0
नेपाली कांग्रेसको आसन्न १३ औँ महाधिवेशनलाई लिएर सभापति सुशिल कोइराला (संस्थापन) र बरिष्ठ नेता शेरबहादुर देउवा पक्षवीच नेतृत्वका लागि रस्साकस्सी सुरू भएको छ। काठमाडौंमा आगामी फागुन २० देखि २३ सम्म हुने महाधिवेशनबाट दुवै पक्षले नेतृत्व लिन फरक फरक रणनीतिका साथ जिल्ला दौडाहा तथा जिल्लादेखि केन्द्रीयस्तरका नेतासँग राजनीतिक छलफल र खिचातानीलाई तिब्रता दिएका छन्। संस्थापन पक्ष अघिल्लो १२ औं महाधिवेशनमा पाएको मत सुरक्षित गर्दै सोही समूहलाई मिलाउन प्रयास गरिरहेको छ भने देउवा पक्षले संस्थापन पक्षसँग असन्तुष्ट प्रभावशाली नेतालाई आफ्नो समूहमा तान्ने काममा ध्यान केन्द्रीत गरेको छ। अघिल्लो महाधिवेशनमा एक व्यक्ति एक पदको नीति अबलम्बन गर्ने भन्दै सभापतिमा चुनाव लडेका सुशील कोइरालाको पाँच वर्षे कार्यकाल निकै सकसपूर्ण र तनावपूर्णरूपमा गुजारे। त्यतिमात्रै होइन आफू एक पटकका लागि सभापति लडेको र सभापतिमा जिते सबै पक्षलाई समेटेर अघि बढ्छु भनेका कोइराला अन्ततः गुट उपगुटको सिकार भएर असफल बनेको उनी पक्षधर नेताहरूले नै आरोप लगाइरहेका छन्। 
पार्टी सभापतिमा कोइरालासँग तीन सयभन्दा बढी मतले पराजित भएका देउवाले भने पाँच वर्षको अबधिमा कार्यकर्तामाझ कमै मात्रामा आचोलिच भए। जिम्मेवारी कम भएपछि आलोचना कम हुनु स्वभाविक हो। दुई पटक सभापतिमा चुनाव लडिसकेका देउवालाई यो पटक जसरी पनि सभापति पदमा आफू विजयी हुनुछ। यसपटक असफल भए अर्को पटक पालो आउने सम्भावना कमै छ। राजनीतिक यात्रामा तीन पटक मुलुकको प्रधानमन्त्री भइसकेका देउवालाई कांग्रेस सभापति पदको हुटहुटी स्वभाविक छ। त्यसैले पनि उनी जसरी पनि संस्थापन पक्षका नेतालाई आफ्नो पक्षमा तानेर चुनाव जित्ने रणनीतिमा लागेको उनी निकट एक नेताले भने।
संस्थापन पक्षकै केही नेता तान्न सके पार्टी एक भएपछि स्थायी रूपमा देखिएको ६०÷४० को विभाजन पनि सकिने उनको विश्वास छ। यो विभाजन कायम रहुन्जेल सभापति जित्न देउवालाई कठिन छ।
संस्थापन पक्ष भित्र चिरैचिरा
वर्तमान सभापति सुशील कोइराला आगामी महाधिवेशनमा फेरि आफैं सभापति लड्ने तयारीमा लागेका छन्। केही दिनअघि कोइरालाले पोखरामा आयोजित कार्यक्रममा आफू सभापति पदमै उठ्ने घुमाउरो भाषामा भनेका थिए। तर उपसभापति रामचन्द्र पौडेल यसपाली आफू जसरी पनि सभापति पदमा उठ्ने भन्दै देश दौडाहामा लागेकाले कोइरालालाई अप्ठेरो पाएको छ। पौडेल मनाउनु