0
गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत मधेसी दलका मागप्रति लक्षित गर्दै संविधानमा प्रस्तावित प्रदेशका सीमाहरु परिमार्जन गर्न सकिने बताएका छन् । उनले आइतबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै संविधान गतिशिल दस्तावेज भएकाले यसलाई परिमार्जन गर्न सकिने उल्लेख गर्देै वार्ताबाट समाधान खोज्न आन्दोलनरत दलको पुनः ध्यानाकर्षण गराएका छन् । सिमाकै बिषयलाई लिएर झण्डै तीन महिनादेखि मधेसी दलहरु आन्दोलनमा छन् । प्रधानमन्त्री ओलीले आन्दोलनरत दलहरुसंगको सहमतिकै आधारमा संविधान संशोधन गर्न सरकार तयार रहको उल्लेख गरेका छन् ।

जनचाहना, राष्ट्रिय हित र औचित्यका आधारमा संविधानमा संशोधन हुन सक्छ । त्यसरी नै, प्रस्तावित प्रदेशका सीमाहरू पनि आवश्यकता र अनुभवका आधारमा परिमार्जन गर्न सकिन्छ’ प्रधानमन्त्रीले भने,’तराई मधेशमा आन्दोलनरत दलहरूसँगको समझदारीका आधारमा संविधान संशोधन विधेयकलाई अगाडि बढाउन र प्रादेशिक सीमाको बारेमा छलफल र राजनीतिक सहमतिका आधारमा संविधानमा व्यवस्था गर्न सरकार तयार छ ।’ त्यसैले जारी वार्तालाई छिटो भन्दा छिटो परिणाममा पु¥याउन उनले आग्रह गरेका छन् । उनले आन्तरिक मामिला र मतभेदका विषयमा वाह्य पक्षको संलग्नता भित्र्याउदा सिर्जना हुनसक्ने जटिलता र यसका लागि चुक्ता गर्नुपर्ने मूल्यप्रति संवेदनशील हुन पनि आन्दोलनरत  दलहरुको ध्यानाकर्षण गराएका छन् । आन्दोलनले तराई–मधेसका सर्वसाधारण नागरिकलाई झनै पछाडि धकेलेको उल्लेख गर्दै त्रासदपूर्ण टीकापुर घटना र त्यसपछिका हिंसाको शृङ्खलामा परी सुरक्षाकर्मी सहित ४७ जनाको ज्यान जानुलाई दुस्खद स्थिति भनेका छन् ।  मृतकका परिवारलाई जनही रु.दस लाख प्रदान गर्ने, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने र गंभीर अपराधमा सङ्लग्न रहेकाहरु बाहेक अन्य सबैका मुद्दाहरू फिर्ता लिने प्रक्रिया प्रारम्भ भइसकेकोजानकारी सम्बोधन मार्फत् दिएका छन् । ‘यस्तो स्थितिमा, जनजीवनमा थप कष्ट नपु¥याउन, सामाजिक–साम्प्रदायिक सद्भाव खलबलिन नदिन र कुनै पनि प्रकारको अतिवादले खेल्ने ठाउँ नपाओस् भन्ने कुरामा सजग हुँदै आन्दोलनलाई स्थगित गरी वार्ताको माध्यमबाट समस्याको समाधानमा अर्थपूर्ण योगदानका लागि सम्बद्ध सबै पक्षलाई हार्दिक आहवान गर्दछु’ प्रधानमन्त्री ओलीको सम्बोधनमा छ ।
