तरता दिन सिंगो देशको ध्यान जानु जरुरी छ ।


Post a Comment

 
Top