कोइरालालाई पहिलो चुनौती हो। यस्तै पदाधिकारी मध्ये माथिल्लो पदका आकांक्षी महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, अर्जुननरसिंह केसी, सुजाता कोइराला, शेखर कोइराला, डा. रामशरण महत, महेश आचार्य लगायतलाई व्यवस्थापन गर्ने दोस्रो चुनौती छ। सिटौलाले त कतिपय कार्यकार्ता माझ आफू सभापतिमा उठ्ने बताइरहेका छन्।
पदाधिकारीको आश गरिरहेका दिलेन्द्र बडुदेखि युवा पुस्ताका नेता गगन थापासम्मलाई व्यवस्थापन गर्ने तेस्रो चुनौती छ। उसो त अघिल्लो महाधिवेशनमा आफ्नो पक्षमा रहेका नेताहरुलाई यसपाली पनि आफ्नै गुटमा राख्न कोइरालालाई चुनौती नै छ। एउटै पदका आकांक्षी बढी देखिएकाले पनि कोइरालामाथि दबाब बढ्दो छ।  संस्थापन पक्षका केहि सिनियर नेता उछिट्टिएर देउवा पक्षमा पुग्ने धेरैको अनुमान छ।
कार्यकर्ता पंक्तिमा पनि कोइराला प्रति असन्तुष्टी
सभापति पदमा विजयी भएदेखि नै कोइरालामाथि कार्यकर्ताको ठूलो पंक्ति उनको कार्यशैलीप्रति सन्तुष्ट छैनन्। एकपटक मात्र सभापति बन्छु र संविधान आएपछि प्रधानमन्त्री हुन्न भनेका कोइरालाले सार्वजनिक बिश्वासघात गरेको उनीहरूको आरोप छ। त्यस बाहेक कोइराला पार्टी सभापति भएपछिको पाँच वर्षे कार्यकालभर कुनै पनि भ्रातृ संगठनको चुनाव गराउन नसकेर पार्टीको संगठन लथालिङ पारेको, पार्टीलाई एकताबद्धरूपमा अघि बढाउन नसकेको, संविधान निर्माण गर्दा पार्टीको सहमति नखोजेको, समग्र पार्टीको भन्दा कोटरीमा रमाएको आरोप उनीमाथि छ। यी कारणले केन्द्रदेखि जिल्लासम्मका धेरै नेता तथा कार्यकर्ता कोइरालासँग असन्तुष्ट छन्। जिल्ला तहमा पनि संस्थापन पक्षले आफ्नो बर्चश्व गुमाउँदै गएकोले कोइरालाका लागि आउने महाधिवेशन चुनौतिपूर्ण छ। 
नेता व्यवस्थापन कोइराला भन्दा देउवालाई सहज
संस्थापन पक्षमा धेरै गुट उपगुटहरू क्रियाशिल छन् तर देउवा पक्षमा गुट त्यति देखिदैन। देउवालाई उम्मेद्रुवार चयन गर्न खासै समस्या देखिएको छैन। नेताहरू विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, बालकृष्ण खाड महामन्त्रीका आकंक्षी भएपनि उनीहरूलाई देउवाले सहजै मिलाउन सक्ने अवस्था छ। देउवा पक्षमा अन्य सबै पद संस्थापन पक्षका मानिसहरुलाई दिएर पनि सभापति आफ्नो पक्षमा ल्याउनु पर्ने कुरा बहस चलिरहेको छ।
देउवालाई पार्टी सभापति मान्न संस्थापन पक्षका प्रभावशाली नेताहरू आए महत्वपूर्ण पद दिन देउवा समूह मन्जुर छ। 
सुशीलका पक्षमा को ?  
