0
गोल्डेन न्यूज संवाददाता
नेपालको पुरानो र ठूलो पार्टी नेपाली कांग्रेसको नेतृत्व पारिवारिक घेराबाट बाहिर निस्कँदैन भन्ने आरोप पहिला देखि नै लाग्दै आएको छ । पार्टीको महाधिवेशनमा देखिने अभ्यासले पनि त्यसलाई पुष्टि गर्ने गरेको छ । नेपालमा प्रजातन्त्र आउनुअघि स्थापना भएको पार्टीको अधिकांश सभापति ‘कोइराला परिवार’ बाट भएका छन् । कृष्णप्रसाद कोइरालाका तीन छोरा विश्वेश्वर प्रसाद कोइराला, मातृका प्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला नै पार्टी सभापति बने । १२ औं महाधिवेशनबाट सभापति जितेका सुशील कोइराला पनि कोइराला परिवारकै नातेदार हुन् । उनी कृष्णप्रसाद कोइरालाकी सालीका छोरा हुन् । १३ औं महाधिवेशनमा पनि नेतृत्वका लागि कोइराला परिवारको दावी छँदैछ, त्योबाहेक अन्य पदमा पनि पारिवारिक लडाइँ हुने देखिन्छ ।
कांग्रेसको स्थापना विश्वेश्वर प्रसाद कोइरालाले गरे । त्यसपछि कालक्रमा उनका दाजु मात्रिका प्रसाद कोइराला र भाइ गिरिजा प्रसाद कोइराला कांग्रेस सभापति बने । १३ औं महाधिवेशनमा पनि कोइराला परिवारका सदस्य पदका लागि चुनावी मैदानमा होमिने तयारीमा छन् । बिपीपुत्र तथा वर्तमान केन्द्रिय कार्यसमिति सदस्य डा. सशाङ्क कोइराला महाधिवेशन बाट पदाधिकारी बन्न आफ्नो प्रचारलाई तीव्र बनाएका छन् । उनको दावी महामन्त्रीमा रहेको निकटस्थहरू बताउँछन् । त्यस्तै बिपिका भाइ केशवका छोरा तथा केन्द्रिय सदस्य डा. शेखर कोइराला पनि पदाधिकारीका आकांक्षी हुन् । उनले मुख नखोले पनि महामन्त्रीका लागि आफ्नो पक्षमा माहोल तयार गर्न जिल्ला दौडाहामा लागेका छन् । त्यस्तै गिरिजापुत्री केन्द्रिय सदस्य सुजाता पनि पदाधिकारीमा आकांक्षी हुन । उनी सकभर महामन्त्री नभए महिला उपाध्यक्ष र त्यो पनि नभए कोषाध्यक्षमा आफ्नो स्थान पक्का गर्नका लागि साम, दाम, दण्ड र भेद प्रयोग गर्ने रणनीतिमा छिन् ।

सभापति सुशिल कोइरालाले पनि भित्रि रुपमा पुनः सभापति बन्ने इच्छा जाहेर गर्दै माहोल बनाइरहेका छन् । उनीमात्रै होइनन्, उनका भाइ अशोक कोइराला पनि केन्द्रिय सदस्यमा तयारी गरिरहेका छन् । रूपान्तरित संसदमा कांग्रेसबाट सभानुपातिक तर्फका सांसद र लामो समयसम्म मोरङ सभापति भएका अशोक केन्द्रको राजनीतिमा आउने तयारी गरिरहेका छन् । कांग्रेस बाँकेको सभापति रहेका सुशीलका दाजु स्व. अरुण कोइरालाका पुत्र अतुल कोइराला पनि यो महाधिवेशनबाट राजनीतिमा आउने तयारी गर्दैछन् । पेशाले इञ्जिनियर उनी अहिले सुशीलका स्वकीय सचिवका रूपमा कार्यरत छन् ।

