0
गोल्डेन न्यूज संवाददाता
कास्कीको भदौरेतामागी  गाविसमा एक स्वास्थ्यकर्मीमाथि जातीय विभेद् गर्ने गुरुङ दम्पत्ति धरौटीमा रिहा भएका छन् । सोमबार कास्की जिल्ला अदालतमा भएको थुनछेकको बहस पछि न्यायाधिश नरेश्वर भण्डारीको आदेशमा उनीहरु धरौटी तारेखमा छुटेका हुन् ।      भदौरे प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अनमि अम्बिका सुनारलाई जातीय विभेद गर्ने ठकुरशोभा गुरुङ र उनका श्रीमान् चन्द्रबहादुर गुरुङले जनही २५–२५ हजार धरौटी बुझाए । गुरुङ दम्पत्तिले गत पुस २८ गते एक भोजमा जुठो भाँडा नमाझेको भन्दै अम्बिकालाई दुव्र्यवहार गरेका थिए । घटना लगत्तै अम्बिकाको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले गुरुङ दम्पत्तिलाई माघ १ गते पक्राउ गरि थुनामा राखेको थियो ।
सरकारवादी मुद्दा हुने जातीय विभेद्को घटनामा पीडितका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्त स्वतन्त्र न्यौपाने र पीडकका तर्फबाट अधिवक्ताद्वय दुर्गेश पन्त र माधवी पाण्डेले बहस गरेका थिए । पीडित अम्बिका सुनारले अदालतले यति छिट्टै धरौटीमा रिहा गरेकोमा असन्तुष्टि प्रकट गरिन् । ‘थुनामै राखेर कार्वाहीको प्रक्रिया अगाडि बढाएको भए मात्रै मैले अलिकति न्याय पाएको महसुस गर्ने थिए’, उनले भनिन् । अम्बिकाले पुनः भदौरेतामागीमा काम गर्न असुरक्षित महसुस गरेकोले जिल्ला जनस्वास्थ्य कार्यालयमा सरुवाको प्रक्रिया अगाडि बढाएको बताइन् । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजायँ) ऐन २०६८ दफा ७ को उपदफा १(क) मा जातीय विभेद् गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजायँ हुने उल्लेख छ ।
त्यस्तै दफा ७ को उपदफा २ बमोजिम सार्वजनिक पदधारण गरेको व्यक्तिले कसुर गरेमा निजलाई ५० प्रतिशत थप सजायँ हुने उल्लेख छ । पीडकले २५ हजार देखि १ लाख रुपैयाँसम्म क्षतिपुर्ति पीडितलाई उपलब्ध गराउनुपर्ने ऐनमा व्यवस्था छ ।



Post a Comment

 
Top