संस्थापन पक्षका कोइराला निकट नेता विपी पुत्र शशांक कोइराला, शेखर कोइराला, संगठन विभाग प्रमुख आनन्द ढुंगाना, पार्टी प्रवक्ता दिलेन्द्र बडु, दिलबहादुर घर्ती, डा. मिनेन्द्र रिजालका साथै युवा नेता बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेललगायत नेता कोइरालानै सभापतिको उम्मेदवार हुनुपर्ने बताइरहेका छन्। 
उनीहरूले कोइरालाको विकल्प नभएको भन्दै त्यही अनुसार लविङसमेत थालेका छन्। उनीहरुले संस्थापन पक्षबाट अरु उम्मेदवार हुँदा पार्टी देउवाको पोल्टामा जाने भन्दै सभापति कोइरालालाई मनाइरहेको कोइराला निकट एक नेताले बताए।
आक्रामक रणनीतिमा देउवा
अघिल्लो महाधिवेशनमा आफ्ना पक्षका थुप्रै प्रभावशाली नेताहरू संस्थापन पक्षमा लागेपनि तीन सयभन्दा थोरै बढी मतले मात्रै पराजित भएका देउवाले अहिले आक्रामक रणनीति अख्तियार गरेका छन्। सभापति कोइराला पार्टीको नेतृत्वमा असफल भइसकेकाले अब नेतृत्व परिवर्तन आवश्यक रहेको भन्दै सभापतिमा आफ्नो पक्षमा पार्ने रणनीतिका साथ अघि बढेका छन् देउवा। देउवाले आफ्नो अवस्था बुझ्न आफू पक्षधर नेताहरुलाई जिल्ला जिल्लामा समेत खटाएका छन् भने आफै पनि देश दौडाहामा निस्केका छन्। 
देउवाले पार्टी सभापतिमा सहयोग गर्न सभापतिमै उठ्ने घोषणा नै गरेर देश दौडाहामा रहेका रामचन्द्र पौडेलसँग पनि पटक पटक छलफल गरिसकेका छन्। उनले पौडेललाई यसपटक आफूलाई सहयोग गर्न आग्रह गरिरहेका छन्। देउवा पक्षले संस्थापन पक्षका प्रभावशाली असन्तुष्ट नेताहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेको छ। पछिल्लो समय कोइराला क्याम्पमा रहेका अर्जुननरसिंह केसी देउवा क्याम्पमा आफ्नो स्थान खोजिरहेका छन्। देउवा पक्षले अहिले आफ्नो पक्षमा माहोल बनाउने र संस्थापन पक्षसँग असन्तुष्ट भएका नेताहरुलाई आफ्नो पक्षमा ल्याउने रणनीतिका साथ चुनावी माहोलमा होमिएको छ। 
बिमलेन्द्र निधिदेखि पूर्णवहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाड, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखक, श्याम घिमिरे, पुष्पा भुसाल, भिष्मराज आङदम्बे, युवा नेता बिश्वप्रकाश शर्मा लगायत नेता देउवाको पक्षमा लविङ गरिरहेका छन्। देउवा पक्षधर नेता डा प्रकाशशरण महतले पार्टीको नेतृत्व परिवर्तन आवश्यक रहेका भन्दै देउवा नै अहिलेको उपयुक्त ‘क्यान्डिडेट’ भएको बताउँछन्। उनले भने–‘सभापति कोइरालाको कार्यकाल कस्तो रह्यो भन्नेबारे सबैले देखेका छन्। उहाँ पार्टी चलाउन असफल नै भएको हो। त्यसैले नेतृत्व परिवर्तनको कुरा उठेको छ। नेतृत्व परिवर्तन हुँदा पार्टीमा पुर्रुयाएको योगदानका आधारमा देउवाजी नै उपयुक्त पात्र हो।’ 
महतले पोखरा अधिवेशनपछि सम्मानजनक स्थान पाएको र पटक पटक सबैको सहमतिमा प्रधानमन्त्री समेत भइसकेकाले अहिलेको अवस्थामा विकल्प खोज्न नसकिने भएकाले सवैको साथ र सहयोगमै देउवा पार्टी सभापतिमा निर्वाचित हुने बताए। कोइराला निकट नेता आनन्दप्रसाद ढुंगानाले संस्थापन पक्षले अबको सभापति कसलाई उठाउने भन्नेबारे निर्णय लिइनसकेको तर ‘सुशील दा’लाई नै दोहोर्रुयाउने कि भन्नेबारे छलफलमै रहेको बताए। उनले सभापति को हुने भन्ने भन्दा पनि कसको नेतृत्वमा जाँदा राम्रो हुन्छ भन्नेमा भर पर्ने बताउँछन्। 
उनले भने–‘सुशील दा’ वा रामचन्द्र पौडेल कसलाई सभापतिमा उठाउने भन्ने बहस भइरहेको छ। बहसमै रहेकाले उम्मेदवार को हुने भन्ने निक्र्यौलमा पुगेका छैनौ।’ तर महाधिवेशनमा जित्ने उम्मेदवार नै तय हुने उनको भनाई छ। संस्थापन पक्षबाट कोइराला नै अब फेरि सभापति लड्ने हो भन्ने प्रश्नमा भने उनले अहिले नै भन्न हतारो गर्न नहुने भन्दै टारे। 
सभापतिमा उठ्लान त रामचन्द्र?