त्यस्तै कोइराला परिवारका भाञ्जा केन्द्रिय सदस्य महेश बस्नेत पनि महाधिवेशनबाट पदाधिकारीका आकांक्षी हुन । तर, उनी पदाधिकारीका लागि प्यानलबाट उम्मेदवार हुने सम्भावना त्यति देखिन्न । यता, नुवाकोटको महत परिवार पनि कांग्रेस राजनीतिमा पारिवारिक रुपमा होमिएकै छ । नुवाकोटका दिल्लीबहादुर महतका छोराहरू डा. रामशरण महत र डा. प्रकाशशरण महत अहिलेको कांग्रेस केन्द्रिय समितिका सदस्य छन् । तर, उनीहरू कांग्रेसभित्र फरक–फरक गुटमा सक्रिय छन् । रामशरण कोइराला गुटका खम्वाका रूपमा परिचित छन् भने प्रकाशशरण देउवा गुटका खम्वाका रूपमा । दाजु रामशरण अबको महाधिवेशनबाट पदाधिकारीका आकांक्षी हुन् । १२ औं महाधिवेशनमा पनि सभापतिको सिफारिसमा केन्द्रिय समितिले मनोनयन गर्ने एक महामन्त्रीमा अन्तिम समयसम्म रहेको रामशरणको नाम भारतीय दूत एसडी मुनीको दवावमा सुशील कोइरालाले काटेर कृष्ण सिटौलालाई प्रस्ताव गरेका थिए । अहिले उनी निर्वा्चित महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन् । भाइ प्रकाशशरण पनि सह–महामन्त्रीका लागि आफ्नो गुटमा बार्गेनिङ गरिरहेको बताइन्छ । त्यतिमात्रै होइन, महतका भतिजा पर्ने रमेश महत पनि कांग्रेसको राजनीतिमा छन् । रामशरण अर्थमन्त्री हुदा प्रायः स्वकिय सचिव बस्ने र अहिले कृषि विकास बैंकका सञ्चालक समिति सदस्य रहेका महत नुवाकोट कांग्रेसको सचिव हुन् । अबको अधिवेशनमा उनी नुवाकोट कांग्रेसको सभापतिका दावेदार हुन् ।
यस्तै नुवाकोटकै केसी परिवार पनि कांग्रेस राजनीतिमा होमिएको परिवार हो । ७ भाइमध्ये जेठा अजुर्ननरसिंह केसी १२ औं महाधिवेशनबाट कांगे्रस केन्द्रिय सदस्य छन् । अर्का भाइ जगदिश्वरनरसिंह केसी नुवाकोट कांग्रेस सभापति र संसदमा सभानुपातिक तर्फका सांसद छन् । पञ्चायतकालमा कांग्रेसका संस्थापक बिपी कोइरालालाई नुवाकोट जिविस सभापतिको हकमा फाँसी दिन राजदरबारलाई सिफारिस गर्ने अर्जुनरसिंह केसी बहुदलपछि स्थायी रूपमा कांग्रेसको राजनीति गरिरहेका छन् । उनले अहिले प्रत्यक्ष महामन्त्रीमा उम्मेदवारीको दावी गरिरहेका छन् । त्यस्तै नुवाकोटमा दुई कार्यकाल सभापति भएका जगदिश्वरनरसिंह केन्द्रिय सदस्यमा पदोन्नती गर्ने तयारीमा छन् ।
नेपाल चिकित्सक संघका सभापति भइसकेका डा. केदारनर सिंह केसीलाई परिवारले नुवाकोट कांग्रेस सभापति बनाउन माहोल बनाइरहेको छ । अर्का भाइ नारायणनरसिंह केसी पनि कांग्रेसको राजनीतिमा स्थापित हुने जमर्को गरिरहेको बताइन्छ ।
यता अजुर्ननरसिंह केसीको छोरीलाई विवाह गरेर केसी परिवारसँग साइनो गाँसेका कांग्रेसका प्रभावशाली युवा केन्द्रिय सदस्य गगन थापा पनि यो महाधिवेशनबाट पदाधिकारी बन्ने आकांक्षा व्यक्त गरिरहेका छन् । उनले महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । १२ औं महाधिवेशनमा ‘पपुलिष्ट’ मत ल्याएर केन्द्रिय सदस्य जितेका थापाको घैंटे काण्डबाट कांग्रेसमा केही इमेज खस्केको बताइन्छ ।
यस्तै दाङ रामपुरका बासिन्दा घिमिरेको परिवार पनि कांग्रेसमा स्थापित हुने तयारी गर्दैछ । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं २ बाट सांसद जितेका कृष्णकिशोर घिमिरे यो महाधिवेशनबाट केन्द्रिय सदस्य बन्नका लागि लागिरहेका छन् । उनी १२ औैं महाधिवेशनमा पनि उम्मेदवार बनेर पराजित भएका थिए । उनका भाइ कमलकिशोर घिमिरे अहिले दाङ कांग्रेसको सचिव छन् । अब हुने अधिवेशनबाट उनी सभापति बन्न कसरत गरिरहेका छन् । त्यस्तै अर्का भाइ म्यानपावर व्यवसायी किरणकिशोर घिमिरे पनि कांग्रेसको राजनीतिमा सक्रिय हुनका लागि परेका छन् । मेनपावर व्यवसायी संघका पूर्वअध्यक्ष किरणकिशोर पनि केन्द्रिय सदस्यको तयारीमा रहेको बताइन्छ ।
यसैगरी सुर्खेतको थानी परिवारका दुई भाइको नाम पनि कांग्रेसको राजनीतिमा चलेको छ । भाइ हृदयराम थानी अहिले सुर्खेत क्षेत्र नं २ बाट सांसद छन् । उनी १२ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा पराजित भएका थिए । अहिले पुनः केन्द्रिय सदस्यका लागि तयारी गरिरहेका छन् । दाजु भवानी थानी पनि कांग्रेसको राजनीतिमा लागिरहेका छन् । कांग्रेस निकट निजामति कर्मचारी युनियनका पूर्व सभापति भवानी सुर्खेत कांग्रेस सभापति हुनका लागि दौडधूपमा छन् । तर, दुई भाइको गुट फरक छ । भाइ कोइराला र दाइ देउवा गुटमा छन् ।
यस्तै कांग्रेसको केन्द्रिय समितिमा केन्द्रिय सदस्य मनमोहन भट्टराई र डा. मिनेन्द्र रिजाल नाताले ज्वाईं जेठान हुन् । रिजालले मनमोहनकी बहिनी डा.दुर्गा रिजाल विवाह गरेका हुन् । उनीहरु दुवै कांग्रेस राजनीतिमा प्रतिष्ठित छन् । तर, गुट भने फरक छ । १२ औं महाधिवेशनमा भने देउवा गुटबाट दुवैले केन्द्रिय सदस्य जितेका थिए । त्यसपछि रिजाल मनोनित महामन्त्री कृष्ण सिटौलाको पछि लाग्दै संस्थापनमा छिरेका थिए ।


Post a Comment

 
Top