0
म्याग्दी जिल्लामा यस वर्ष मसालेदार फल टिमुरको उत्पादन घटेको छ । उत्पादन घटेपनि यसले बजार र मूल्य भने राम्रो पाएको छ । टिमुरको बोटमा फूल फुल्ने फागुन–चैतको याममा असिना परेकाले कम फल लागेको हो । असिनाले टिमुरको फूल झारेकाले उत्पादनमा ७५ प्रतिशतले कमी आएको जिल्ला वन कार्यालयले जनाएको छ । विगतका वर्षमा चार सय किलो टिमुर उत्पादन हुने ठाउँमा यसपाली मुस्किलले सय किलो सङ्कलन भएको टिमुरका अनुसन्धान कर्तासमेत रहेका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिए । जिल्लाको बेनी नगरपालीका ९ र १० वडामा पर्ने नेप्टेचौर, स्यानीखेत, काउलेगौँडा, तोरीपानीका साथै भगवती, नारच्याङ, वेग, पिप्ले, ताकम, दरवाङ र मुदी गाविसको १३.६१ हेक्टरमा टिमुर खेती भएको छ ।
 
मौसम अनुकूल भएको र असिना नपरेको अवस्थामा जिल्लाभर वार्षिक दुई हजार ६३ किलो टिमुर उत्पादन हुने सापकोटाले बताए । कात्तिक–मङ्सिर महिना टिमुर टिप्ने उपयुक्त समय हो । पकेट क्षेत्रका कृषक काँडाधारी बोटमा फलेको टिमुर सङ्कलन गर्न व्यस्त छन् ।     जिल्लामा सबैभन्दा धेरै टिमुर उत्पादन हुने बेनी नगरपालिका–१० तोरीपानीका कृषक सागर बानियाँले उत्पादन घटेकाले बीस किलो फल लाग्ने बोटबाट यसवर्ष पाँच किलोमात्रै सङ्कलन भएको बताए । उत्पादन घटेपनि टिमुर किन्नका लागि मुस्ताङ र बेनीका व्यापारी गाउँमै पुगेर खोसाखोस गर्ने गरेका छन् । “पहिले रु छ सय प्रतिपाथीका दरले बिक्री हुने टिमुरको मूल्य अहिले रु एक हजार २०० पुगेको छ” उनले भने । उत्पादन घटेकाले बजारको माग धान्न नसकेको उनको भनाइ छ । तोरीपानीमा वार्षिक एक हजार ५०० किलोसम्म टिमुर उत्पादन हुन्छ । तोरीपानीका एक सय घरधुरीले टिमुरको खेती गरेका छन् । टिमुरलाई न्यानोका साथै तरकारी, दाल र अचारमा मसला तथा जडीबुटीको रूपमा प्रयोग गरिन्छ ।
 
गाईवस्तुबाट खेतबारीमा लगाएको बाली जोगाउन बारको रूपमा लगाइने टिमुरको बजारमा माग बढेपछि व्यावसायिक खेती विस्तार भइरहेको छ । टिमुर खेतीको विस्तार र बजार प्रर्वद्धन गर्न म्याग्दी उद्योग वाणिज्य सङ्घले ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको छ । उत्पादन भएको टिमुर स्थानीय बजार, पोखरा, काठमाडौँ, चितवनका ठूला होटलका साथै जापान र जर्मनमा निकासी हुने गरेको बताइएको छ । रासस




Post a Comment

 
Top