सधैभरि संस्थापन पक्षमै रहेर लाभका पद पाएका उपसभापति रामचन्द्र पौडेल अहिले सभापतिका लागि भन्दै देश दौडाहामै छन्। उनले यो महाधिवेशनमा आफू जुनसुकै हालतमा पनि सभापतिमा लड्ने निर्णयबाट पछि नहट्ने बताएका छन्। उनले सुशील र शेरवहादुर दुवैले आफूलाई नेतृत्व छाड्नु पर्ने बताउँदै आएका छन्। उनले अब नेतृत्व परिवर्तन आवश्यक रहेको भन्दै त्यो नेतृत्व आफूले गर्न पाउनु पर्ने अडान अघि सारेका छन्। तर संस्थापन पक्षबाट उम्मेदवार नबनाए पौडेल तेस्रो टिम बनाएर सभापतिमा चुनाव लड्दा पनि गाह्रो हुने उनी निकट नेताहरु नै बताउँछन्। संस्थापन पक्षमा बसेर पनि कार्यकर्तामाझ आफ्नो पकड  बनाउन नसकेका पौडेलका पक्षमा केही नेताहरु देखिएपनि खुलेरै भने अझै लागेका छैनन्। 
कांग्रेस स्थापना भएदेखि नै रहँदै आएको कोइराला लिगेसी बचाउन भएपनि सुशील कोइरालालाई आफै उठ्न परिवारभित्रै र उनी निकट नेताहरुको चर्को दबाब रहेकाले पौडेललाई उम्मेदवार बनाउने सम्भावना कम रहेको एक नेताले बताए। उनले कोइराला लिगेसीलाई जिवितै राख्न र पार्टीलाई एकताबद्ध बनाउन फेरि एक पटक सुशील दा’लाई नै नेतृत्व दिनु पर्ने धारणा राखे। 
कोइराला पक्षका नेताहरुले पौडेललाई प्रधानमन्त्री दिने गरी सहमति जुट्ने विश्वास व्यक्त गर्छन्। ती नेताले सेतोपाटीसँग भने, ‘रामचन्द्रजीलाई मिलाउने सर्तमा उहाँलाई प्रधानमन्त्री र संसदीय दलको नेता बनाउनेबारे छलफल भइरहेको छ। पौडेलले मान्नुहुन्छ भन्नेमा हामी ढुक्क छौँ।’ 
उसो त देउवाले पनि पौडेल उम्मेदवार बन्नेमा शंका ब्यक्त गर्दै पौडेलसँगको छलफललाई पनि अघि बढाएका छन्। संस्थापन पक्षको आधिकारिक उम्मेदवार बन्न नपाए पौडेल सभापतिमा लड्न आँट गर्न नसक्ने संस्थापन पक्षकै नेताहरुले टिप्पणी गर्दै आएका छन्। 
कोइराला प्रति देशभरका कार्यकर्ता माझ देखिएको अशन्तुष्टी बढ्दै गए बाध्य भएर देउवालाई रोक्न कोइरालाले पौडेललाई समर्थन गर्ने सम्भावना नसकिएको तर्क गर्ने पनि संस्थापन पक्षमा अझै धेरै छन्।











Post a Comment

 
Top