0
गोल्डेन न्यूज संवाददाता
रोल्पा–पोखरा सम्पर्क समाज पोखराले पोखरा–१५, तल्लो शिवशक्ति टोलमा निर्माण गर्न लागेको समाज भवनको एमाओवादी नेता कृष्णबहादुर महराले शिलान्यास गरेका छन्। एक करोड २४ लाख ३८ हजार छ सय ४० रुपैयाँ लागतमा निर्माण हुने उक्त भवनका लागि महराले व्यक्तिगत रुपमा ५० हजार रुपैयाँसमेत प्रदान गरे। महरा रोल्पाबाटै निर्वाचित सांसद हुन्। महराले एकतावद्ध हुँदा नै धेरै काम गर्न सकिने उल्लेख गर्दै भवन निर्माण सहयोग जुटाउन आफूले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। 
यसैबीच, समाजको नवौँ साधारणसभा पनि शनिबार सम्पन्न भएको छ। साधारणसभामा सचिव हितकुमार बुढामगरले प्रगति प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रममा उपराष्ट्रपतिका स्वकीय सचिव सुकबहादुर रोकमगर, तमु प्हे ल्हु संघ कास्कीका अध्यक्ष क्या. रुपबहादुर गुरुङ, सल्लाहकारद्वय रेशम बुढामगर र नरसिंह बुढामगर, भूपू अध्यक्ष हरि थापा, पूर्व सचिव डिलबहादुर पुनमगर, उपाध्यक्ष ओमबहादुर पुनमगरलगायतले बोलेका थिए। संस्थाका सल्लाहकार जमानसिंह रोकमगरले संस्थाका सदस्य, पदाधिकारी, रोल्पाका व्यवसायी र शुभचिन्तकबाट रकम सङ्कलन गरी भवन बनाइने बताए।
कार्यक्रम संस्थाका अध्यक्ष प्रसाद बुढामगरको अध्यक्षतामा भएको थियो। समाजको संस्थापक कार्यसमितिलाई सम्मान गरिएको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो।

Post a Comment

 
Top