उनले छिमेकी भारतलाई समेत तत्काल नाकाबन्दी खुलाउन ध्यानाकर्षण गराएका छन् । नाकाबन्दीका कारण मुलुकमा चरम मानवीय संकट सिर्जना हुन लागेको चित्र प्रस्तुत गर्दै ओलीले यो घटनाले नेपाल र भारतबीच बर्षौदेखिको सम्बन्धमा समेत प्रभावित भएको उल्लेख गरेका छन् । नेपालमा मानवीय संकटको अवस्था आउन नदिन अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण गराएका छन् ।  भूकम्पका कारण थिलथिलो बनेको अर्थतन्त्रमा नाकाबन्दी र आन्दोलनले  झन् संकटपूर्ण अवस्थामा पु¥याइदिएको ओलीको सम्बोधनमा छ । झण्डै ४५ मिनेट लामो सम्बोधनमा ओलीले भुकम्प र नाकाबन्दीको कारण सिर्जित समस्या, नेपाल भारत सम्बन्धमा उत्पन्न चिसोपन, चीनिया नाका खोल्नेदेखि फ्रान्सको पेरिसमा भएको आतंकवादी आक्रमण सम्मका बिषयलाई छोएका छन् । सरकारका प्राथमिकताका क्षेत्रमा परेका नवीकरणीय उर्जा उत्पदानदेखि काठमाडौंमा मेट्रो रेल चलाउने सम्मका प्रसंग प्रधानमन्त्रीको सम्बोधन छन् । सिमा  सामान रोकिदा  इन्धन र औषधि समेतको अभाव भई बिरामीहरूको जीवन जोखिममा परेको रगत सङलन गर्ने प्याकेटहरूको कमीले ब्लड बैङहरूमा रगतको अभाव भएबाट सुत्केरी र शल्यक्रिया गर्नुपर्ने विरामीहरु उच्च जोखिममा प्रधानमन्त्रीले बताएका छन् ।
 
उनले नयाँ संविधानले सबै जाती भाषा, क्षेत्र लिंङ्ग नागरिकका अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै तर यो विभेदकारी छ भन्ने अपव्याख्या गरेर निहित राजनीतिक अभिष्ठ पूरा गर्न खोजिएको टिप्पणी गरेका छन् । कुनै समूदाय बिषेश भएकै कारण संविधानले विभेद गरेको छ भनेर आरोप लगाउनु याता संविधानको अध्ययन नै नगरेको स्थिति हो या राजनीतिक सुनिनियोजित रुपमा संविधानको अपव्याख्या गरेर निहित राजनीतिक अभिष्ट पुरा गर्न खोज्नु हो ।’  निर्माण प्रक्रिया र अन्तवस्तु दुबै दृष्टिकोणबाट नेपालको संविधान कुनै पनि लोकतान्त्रिक देशको संविधानसंग तुलना गर्दा उत्कृष्ट रहेको ठोकुवा ओलीले गरेका छन् । तर संविधान जारी गरेकै कारण नाकाबन्दीको अवस्था व्योहोर्नु परेको ओलीले भनाई छ । ‘एउटा सार्वभौम राष्ट्रले, व्यापक जनसहभागिता र लोकतान्त्रिक विधि अनुरुप, जननिर्र्वािचत समावेशी संविधान सभाद्वारा, प्रगतिशील, जनमुखी र लोकतान्त्रिक अन्तरवस्तुसहितको संविधान जारी गर्दा यति कष्ट, पीडा र नाकाबन्दी जस्तो अमानवीय व्यवहारको सामना गर्नु पर्ला भन्ने कुरा आजको एक्काइसौं शताव्दीमा कल्पना पनि गर्न सकिने कुरा होइन’ ओलीको सम्बोधनमा छ । सम्बोधनमा धेरैपटक नकाबन्दी र भारतीय पक्षबाट भएको व्यवहारको प्रसंग जोडिएको प्रधानमन्त्री ओलीको सम्बोधनले नेपाल र भारतबीच  धेरै चिसोपना बढेको संकेत गरेको छ ।  ‘विभिन्न बहानामा नेपाल–भारत सीमा नाकामा आयात–निर्यात अवरुद्ध गरिँदा आज नेपालले गम्भीर मानवीय सङटको सामना गर्नुपरिरहेको छ । इन्धन, औषधि, खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरु बोकेका सयौं ट्रकहरू भारततर्फको सीमाक्षेत्रमा रोकिएका छन्’,‘युद्धको बेलामा समेत हुननहुने सङट देखा परेको छ । भूकम्पले विनाशको पीडा भोगेको देशमाथि भएको यस्तो व्यवहारलाई मानवीय संवेदना भएको जो कोहीले पनि दुःखद र अमानवीय भन्नैपर्ने हुन्छ ।’ अघोषित नाकाबन्दी सबै अन्तराष्ट्रिय कानून सन्धी सम्झौता र बडापत्रहरुको विरुद्ध रहेको ओलीको भनाई छ । ‘दक्षिणी सीमानामा भएको अघोषित नाकाबन्दीबाट स्वतन्त्र राष्ट्रको सार्वभौमिकताको सम्मान गरिनुपर्ने संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्तहरू, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको बडापत्र एवं समुद्री कानुनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धीले प्रत्याभूत गरेको भूपरिवेष्ठित राष्ट्रहरूको पारवहन अधिकार, नेपाल–भारतबीच भएका व्यापार र पारवहन सन्धी एवम् दुई देशबीच युगौं पुरानो मित्रतापूर्ण सम्बन्ध तथा दुई देशका जनताको भावनाको अवमूल्यन र उल्लङ्घन भएको छ’ ओलीले भनेका छन् । अग्रीम रकम भुक्तानी भइसकेको पेट्रोलियम पदार्थ समेत आपूर्ति नगर्ने भारतीय आयल निगमको व्यवहारले व्यापार सम्बन्धको सामान्य संहिताको समेत उल्लंघन भएको  टिप्पणी प्रधानमन्त्रीले गरेका छन् । ‘नेपाली भूभागमा अबरोध भयो भनिएको स्थानबाट मात्र हैन, कुनै सुरक्षा समस्या नभएको स्थानबाट समेत आपूर्ति सुचारु नहुनुले मलाई विस्मित तुल्याएको छ’ ओलीले भनेका छन्,‘ यस स्थितिले नेपाल र भारतका बीच रहेको सुमधुर सम्बन्ध अप्रिय भएकोमा कुनै शंका छैन ।’  यसबाट कसैको पनि हित नहुने भएकोले यस्तो अवस्था लामो समयसम्म नरहने र दुई देश बीचको समझदारीबाट पूर्ववत् स्थिति कायम हुनेछ अपेक्षा आफूले गरेको ओलीको सम्बोधनमा छ ।  सम्बन्ध पुरानै स्थितिमा पुर्रुयाउन प्रयत्न जारी रहेको र यो काममा सहयोग गर्न भारतको सरकारलाई पनि ओलीले आग्रह गरेका छन् । विगतमा भएका त्रुटिपूर्ण निर्णय र  मित्रराष्ट्रहरुसंगको सम्बन्ध सञ्चालनमा रहेका समस्या तथा अल्पविकासका कारण नेपार धेरै  परनिर्भर हुनुपरेको अवस्था ओलीले चित्रण गरेका छन् । ‘आत्मनिर्भरता होइन परनिर्भरता र सन्तुलित एवं विविधतापूर्ण व्यापार सम्बन्ध होइन, असन्तुलित र एकतर्फी व्यापार सम्बन्ध हामीले भोग्दै आएको ‘नियति’ रहेछ भन्ने कुरा यस घटनाले स्पष्ट पारेको छ’  प्रधानमन्त्री ओलीले भने,‘ यसबाट अब हाम्रा आँखा खुल्नुपर्छ र पाठ सिक्नुपर्छ । यस ‘नियति’ लाई अवसरमा बदल्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने तर्फ लाग्नु हाम्रो प्रमुख दायित्व हुनेछ ।’ विगतको अवस्थालाई बदल्नलाई नै चीन तर्फको व्यापारिक सम्झौता अघि बढाएको ओलीले उल्ले गरेका छन् । संकटको अवस्थामा चीनले इन्धन सहयोग गरेकोमा धन्यवाद दिदे ओलीले सदियौंदेखि व्यापारिक साझेदार रहंदै आएको चीनसाग समयानुकूल व्यापार विस्तार गर्दै नेपाललाई आवश्यक पर्ने पेट्रोलियम पदार्थ लगायतका वस्तुहरु आयात गर्ने दिशामा प्रयास गर्ने प्रतिबद्धता जनएका छन् । चीनसंग जोडिएका नेपाल तर्फका सडक स्तरोन्नति गर्ने र पेट्रोलियम पदार्थको आयातका लागि अन्य मित्र राष्ट्रहरूसँगको पहललाई अघि बढाउने काम भइरहेको जानकारी  प्रधानमन्त्री ओलीले दिएका छन् ।
 
