0
गोल्डेन न्यूज संवाददाता
पोखराको विन्ध्यवासिनी मन्दिरमा प्रदक्षिणपथको संरचना निर्माण कार्य सम्पन्न भएको छ । प्रदक्षिणपथ निर्माणको क्रममा झण्डै ३५ लाख रुपैयाँको संरचना तयार भएको छ । झण्डै तीन सय बर्षको ईतिहास बोकेको बिन्ध्यवासिनीको मुख्य प्रतिमा खिईदै गएपछि दर्शनार्थीहरुलाई बाहिरवाटै दर्शन गरेर फर्कने गरी प्रदक्षिणपथ निर्माण गरिएको भएपनि यसलाई सजाउन अझै एक बर्षको समय लाग्न सक्ने बताईएको छ ।
‘प्रदक्षिणपथको संरचना तयार भएको छ तर यसलाई सजाउने मुख्य काम बाँकी नै छ,’ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले भने– ‘यो कामको लागि अझै एक बर्ष लाग्न सक्छ ।’ प्रदक्षिणपथलाई सजाउनका लागि बिभिन्न देविका मूर्तिको डिजाईन गर्ने कार्य भैरहेको उनले बताए । ढुङ्गा र ईट्टा दुवैमा मुर्तिको डिजाईन भैरहेको र जुन सस्तो, राम्रो देखिन्छ त्यसैबाट निर्माण भएका मूर्तिहरु प्रदक्षिणपथमा सजाईने उनले बताए । डेढ करोड भन्दा बढीको लागतमा मूल मन्दिरलाई घेरेर प्रदक्षिणपथ निर्माण गरिएको छ । प्रदक्षिणपथमा कलात्मक देविका मूर्तिहरु पनि राखिने छ । एक पटकमा झण्डै दुई सय दर्शनार्थी लामबद्ध हुन सक्ने क्षमताको प्रदक्षिणपथ घाम पानीबाट पनि जोगिने गरी निर्माण गरिएको हो । श्रेष्ठका अनुसार अहिलेसम्म ७० लाख भन्दा बढी सहयोग रकम संकलन भएको छ । यो कामको लागि सरकारले २० लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ । देवीको मूल प्रतिमा जोगाउनकै लागि प्रदक्षिणपथ निर्माण गरिको हो । तर प्रदक्षिणपथ सजाउने काम सकिएपछि मात्रै बाहिरबाटै दर्शन गरेर फर्किने गरी नयाँ ब्यबस्था लागू गर्न सकिने समितिले जनाएको छ ।
दर्शनार्थीको बढी चाप हुने समयमा बाहिरबाटै दर्शन गरेर फर्किने ब्यबस्था गरिएपनि अन्य बेला मुल मन्दिरमै पुगेर दर्शन गर्न सकिन्छ । दर्शनार्थीले अहिले मन्दिर भित्र गएर मूल प्रतिमामा आफै पूजा गर्न सक्छन् । दर्शनार्थीले चढाएको पानी, अविर लगायतका बस्तुले माताको प्रस्तर (प्रतिमा) खिईदै गएपछि त्यसको अस्तित्वनै समाप्त हुने खतरा बढेर विकल्पको रुपमा प्रदक्षिण पथ बनाई बाहिरबाटै दर्शन गरी फर्किने नयाँ ब्यबस्था गर्न लागिएको हो ।
बाहिरबाटै दर्शन गरेर फर्किने गरी नयाँ ब्यवस्था लागू गर्नेबारे संस्कृति मन्त्रालय, पुरातत्व विभागलाई आवश्यक जानकारी गराईसकिएको छ । ‘मूर्ति क्षयिकरण भैसकेको छ , जुन भगवानको पुजा गर्न जाने हो त्यहि भगवानको क्षयिकरण हुनेगरी पूजा गर्नु औचित्वपूर्ण छैन’–सचिव श्रेष्ठले भने । मूर्तिलाई पुरानो यथावत स्वरुपमा ल्याउन बिषेशज्ञको खोजी भैरहेको उनले बताए । श्रेष्ठका अनुसार प्रतिमामा रहेको देविको चादीको आखा पनि मेटिन लागेको छ । ‘मुख पनि क्षतिग्रस्त अवस्थामा छ, खुट्टा भन्दा तलको भाग पनि क्षतिग्रस्त भएपछि रुमालले छोपेर नदेखिने गरी पूजा भैरहेको छ’–सचिव श्रेष्ठले भने ।
दर्शनार्थीले चढाउने कतिपय वस्तुमा हुने केमिकलले प्रतिमा खिईएको समितिले जनाएको छ । प्रतिमा खिइँदै गएको जानकारी पाएपछि आएको पुरातत्व विभागको टोलीले पनि मर्मत गर्न नसकेपछि प्रतिमा जोगाउन बाहिरबाटै दर्शन गर्ने गरी नयाँ ब्यवस्था गर्न स्वीकृति मागिएको हो । सुरक्षाको उपाय नअपनाउने र यहि गतिमा प्रतिमा खिईदै जाने हो भने अबको १० बर्षमा विन्ध्यवासिनी माताको प्रतिमा पूर्ण रुपमा क्षतविक्षत हुने श्रेष्ठले बताएको खबर पिस पोखरा डटकममा छ ।








Post a Comment

 
Top