0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. २ मा रहेको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिर परिसरमा स्थापित ‘ज्येष्ठ नागरिक मिलन केन्द्र सोमबार उद्घाटन गरिएको छ । वृद्धवृद्धाका लागि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले निःशुल्क दिवा सेवा प्रदान गर्ने उद्देश्यका साथ मिलन केन्द्र स्थापना गरेको हो । उक्त केन्द्रमा ७० बर्ष पुगेका बृद्धबृद्धाले प्रवेश पाउनेछन् । समितिका सचिव तीर्थ श्रेष्ठले दिएको जानकारी अनुसार मिलन केन्द्र ३० जना बृद्धबृद्धा अट्ने क्षमताको छ । केन्द्रमा खाजाको ब्यवस्था सहित श्रव्यदृष्य सामाग्री, मनोरञ्जनका साधन, भजन, प्रवचन लगायतको सुविधा रहेको छ । केन्द्रमा दैनिक आउने बृद्धबृद्धाका लागि महिनामा तीन पटकसम्म निःशुल्क स्वास्थ्य परीक्षणको पनि ब्यवस्था गरिने समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार पाँच कोठे भवनमा एउटा कोठामा टिभि सहित मनोरञ्जन हल, दुई वटा कोठामा महिला र पुरुषका लागि छुट्टा–छुट्टै विश्राम गर्ने ब्यवस्था गरिएको छ भने निःशुल्क खाजा उपलब्ध गराईनेछ । केन्द्रमा ज्येष्ठ नागरिकको हेरचाहका लागि दुई जना कर्मचारी पनि खटिनेछन् । केन्द्र सञ्चालनका लागि मासिक एक लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
सो खर्च सरकारी अनुदान, मन्दिरमा आउने भक्तजन र विभिन्न संघसंस्थाको साथै ब्यववायीबाट सहयोगको रुपमा प्राप्त हुने समितिको अनुमान छ । केन्द्रमा सेवा लिन अहिलेसम्म २० जना सम्पर्कमा आएको समितिले जनाएको छ । समितिमा निवेदन दिएको आधारमा छनौट गरिने सचिव श्रेष्ठले बताए । समितिको सवारी नभएकाले आफै हिंडेर आउन सक्ने वा परिवारजनले ल्याउने लाने गर्ने बृद्धबृद्धालाई प्रथमिकता दिईने बताईएको छ ।

बृद्धबृद्धालाई कहिलेकाही पोखरा आसपासको क्षेत्रको भ्रमणमा समेत लगिने समितिले जनाएको छ । माग भएमा केन्द्रलाई बिस्तार गर्न पनि सकिने समितिको लक्ष्य छ । ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्ने उद्देश्यले केन्द्र सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष श्रेष्ठले बताए । बिन्ध्यवासिनीको भोगचलनमा रहेका साविकको खानेपानी कार्यालय रहेको भवनलाई तीन लाख ३४ हजार मुआब्जा दिएर समितिले केन्द्र सञ्चालनका लागि भवनको स्तरोन्नति गरेको हो । केन्द्रको उद्घाटन गर्दै नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले ज्येष्ठ नागरिकको सम्मान र सेवा सुबिधाका लागि सरकार गम्भीर रहेको स्पष्ट पारे । उनले राज्यले पनि यस्ता केन्द्रको आवश्यकता महसूस गरेको भन्दै  यस्ता केन्द्र बनाउनका लागि नीति र कार्यविधि बनाएको छ । हामीसंग चाहना धेरै हुने तर राज्यले केहि गर्न नसकेको अवस्थामा निजि क्षेत्रसंग हातेमालो गर्न राज्य तयार रहेको उनले बताए ।

अर्को प्रसङ्गमा उनले संघीयताको गलत ब्यवस्थापनको कारण विद्यमान समस्या आएको बताएका छन् । संघीयता निर्माण गर्दा विचार नपु¥याएकाले पनि यस्तो अवस्था आएको उनले स्पष्ट पारे ।  मुख्य सचिव सुवेदीले विगत दुई दशकदेखि मुलुकले एकपछि अर्को पीडा भोग्दै आएको भन्दै संघीयता घोषणाको नाममा दिर्घकालिन सुधार गर्न नसकिने, भैरहेका सेवा ब्यवस्थापनलाई प्रभावकारी बनाउन नसकिने अवस्थामा मुलुक पुगेकोे बताए । ‘अझैपनि प्रदेश बनाउने, त्यसका पूर्वाधार बनाउने काममा भैरहेको सेवालाई ब्यवस्थापन गर्नुपर्ने चुनौति छ’, उनले भने–‘सोहि चुनौतिलाई ध्यान दिंदै दुई बर्षे प्रशासन सुधार कार्यक्रम ल्याएका छौं ।’







Post a Comment

 
Top