0
गोल्डेन न्यूज संवाददाता
मनाङ–मस्र्याङ्दी फुटबल क्लबका प्रशिक्षक छिरिङ लोप्साङले आफ्नो क्लबलाई एन्फाबाट धम्की आएको दाबी गरेका छन् । आहा गोल्डकपमा क्लबमा राष्ट्रिय टोलीका खेलाडीलाई समावेश गर्न चाहँदा एन्फाले उक्त धम्की दिएको प्रशिक्षक लोप्साङले बताए । आशन्न दक्षिण एशियाली खेलकुद प्रतियोगिताको तयारीका लागि राष्ट्रिय टोलीमा रहेका खेलाडीहरुलाई मनाङले आहा–रारा गोल्डकप खेलाउन चाहेको थियो । तर अखिल नेपाल फुटबल संघ राष्ट्रिय टोलीका खेलाडीलाई प्रतियोगिता खेल्न दिन सहमत नभएपछि प्रशिक्षक छिरिङ लोप्साङ रुष्ट देखिए । 
यसअघि शनिबार मात्रै बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेर नेपाली टोलीका खेलाडी स्वदेश फर्किएका थिए । बंगबन्धु गोल्डकप जित्ने टोलीमा मनाङका ७ प्रमुख खेलाडी छन् । विजेता टोलीका बिराज महर्जन, विशाल राई, विक्रम लामा, हेमन गुरुङ, विमल घर्ती मगर, अनन्त तामाङ र अन्जन विष्ट मनाङबाट घरेलु फुटबल खेल्छन् । एन्फाले दक्षिण एशियाली खेलकुद प्रतियोगिताका लागि यी खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्न चाहेको छ । तर मनाङले खेलाडीलाई आहा–रारा गोल्डकप खेलाउन खोज्दा क्लब र एन्फाबीच विवाद निम्तिएको हो । 
विवादपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले एन्फाबाट धम्की आएको दाबी गर्दै भने–‘एन्फाले पोखरामा खेल्नेले ७ लाख पुरस्कार समेत पाउँदैनन् भनेर राष्ट्रिय खेलाडीलाई धम्क्याएको छ ।’ प्रशिक्षक लोप्साङले मनाङ–मस्र्याङ्दीले कुनै पनि राष्ट्रिय प्रतियोगिता नखेल्ने चेतावनी समेत दिए । उनले भने–‘हामीले पनि एन्फाले आयोजना गरेको मोफसल होस् या राष्ट्रिय कुनैपनि प्रतियोगितामा भाग नलिने विषयमा क्लबमा छलफल गर्दैछांै । त्यो अवश्य हुन्छ । हामी एन्फाका सबै खेल बहिष्कार गर्न तयार छौँ र गछौँ पनि ।’ मोफसलमा हुने अन्य प्रतियोगितामा भने सहभागी हुने उनले स्पष्ट पारे । उनले राष्ट्रिय खेलकूद परिषद् (राखेप) भन्दा अखिल नेपाल फुटवल संघ (एन्फा) शक्तिशाली भएको आरोप लगाए । उनले भने–‘आफ्ना सात खेलाडीलाई पोखरामा ल्याउनका लागिराखेपका सदस्य सचिव केशव कुमार विष्टलेले एन्फालाई पत्र नै काटेर निर्देशन दिंदा पनि एन्फाले अटेर ग¥यो, खेलाडी ल्याउन दिएन ।’ उनले एन्फामा यसअघि पनि यस्तै राजनीति भएको र अब पनि त्यस्तै भए नेपाली फुटवलले कहिलै फड्को मार्न नसक्ने दावी गरे । 
प्रशिक्षक लोप्साङले एन्फासंग प्रश्न गर्दै भने–‘क्लवले वर्षौंदेखि तलव भरणपोषण गरेर खेलाडी पाल्ने,राष्ट्रलाई योगदान पु¥याउने अनि क्लवले नै खेलाडीको उपयोग गर्न नपाउने ?’ आइतबारसम्म उनले आफूहरुले आहारारा गोल्डकप खेल्ने या नखेल्ने भन्ने विषयमा दोधारमा रहेको भएपनि सहारा क्लव र पोखरेलीलाई हौसला प्रदान गर्नकै लागि अन्तिम समयमा जुनियर खेलाडी नै समावेश गरि पोखरा आएको बताए । 
मनाङ क्लव नै विघटन हुन लागेको चर्चा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले यो निर्णय क्लवले गर्ने बताए । उनले यो बारेमा आफूलाई जानकारी नभएको र क्लवले जे चाह्यो त्यहि हुने स्पष्ट पारे ।

Post a Comment

 
Top