0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई सरकारमा जान कुनै हतार नभएको बताएका छन्। सत्ताघटक एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयमा कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने भनिरहेका बेला नेता देउवाले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने भन्दै सरकारमा जान हतार नभएको स्पष्ट पारे । नेपाल प्रेस युनियन कास्की शाखाले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने–‘प्रजातन्त्रमा जित्ने प्रधानमन्त्री र हार्ने प्रतिपक्षमा बस्छ । विपक्षी नभइकन प्रजातन्त्र बलियो हुन सक्दैन ।’ 

उनले नेपाली जनताको २००७ सालदेखिको आप्mनो संविधान आफैले बनाउने सपनाले पूर्णता पाएको भन्दै संविधान समावेशी बनेको दावी समेत गरे । संविधान प्रति असन्तुष्ट जनाउनेहरुलाई संविधान संशोधनको माध्यमबाट सम्वोधन गरिने स्पष्ट पार्दै उनले अन्तरिम संविधानले दिएका अधिकार समेत यो संविधानमा छुटेकोले यस विषयलार्ई सम्वोधन गर्न व्यवस्थापिका संसदमा संशोधन विधेयक दर्ता गरिएको बताए । ‘राज्यको सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने र कुनैपनि जिल्ला खाली नगरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुने कुरा छुटेको रहेछ’, उनले भने–‘संसदमा कांग्रेसले दर्ता गराएको संशोधन प्रस्ताव पास भएको खण्डमा वर्तमान समस्या स्वतः समाधान हुन्छ ।’ नेता देउवाले सीमाङ्कको विषय अलि जटिल रहेकाले वार्ताद्वारा समाधान गरिनुपर्नेमा जोड दिए । उनले भने–‘सीमाङ्कन विषय वार्ताद्वारा समाधान गर्नुपर्छ । त्यसका लागि उच्चस्तरीय समिति गठन गर्न आवश्यक छ ।’  कांग्रेसको १३औं महाधिवेशनमा दुई पक्ष बीच मात्र प्रतिस्पर्धा हुने दावी गर्दै नेता देउवाले क्रियाशील सदस्यता वितरणमा पार्टी नेतृत्वले अन्याय गरेको आरोप लगाए।  उनले भने–‘सदस्यता वितरणमा केही जिल्लाका पार्टी नेतृत्वले एकलौटी गरेका छन् । यो रवैया कुनैपनि हालतमा स्वीकार्य हुँदैन।’ उनले उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा पुग्ने सपना अन्तिमसम्म टिक्नेमा आशंका रहेको बताए । उनले–‘मलाइ लाग्दैन रामचन्द्र जी अन्तिमसम्म अडानमा टिक्नुहुन्छ ।’ नेतृत्व गर्नेले हार्नेलाई पनि मिलाएर लैजानुपर्नेमा नेता देउवाले जोड दिए । महाधिवेशनको संघारमा पार्टीको विधान संशोधन गरी पदाधिकारी संख्या बढाउने बारे विवाद भइरहेका बेला नेता देउवाले भने त्यसप्रति असन्तुष्टि जनाए । उनले भने–‘भएका पदाधिकारीलाई काम दिन नसकेका बेला पदाधिकारी बढाउन विधान संशोधन गर्न आवश्यक छैन । प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा युनियन काास्की उपाध्यक्ष माधव रेग्मी र सचिव प्रकाशचन्द्र सापकोटाले पनि बोलेका थिए ।




Post a Comment

 
Top