0
गोल्डेन न्यूज संवाददाता
कास्कीको लुम्लेमा गएको श्रावण १३ गतेको पहिरोमा परी ज्यान गुमाएका परिवारलाई कास्की आदर्श सेवा समाज दोहा कतार, दुवई तथा नेपाली फुटवल टिम कतारवाट शनिवार राहत वितरण गरिएको छ ।  लुम्लेमा आयोजित कार्यक्रममा पहिरोमा परि ज्यान गुमाएका २८ जना तथा घाईते र घरवारविहीन भएका १३ जना गरि ४१ जनाको परिवारलाई ८ हजार ५ सय रुपैयाँका दरले वितरण गरिएको थियो । पहिरोवाट क्षति पुगेका ज्ञानोदय प्राविलाई ७५ हजार तथा जनजागृति प्राविलाई ५५ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो । राहत वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति डण्डराज शर्माले विदेशी भूमिमा दुःख गरेर कमाएको केही रकम जम्मा गरेर आफ्नो गाउँ ठाउँमा परेको विपत्तिमा सहयोग गर्ने  समाजको कार्य प्रशंसनिय भएको वताए । सवैको सानो सानो सहयोगले गर्दा पनि पीडित परिवारलाई राहत पुग्ने हुँदा पहिरोमा परेर घरवार विहिन भएकाहरुलाई सक्दो सहयोग गर्नुपर्ने तथा गाउँको पुनःनिर्माण तुरुन्त गुनपर्ने धारणा शर्माको थियो ।
 
कास्कीबाट वैदेशिक रोजगारीको क्रममा कतार तथा दुवई पुगेका नेपालीहरुले सन् २००४ मा स्थापना गरेको कास्की आदर्श सेवा समाज दोहा कतारका अध्यक्ष आस वहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक सचिव तिलक सापकोटा, केन्द्रिय सदस्य रामवहादुर विक, कास्की आदर्श सेवा समाज दुवईका महासचिव मनोज शाही, सार्दिखोला सेवा समाजका अध्यक्ष सिर्जन तामाङ्ग, नेपाली फुटवल क्लव कतारका अध्यक्ष सञ्जिव रानाभाट,  संस्थाका केन्द्रिय सदस्य जीवन सुनार, पिडित परिवारका तर्फवाट स्थानिय टंकप्रसाद देवकोटा , संस्थापक सदस्य तथा कास्कीकोट सेवा समाजका पूर्व अध्यक्ष खिमवहादुर कार्की लगायतले वोलेका थिए । समाजले यसअघि पनि सार्दीखोलामा आएको वाढी पीडितहरुलाई १ लाख ४० हजार रुपैयाँ सहयोग गरेको समाजका संस्थापक सदस्य खिमवहादुर कार्कीले जानकारी दिए ।


Post a Comment

 
Top