0
गोल्डेन न्यूज संवाददाता
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले भारतले लगाएको अघोषित नाकाबन्दी खुलाउन सरकारको मात्र भर नपरी सामाजिक संघसंस्थाहरुले पनि आवाज उठाउनुपर्ने बताएका छन्। नेपाल भारत मैत्री संघ कास्की शाखाको प्रथम साधारण सभाको शनिबार उद्घाटन गर्दै अध्यक्ष बाँस्तोलाले उक्त कुरा बताएका हुन्। नाकाबन्दीका कारण देशको विकास १० वर्ष पछाडि धकेलिएको अर्थविद्हरुको भनाई उदृत गर्दै उनले भने–‘अझै पनि मौन साँधेर बस्नु नेपालीहरुको भविष्य अन्धकार बनाउनु हो ।’ नेपाल भारत बीचको सांस्कृतिक सम्बन्ध सदियौं पुरानो रहेको उल्लेख गर्दै उनले दुवै देशका केही नेताहरुको राजनीतिक चलखेलका कारण नाकाबन्दी भएको र नेपाली जनताले दुःख खेप्नुपरेको बताए।
नाकाबन्दीले भष्ट्राचार र तस्करीतन्त्र मौलाएको छ, बाँस्तोलाले भने–‘देशमा सुशासन चाहने हो भने सबै संस्था जागरुक हुनुपर्छ र आवाज उठाउनुपर्दछ।‘ देशको हितको लागि छिमेकी राष्ट्रसँगको सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिदै उनले नेपाल भारत मैत्री संघलाई रचनात्मक भूमिका खेल्न आग्रह गरे। संस्थाका सल्लाहकार एवम् सांसद् शारदा पौडेलले अब देशको विकासको लागि हाम्रो मान्छे होइन राम्रो मान्छेलाई अवसर दिनुपर्छ भन्ने मान्यता आफूले राखेको जानकारी दिदै पोखराको विकासको लागि सबै जुटेर लाग्नुपर्ने बताइन्।
जनताले नाकाबन्दीबाट ठूलो पीडा भोगिरहेको उल्लेख गर्दै सांसद् पौडेलले सरकारको कुर्चीमा बस्नेहरुले यसको मतलब नराखेको बताइन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका प्रमुख श्रीकृष्ण श्रेष्ठले क्षेत्रीय अस्पताललाई हेल्थ एकेडेमीको रुपमा स्थापित गर्ने कार्य अगाडि बढीसकेको जानकारी दिँदै नेपाल–भारत मैत्री संघ कास्की शाखाले अस्पतालको विकासमा देखाएको चासो स्वागतयोग्य भएको बताए। संस्थाका सल्लाहकार गणेशबहादुर श्रेष्ठले मैत्रीसंघ सामाजिक भावनाले ओतप्रोत भएको पाएको उल्लेख गर्दै नेपाल–भारत बीचको मित्रता कसरी बढ्छ त्यो खोज गरिनुपर्नेमा जोड दिए। सभामा अध्यक्षको आसनबाट बोल्दै नेपाल–भारत मैत्रीसंघ कास्की शाखाका अध्यक्ष ऋषिराम सापकोटाले नेपाल भारतको धेरै पुरानो सम्बन्ध राजनीतिक कारणले टुक्रिन नसक्ने र सम्बन्ध सुदृढ गर्ने उद्देश्यले नै मैत्री संघ गठन भएको बताए। उनले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अध्यक्षतामा २०११ सालमा नेपाल–भारत मैत्री संघ गठन भएको र विधिवत रुपमा दर्ता भएको नेपालको दोस्रो संस्था भएको जानकारी दिए। साथै उनले संघको कास्की शाखाले क्षेत्रीय अस्पताल पोखरामा ५० शैयाको आकस्मिक कक्ष निर्माण गर्न पहल गरिरहेको बताए। कार्य समिति सदस्य सुशीलकुमार गोशलीले धन्यवाद मन्तव्य राख्दै नाकाबन्दी सहज भैहाल्छ कि भन्ने आशामा जनताहरु मौन रहेको बताए। सभामा सचिव वीरबहादुर कार्कीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जयराम पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।




Post a Comment

 
Top