0
गोल्डेन न्यूज संवाददाता
नेपाल लिटरेचर फेस्टिभल अर्थात् साहित्यिक महोत्सवको पाँचौं संस्करण पर्यटकीय नगरी पोखरामा हुने भएको छ । माघ १५ देखि १८ गते सम्म नेपाल टुरिजम बोर्डको क्षेत्रीय कार्यालय पार्दीमा महोत्सव आयोजना गर्न लागिएको आईतवार पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो । राजधानी बाहिर पहिलो पटक पोखरामा फेस्टिवल गर्न लागिएको हो । चार दिने फेस्टिवलमा भारतका दुई लेखक तथा नेपालका ६० भन्दा बढी लेखक, कलाकार, गीतकार, राजीनतिज्ञहरुले झण्डै ३० वटा विषयमा छलफल गर्नेछन् ।
फेस्टिवलको चालिस वर्षभन्दा बढी नेपालमा बसेका लेखक तथा बेलायती आर्मीका पुर्व कर्नेल जेपी क्रसले उद्घाटन गर्ने र भुगोलविद् डा पिताम्बर शर्माले प्रमुख मन्तव्य दिने निर्देशन अजित बरालले जानकारी दिए । उद्घाटनसत्र लगत्तै डा. बाबुराम भट्टराई, योगेश भट्टराई र सुधीर शर्माबीच नयाँ शक्तिमाथि बहस हुनेछ भने भारतीय लेखिका इरा त्रिवेदी तथा उदय प्रकाशसँग साहित्यकाबारे संवाद हुने आयोजकले जनाएको छ । फेस्टिवलमा राजेश हमाल र दयाहाङ राई, रेखा थापा, गौरी मल्ल, रवीन्द्र मीश्र, स्वणिर्म वाग्ले, रवीन्द्र अधिकार, लीलामणी पौडेल, शारदा शर्मा, सरुभक्त, तीर्थ श्रेष्ठ, कर्ण दास, विवेक श्रेष्ठ, रवी थापा, प्रणय राना, नारायण वाग्ले, बुद्धिसागर, सुविन भट्टराई, नयनराज पाण्डे, सरस्वती प्रतिक्षा, अनुप बराल, प्रशान्त झा, आहुती, मनु मञ्जिल, श्रवण मकारुङ लगायतका व्यक्तिहरुले विभिन्न साहित्य, कला, संगीतका विषयमा छलफल गर्ने छन् । फेस्टिवल अबधिभर नेपाली हिरो, नेपाल कसरी बनाउने, संविधान र पहिचान, नेतृत्वमा संकट, मिडियामा मधेश, दोस्रो पुस्तकको सकस, इन्डिया इन लभ, सिमान्त स्वरहरु लगायतका विषयमा छलफल हुने बरालले जानकारी दिए । साथै कविता तथा मुक्तक वाचन पनि हुनेछन् । महोत्सबमा पुस्तक विमोचन, प्रदर्शनी र हस्ताक्षर कार्यक्रम पनि समावेश गरिएको छ । सन् २०११ बाट सुरु भएको साहित्यिक महोत्सव काठमाडौंमा हुँदै आएको थियो । प्रत्येक वर्ष हुने यो महोत्सव साहित्यका विविध आयामका साथै राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विषयमा छलफल गर्ने थलोका रुपमा चिनिन्छ । पत्रकार सम्मेलनमा कवि तीर्थ श्रेष्ठले पोखराको साहित्यिक गतिविधिलाई प्रयाप्त मात्रामा यो महोत्सवले प्रोत्साहित गर्ने विश्वास ब्यक्त गरे ।

Post a Comment

 
Top