0
हरि पन्त
सहारा क्लव पोखराले आहारारा गोल्डकप फुटवल प्रतियोगिताको तयारीलाई तीव्र पारेको छ । खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नाराका साथ १४औं आहारारा गोल्डकप यहि माघ ५ गतेदेखि १६ गतेसम्म पोखरामा संचालन हुँदैछ । प्रतियोगिताको तयारी स्वरुप आयोजक सहाराद्वारा आज शनिबार पोखरामा साइकल ¥यालीको आयोजना गरिएको छ । विगतका वर्षमा मोटरसाइकल ¥याली आयोजना गरिएको भएपनि यसपटक साइकल ¥यालीको आयोजना गरिएको क्लवका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवबहादुर थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । भारतले लगाएको अघोषित नाकावन्दीका कारण इन्धन अभाव भएकाले साइकल ¥याली गरिएको उनले बताए । साथै उनले वातावरण जोगाउन र पोखरालाई साइकल सिटी बनाउन थप सहयोग मिल्ने भएकाले पनि यसपटक साइकल ¥यालीको आयोजना गरिएको बताए । साइकल ¥यालीलाई साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीले विशेष सहयोग गर्ने बताइन्छ । साइकल ¥याली पोखरा रङ्गशालाबाट शुरु भइ पृथ्वीचोक, एयरपोर्ट, विरौटाचोक, राष्ट्रबैंक चोक, लेकसाइड, हलनचोक, जिरो किमि, विन्ध्यवासिनी, बगर, नदीपुर, महेन्द्रपुल, रानीपौवा, भद्रकाली, अमरसिंह चोक, रामबजार हुँदै पुनः पोखरा रङ्गशालामै आएर समापन हुने बताइन्छ । 

प्रतियोगिताका लागि खेलमैदान पूर्ण तयारी पारिएको छ भने प्याराफिट रङ्गाउने, बाँसका प्याराफिट थप्ने काम भइरहेको संयोजक थापाले बताए । प्रतियोगिताका लागि गठित सबै उपसमितिहरुले उत्साहपूर्वक काम गरिरहेको र तयारीलाई दू्रत गतिमा अघि बढाइएको उनले जानकारी दिए । उनका अनुसार प्रचार–प्रसार अन्तर्गत ठाउँ–ठाउँमा रोडक्रस व्यानर टाँगिएको छ भने विजुलीका पोलहरुमा पर्चा, पम्प्लेट टाँसिएको छ । यस्तै पोखराबाट चल्ने नगर बसहरुमा समेत तुल टाँगिएको छ । देशको विषम परिस्थितिका कारण प्रतियोगिताको तयारी केही ढिलो भएको संयोजक थापाले बताए । उनले भने–‘देशको अवस्थाले गर्दा प्रतियोगिताको तयारीलाई केही समस्या पारेको छ । यसको बाबजूद पनि हामी सक्रिय भएर लागेका छौं ।’ उनले देशको अवस्थाका कारण आर्थिक संकलनमा पनि केही कठिनाइ भएको बताए । 

यसवर्ष पोखरामा कुनैपनि खेलकूद प्रतियोगिता आयोजना नभएकाले आहारारा गोल्डकप सफलतापूर्वक सम्पन्न हुने संयोजक थापाको दावी छ । उनले भने–‘देशको परिस्थितिले मोफसलमा कुनैपनि ठूला प्रतियोगिता आयोजना भएका छैनन्। समग्र पश्चिमाञ्चल वासीको प्रतिष्ठा पनि जोडिएकाले यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुन्छ ।’ सहारा क्लवद्वारा संचालित सहारा एकेडेमीमा रहेका बालकहरुलाई सहयोग पु¥याउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि सबैले सहयोग गर्ने संयोजक थापाको विश्वास छ । यता, प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी दिन यहि माघ ३ गते पत्रकार सम्मेलनको आयोजना गरिएको प्रतियोगिता तयारी समितिका सदस्य सचिव एवं क्लवका महासचिव केशवराज बरालले जानकारी दिए ।  





Post a Comment

 
Top