0
हरि पन्त÷गोल्डेन न्यूज
राष्ट्रिय टोलीका खेलाडी बिनै मैदानमा उत्रिएको मनाङ–मस्र्याङ्दी क्लव पोखरामा जारी १४औं आहारारा गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली इण्डियन आर्मी गोर्खा ब्रिगेट टीमलाई २–० गोलले पराजित गर्दै मनाङ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । खेल जित्न मनाङले लामो संघर्षको साथमा अतिरिक्त समय नै कुर्नुप¥यो । निर्धारित समयभित्र दुवै टोलीले गोलरहित खेलेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको आठौं मिनेटमा अमित तामाङले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । मनाङका ओलावालेलाई गोर्खा ब्रिगेटका प्रशान्त गुरुङले डिएरिया नजिक लडाएपछि रेफ्री सुदेश पाण्डेले मनाङलाई फ्रि किकको अवसर दिएका थिए । उक्त अवसरलाई अमितले सदुपयोग गर्दै सुन्दर गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । ओलावालेलाई लडाएका प्रशान्त भने डवल पहेंलो कार्डको साथमा रातो कार्डको सामना गर्दै  मैदान छोड्नु पुगे । उनले निर्धारित समयमै मनाङका विश्वास श्रेष्ठलाई हातले धकेलेर फल गर्दा पहिलो पहेंलो कार्डको सामना गरे । प्रशान्तलाई दोस्रो पहेंलो कार्ड र रातो कार्ड दिने रेफ्रीको निर्णयमा गोर्खा व्रिगेटका टीम म्यानेजर केपी राइले भने असन्तुष्टि जनाएका थिए । दोस्रो गोल भने ओलावालेले गरेका थिए । उनले डिएरिया नजिकबाट आशिष लामाले दिएको क्रस बललाई सदुपयोग गर्दै आकर्षक गोल गरेका थिए । 
३ पटक आहा गोल्डकपको उपाधि उचालिसकेको मनाङले बुधबार हुने झापा–११ र बङ्गला देशबीचको विजेतासंग फाइनल प्रवेशका लागि खेल्नेछ । मनाङले २०६०, २०६१ र २०६८ मा आहा गोल्डकपको उपाधि उचालेको थियो भने क्याराभान गोल्डकप–२०५८, आहा गोल्डकप–२०६३, २०६७, २०७० र २०७१ मा फाइनलमा पुगेर पराजित भएको थियो । मनाङ आहा गोल्डकपको प्रत्येक प्रतियोगितामा सेमिफाइनलसम्म पुग्ने एकमात्र टीम हो ।
मनाङले आइतबार गोर्खा ब्रिगेट विरुद्ध खेलको निर्धारित समयमा कैयौं गोल गर्ने अवसरबाट चुकेको थियो । खेलको चौथो मिनेटमा डिएरिया नजिकबाट म्यान अप्m दी म्याच घोषित विश्वास श्रेष्ठले हानेको फ्रिकिकलाई टीम क्याप्टेन अनिल गुरुङले सदुपयोग गर्न सकेनन् । उक्त बललाई उनले हेडिङ गोल गर्न खोज्दा गोलपोष्टको केही माथिबाट बाहिरियो । सातौं मिनेटमा ओलावालेले डिएरिया नजिकैबाट हानेको सशक्त प्रहारलाई गोर्खा ब्रिगेटका गोलरक्षक एवं टीम क्याप्टेन मनि थापाले मुस्किलले बचाउन सफल भए । 
यस्तै १८औं मिनेटमा डिबक्सबाट विश्वास श्रेष्ठले पाएको सुन्दर अवसरलाई सदुपयोग गर्न सकेनन् भने २३औं मिनेटमा रभि पासवानले हानेको कडा प्रहारमा समेत गोर्खा ब्रिगेटका गोलरक्षक थापा नै बाधक बने । खेलको ५६औं मिनेटमा ओलावालेले गरेको आकर्षक प्रहार गोलपोष्ट माथिबाट बाहिरियो भने ५७औं मिनेटमा सुजल श्रेष्ठले हानेको उत्कृष्ट फ्रिकिकमा समेत किपर थापाले गोल हुन दिएनन् । 
यता, गोर्खा ब्रिगेट टीमको तर्फबाट पनि गोल गर्ने प्रयास नभएका होइनन् । टीमले पाएका केही राम्रा र आकर्षक अवसरलाई खेलाडीले सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाटै बाहिरिन पुग्यो । अघिल्लो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लवलाई पराजित गरि मनाङसंग भेट गरेको गोर्खा ब्रिगेटले खेलको ११औं मिनेटमा विजय थापाले पाएको सुन्दर अवसरलाई सदुपयोग गर्न सकेनन् । कर्नर एरियाबाट सुशान्त मल्लले दिएको क्रसबललाई थापाले गोलपोष्ट माथिबाट बाहिर फालिदिए भने १२औं मिनेटमै डिएरियाबाट किरण याखाले दिएको बललाई डिबक्स भित्रैबाट प्रहार गर्दा गोलपोष्ट नजिकबाट बाहिरियो । यस्तै ३२औं र ३६औं मिनेटमा मनिष तामाङले डिएरिया नजिकैबाट हानेको सशक्त प्रहारमा मनाङका गोलरक्षक किरण चेम्जोङ बाधक बनिदिंदा गोर्खा ब्रिगेट प्रतियोगिताबाट बाहिरिन पुग्यो । 
खेल समापनपछि प्रतिक्रिया दिंदै मनाङका प्रशिक्षक छिरिङ लोप्साङले आफूहरुको लक्ष्य खेल जित्नुमात्र नभइ उपाधि नै उचाल्नु भएको बताए । उनले एन्फाको राजनीतिले आफूहरुलाई केही समस्या परेको भएपनि उपाधि जित्न सक्दो  प्रयास गर्ने बताए ।   यस्तै गोर्खा व्रिगेटका टीम म्यानेजर केपी राइले आफ्नो खोलाडीको प्रदर्शनप्रति खुशी प्रकट गरे । उनले भाग्यले साथ नदिएपनि खेलाडीले राम्रो खेलेको भन्दै पोखरामा खेल्न पाउनुनै खुशीको कुरा भएको स्पष्ट पारे । प्रतियोगितामा सोमबार डिफेण्डिङ च्याम्पियन थ्रीस्टार क्लव र त्रिभुवन आर्मी बीच खेल हुनेछ ।  थ्रीस्टार बाइ पाइ सिधै क्वाटरफाइनल खेल्ने भएको हो भने आर्मीले  प्रिक्वाटरफाइनलमा जाउलाखेल युथ क्लवलाई पराजित गरेको थियो । 
यसैबीच पूर्व घोषित रहमतगंज एफएम सोसाईटी बंगलादेश प्रतियोगितामा सहभागी नहुने भएको छ । उक्त टोलीको सट्टामा  बंगलादेशकै गजीर्चाट स्र्पोटिङ्ग क्लब आउने आयोजक सहारा क्लवले जनाएकोे छ । गजीर्चाट स्र्पोटिङ्ग क्लबले अन्तिम क्वाटर फाइनलमा झापा–११ को सामना गर्नेछ ।

Post a Comment

 
Top