0
गोल्डेन न्यूज संवाददाता
सिद्धि सेतुली’ स्मृति प्रतिष्ठान पोखराले आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मानबाट सहारा एकेडेमीलाई पुरस्कृत गरेको छ ।   सिद्धि–सेतुली स्मृतिप्रतिष्ठान पोखराले प्रत्येक दुई÷दुईवर्षमा प्रदान गर्ने एक लाख रुपैयाँ राशिको उक्त पुरस्कारबाट सहारा क्लब पोखराद्वारा सञ्चालित सो एकेडेमीलाई सम्मान गरेको छ । गरिब, असहाय, तथा कठिन अवस्थाका बालकलाई एकेडेमीमा संरक्षण दिएर उनीहरूको शिक्षा, स्वास्थ्य र खेलकुद प्रशिक्षणको व्यवस्था गरेर समाजमा उदाहरणीय काम गरेको भन्दै वयोवृद्ध कलाकार कृष्णप्रसाद श्रेष्ठले क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई सो सम्मानबाट  पुरस्कृत गरेका थिए ।
 विसं २०५५ मा स्थापित सहारा एकेडेमीमा हाल १६ जिल्लाका २६ जना बालबालिका आश्रित छन् । राष्ट्रिय फुटबल टिमका क्याप्टेन अनिल गुरुङ सहारा एकेडेमीकै उत्पादन  हुन् । सोही अवसरमा प्रतिष्ठानले विन्ध्यवासिनी धार्मिक विकास समितिद्वारा सञ्चालित विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रलाई रु एक लाख ५० हजार प्रदान गरेको छ । घरपरिवारमा दिउँसो एक्लै जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई विभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथै धार्मिक प्रवचन र ज्येष्ठ नागरिकबीच एक आपसमा भेटघाट र छलफल गराउने उद्देश्यले हालै मात्र विन्ध्यवासिनी मन्दिरको हातामा  मिलन केन्द्र सञ्चालनमा ल्याइएको थियो । वयोवृद्ध कलाकार श्रेष्ठले सो रकम समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । आमा सेतुलीमाया शाक्यको निधनपछि उहाँका कान्छा छोरा विश्वरत्न शाक्यले सुरुमा रु १० लाखको अक्षयकोष स्थापना गरी दिएपछि अक्षयकोषवाट प्राप्त ब्याजले  वृत्ति तथा सम्मान, गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति जस्ता कार्यक्रम वितरण गरिँदै आएको छ । अक्षयकोषको राशि हाल १६ लाख रुपैयाँ पुगेको छ । सो कार्यक्रममा सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले सहारा एकेडेमी सञ्चालनको लागि दुई करोड रुपैयाँको एक अक्षय कोष बनाउने लक्ष राखिएकोमा हालसम्म अक्षयकोषमा ६१ लाख रुपैयाँ पुगेको जानकारी दिए । 
प्रतिष्ठानका अध्यक्ष नारायण कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिष्ठानका संरक्षक विश्वरत्न शाक्य, विन्ध्यवासिनी धार्मिक विकास समितिका सभापति गणेशबहादुर श्रेष्ठ, आङ्कुर नेपालका अध्यक्ष लक्ष्मी अधिकारी, डा राधेश्याम कायस्थ, सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ, वीलबहादुर गुरुङलगायतले बोलेका थिए ।








Post a Comment

 
Top