0
गोल्डेन न्यूज संवाददाता
सन्तान नजन्मिएर तनावमा छटपटिएका वा छोरी मात्रै जन्मिएर छोराको रहर भएका दम्पतिहरुलाई लक्षित गरी पोखरामा पहिलो पटक अनौठो स्वास्थ्य शिविर हुने भएको छ । आसन्न जाडो मौसमको अवसर पारेर गर्न लागिएको उक्त शिविरको आयोजना स्पर्श आयुर्वेद अस्पताल र ऋषिमुनी अडिबुटी उद्योग प्रा.लि.ले गर्न लागेको हो । आयोजक कम्पनीका संचालकले बताए अनुसार सशुल्क शिविरको आयोजनामा मंसिर १० र गत पौष १० मा पोखराको न्यूरोड स्थित स्पर्श आयुर्वेद अस्पतालमा पहिलो र दोस्रो पटक परीक्षण गरि संचालन हुने भएको छ । पोखरामा पहिलो पटक हुन लागेको यस्तो अनौठो शिविर गण्डकी र धौलागिरी अञ्चलका निसन्तति दम्पतिहरु लाई लक्षित गरी राखिएको कुरा अस्पतालका बरिष्ट चिकित्सक डा.गोपिनाथ पौडेल बताउंछन् ।
 
आयुर्वेद पद्धति अनुसार उपचार हुने भए तापनि सन्तान नहुनाको कारणको पहिचानका लागि भने सन्तान नभएका श्रीमान श्रीमति दुवै जना उपस्थित हुनु पर्ने छ । परामर्श र परीक्षणका लागि सन्तानको ईच्छा भएका महिला वा पुरुष दुवैले चिकित्सक एवं बिशेषज्ञ संगसंगै वा अलग अलग भेट्न सक्ने छन् । स्वदेशी बिख्यात बिशेषज्ञहरु कै निगरानीमा सम्पन्न हुने उक्त शिवरमा पहिलो पटक बिदेशी ब्यक्तिहरुको समेत सहभागिता रहने छ । कम्पनीले जानकारी दिए अनुसार त्यसरी सन्तान हुंदै नभएका वा छोराको रहर भएका दम्पतिहरुलाई उपचार गर्नु पूर्व अत्याधुनिक ल्याव टेष्ट गरिने भएको छ । नेपालमा हुन नसक्ने ल्याव टेष्ट गर्नु परेमा बिदेशमा समेत पठाईने ब्यवस्था मिलाईएको अस्पतालले जानकारी दिएको छ । त्यसका अतिरिक्त सन्तान जन्माउन मद्दत गर्ने योगासन, प्राणायम, ध्यान बारे समेत उक्त अवसरमा जानकारी दिईने बताईएको छ । सबै भन्दा पहिले निसन्तति दम्पतिहरुलाई सन्तान जन्माउन बिशेषज्ञहरुबाट परामर्श थालिने छ र दुवै जनाकोे रगत, शुक्रकिट, अण्डा, पाठेघर, थाईराईट, बायप्सी  लगायतका आवश्यक पर्ने सम्पूर्ण जैविक परीक्षण गराईने छ । त्यसपछि नेपालमा पाईने दुर्लभ जडिबुटीका अतिरिक्त बिदेशबाट मगाउनु पर्ने महंगा जडिबुटी मिसाएर बनाईएका आयुर्वेदिक औषधिहरु बाट उपचार गरिने कुरा उपचारमा परामर्शका लागि आउने जडिबुटी बिशेषज्ञ धर्मराज पौडेलले बताएका छन् । नेपालका उच्च पहाड तथा हिमाली क्षेत्रबाट कैंयौ जडिबुटी तस्करी भएर बिदेशमा पुग्ने र त्यही जडिबुटीबाट बनेका महंगा औषधि हामीले खरिद गर्नु पर्ने बिडम्बना अवस्था हामी कहां रहेको बिशेषज्ञ पौडेलले गुनासो गरेका छन् । नेपालमा खेति नभएको दुर्लभ जडिबुटी एक नंबरी केशर जुन बजारमा पाईंदैन र पाईए पनि एक किलोको बीस लाख सम्म पछर्, त्यस्ता जडिबुटी समेत सेवन गर्न लगाउने उनले बताए ।
 
शिविरमा सन्तान जन्माउंछु भन्नेहरुका लागि भने महंगो पर्ने भएको छ । डा.पौडेल भन्छन् ‘दम्पतिको स्वास्थ्य परीक्षण अनुसार कठीन ल्याब टेष्ट गनु पर्दा र अति दुर्लभ जडिबुटीबाट बनेका औषधिहरु सेवन गर्नु पर्दा यस्तो महंगो पर्न जाने हो ।’ यद्धपि हेर्दा खेरी यो प्रबिधि महंगो हो, तर स्वदेशकै नाम चलेका ठूला अस्पताल र बिदेशका प्रयोगशालाको अतिरिक्त परामर्श एवं उपचारका दृष्टिले अत्यन्त सस्तो भएको दावी उक्त अस्पतालले गरेको छ । कतिपय नेपालीहरुले आफ्नो शारीरिक र मानसिक कमजोरीलाई लुकाएर गोप्य परीक्षण, परामर्श र उपचार गर्न भारतको नयां दिल्ली लगायतका महंगा अस्पतालमा खर्च गर्न गएको तथ्यांक समाचार पत्रहरुमा आएको कुरा ऋषिमुनी जडिबुटी उद्योगका प्रोपाईटर धर्ममहारस बताउंछन् ।



Post a Comment

 
Top