0
गोल्डेन न्यूज संवाददाता
निर्देशक राजु गिरीले नयाँ फिल्मको घोषणा गरेका छन् । उनको नयाँ फिल्मको नाम ‘लभ क्याफे’ हुनेछ । गिरीले आईतबार पोखरामा फिल्मको घोषणा गरेका हुन् । नयाँ फिल्म घोषणा सँगै उनले आफ्नो पछिल्लो फिल्म ‘बिन्दास ३’ को अडियो पनि सार्वजनिक गरे । ‘लभ क्याफे फिल्म मैले पुरै पोखरामै छायाँकन गर्ने योजना बनाएको छु । र, पोखरालाई एउटा माया गर्ने थलोको रुपमा फिल्ममा मैले प्रस्तुत गर्नेछु ।’ संचारकर्मीहरुमाझ गिरीले भने–‘यसले पोखराको प्रचारप्रसारमा पनि सहयोग पुग्नेछ ।’ यो फिल्मलाई निर्देशक गिरीका बुवा  शंकर गिरीले प्रस्तुत गरेका हुन् । फिल्ममा दिपेन्द्र अधिकारीले लगानी गरेका छन् ।
बागलुङका युवा शिरिष थापालाई यो फिल्मबाट गिरीले डेब्यू गराउँदैछन् । त्यस्तै यो फिल्ममा नायिकाको रुपमा शुभेच्छा थापा फाईनल भएकी छन् । अन्य भुमिकाका लागि कलाकार छनौट प्रकृयामा रहेको गिरीले बताए । ‘यो फिल्मले माया गर्नेहरुको कथा बोल्छ ।’ गिरीले भने–‘राजु गिरी भर्सटाईल निर्देशक हो भन्ने कुरा अब बन्ने मेरा फिल्महरुबाट पुष्टि हुनेछ ।’ उनले चाँडै नै फिल्म ‘लभ क्याफे’लाई लिएर फ्लोरमा जाने बताए ।
पहिलो फिल्मदेखि अहिलेसम्म उनले संगीतकारको रुपमा अर्जुन पोखरेललाई लिएपनि यो फिल्ममा भने उनले संगीतकार परिवर्तन गरेका छन् । फिल्म ‘लभ क्याफे’मा संगीतकारको रुपमा उनले सम्पुर्ण जिम्मा योगेश काजी बिसीलाई सुम्पेका छन् । पत्रकार सम्मेलनमा संगीतकार योगेश काजी बिसी पनि सहभागी थिए । उनले राजु गिरीसँग फिल्ममा काम गर्न पाउँदा निकै खुशि लागेको बताए । ‘अर्जुन पोखरेलसँग काम गर्दै आएका निर्देशक गिरीले यो फिल्मका लागि संगीतको सबै जिम्मा मलाई सुम्पनुभएको छ ।’ बिसीले भने–‘यो मेरो लागि अवसर र चुनौती दुवै हो ।’ पछिल्लो समय नाईकेको शिर्ष गीतबाट चम्किएका संगीतकार बिसीले यो फिल्ममा अझै बढि मेहेनत गरेर उत्कृष्ट संगीत दिने प्रतिबद्धता जनाए ।
 
त्यस्तै राजु गिरी निर्देशित पछिल्लो फिल्म बिन्दास ३ को अडियो पनि कार्यक्रममा सुनाईएको थियो । सार्वजनिक अडियो गीतलाई संचारकर्मीहरुले राम्रो भएको प्रतिक्रिया दिएका थिए । राजु निर्देशित यो फिल्म माघ २२ गतेदेखि अल नेपाल प्रदर्शन हुँदैछ ।

Post a Comment

 
Top