0
गोल्डेन न्यूज संवाददाता
छैठौं पोखरा महोत्सवको आठांै दिनसम्म आइपुग्दा १ लाख ४८ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन् भने ८ करोड बराबरको कारोवार भएको छ । महोत्सवको आठांै दिन बिहीबार मात्र १८ हजार दर्शकले अवलोकन गरेका छन् भने १ करोड ५० लाख कारोवार भएको आयोजक युनाइटेड क्लवका सचिव तथा महोत्सवका प्रचार–प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।
देशको बिषमपरिस्थिति नाकाबन्दीको बावजुद पनि महोत्सवमा दर्शकको सहभागिता हुदा आफूहरु निकै खुशी रहेको र युनाइटेड क्लवले राखेको उद्देश्य पुरा गर्नका लागि हौसला थपिएको समेत प्रचार–प्रसार संयोजक गुरुङले जानकारी दिए । महोत्सवमा विशेषगरी घरायसी सामाग्रीको बिक्री वितरण दिन प्रतिदिन वढिरहेकाले कारोबार राम्रो भएको क्लवका कोषाध्यक्ष तथा अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवमा दर्शकहरुको सुरक्षालाई विशेष ध्यान दिइएको छ । 
महोत्सवमा प्रायोजक गर्ने आर एम आर न्यूरोडले महोत्सव स्थलभित्र विभिन्न ठाउमा सिसी क्यामेरा जडान गरी महोत्सवको सुरक्षालाई ब्यवस्थित बनाउन सफल भएको छ । आरएमआर इन्फोटेकका संचालक रावत लामाका अनुसार अघिल्लो वर्षहरुमा पनि पोखरा महोत्सवलाई सहयोग गर्दै आएको र यो वर्ष अघिल्लो वर्ष भन्दा विशेष किसिमको क्यामेराहरु जडान गरिएकाले महोत्सवको सुरक्षाको दृष्टिकोणले कोही कसैले नजायज काम गरेको खण्डमा सजिलै पत्ता लगाउन सकिने बताए । महोत्सवमा बिहीबार लोकदोहोरी गायक बद्री पंगेनीले दर्शकहरुलाई एकल तथा दोहोरी गीत मार्फत मनोरञ्जन प्रदान गरेका थिए । पंगेनीले एकल गीत मार्फत दर्शकहरुलाई रुवाएका थिए भने दोहोरीमार्फत नचाएका थिए । महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ ज्योति मगर, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, जीवन दाहाद, केशव देवकोटा, इन्द्रा गुरुङ, तुलसा जिसी, सुरेश भुर्तेलको प्रस्तुति रहने छ भने लाइभ पप ब्याण्ड तर्फ आस्था रावतको प्रस्तुति रहने कलाकार ब्यवस्थापन उपसमिति संयोजक लोकबहादुर थापाले जानकारी दिए ।








Post a Comment

 
Top