चीनसंगको व्यापार अघि बढाउने बिषय कुनै  देशविरुद्ध लक्षित नभएको भन्दै ओलीले स्पष्टीकरण दिएका छन् । ‘यो निर्णय कुनै देशका विरुद्ध लक्षित होइन,  नेपालको व्यापार सम्बन्ध लाई विविधतायुक्त र सन्तुलित बनाउने कदम हो’ उनले भने,‘ नेपाल अहिले व्यापार घाटा र असन्तुलनको भारीले थिचिएको छ । हामी मित्र राष्ट्र भारतसँग  भूपरिवेष्ठित राष्ट्रका हैसियतले समुद्रसम्मको पहुँचको हक तथा निर्वाध पारवहन अधिकार कुण्ठित नहुने र वस्तुहरूको आयात निर्यातमा कुनै प्रतिकूल असर नपर्ने गरी दुई देशबीच ऐतिहासिक सम्बन्धलाई विकास गर्न चाहन्छौं ।’ भारत र चीन लगायत सबै मित्र राष्ट्रहरूसाग संयुक्त राष्ट्र संघको बडापत्र र पञ्चशीलका सिद्धान्तको आधारमा पारस्परिक समानता र हितको नीति अनुरुप सुमधुर सम्बन्ध राख्न चाहेको ओलीले उल्लेख गर्दै कुनै पनि प्रकृतिका आपसी असमझदारी वार्ताको माध्यमद्धारा हल गर्न सकिने बताए । मुलुकहरू जनसङ्ख्या या भूगोलका आधारमा ठूला या साना भए पनि  सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमान सानो या ठूलो हुन  नसक्ने भन्दै ओलीले मित्रराष्ट्रहरुको ध्यानाकर्षण गराएका छन् । ‘हाम्रो   सार्वभौम सत्ताको कदर होस्, नेपाली जनताले आफ्ना लागि संविधान बनाउने लगायत आफ्ना मुद्दाहरूको फैसला आफै गर्न पाउने अधिकार र नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान होस् । नेपालले त्यो भन्दा बढी या त्यो भन्दा कम केही चाहेको छैन’ ओलीले भनेका छन् ।
 
सरकारको नीति तथा कार्यक्रममा आउनेखालका बिषयहरु समेत समेटिएको सम्बोधनमा एकबर्ष्भित्र लोडसेडिङ अन्त्य गर्ने, काठमाडौमा मेट्रो रेल चलाउन सम्मका महत्वकांक्षी योजनाहरु पनि ओलीले सुनाउन भ्याए । तर संगसंगै उनले आत्मनिर्भर खालको अर्थतन्त्र विकासमा अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाए । संकटपूर्ण घडीमा जनताले धैर्य देशभक्ति राष्ट्रिय स्वाभिमान प्रदर्शन गरेको भन्दै ओलीले प्रसंशा गरेका छन् । ‘हरेक राष्ट्रका अगाडि इतिहासमा यस्ता चुनौती आउँछन्, जसलाई पार गरेर नै कुनै पनि राष्ट्र स्वाभीमानी, आत्मनिर्भर, राष्ट्रिय मनोबल र गरिमायुक्त बन्दो रहेछ । नेपाल आज इतिहासको यस्तै कालखण्डबाट गुज्रिरहेको छ’ ओलीले भने,–‘मलाई विश्वास छ, तपाईहरुको गहिरो विश्वास र मित्र राष्ट्रहरूको साथ र समर्थनमा आज हामीले भोगिरहेको यस सङटमाथि विजय प्राप्त गर्न सक्नेछौं ।’


Post a Comment

 
Top