0
गोल्डेन न्यूज संवाददाता
पेट्रेलियम पदार्थको अभाव भएपछि सरकारी अधिकारी र स्थानीय प्रशासनले बेवास्ता गरेपछि  सार्वजनिक यातायात व्यवसायीहरु ले तत्कालै भाडा वृद्धि गर्ने चेतावनी दिएका छन् । करिब २ महिना यता पेट्रोल र डिजेलको आपूर्तिमा असहज अवस्था आएपछि यातायात व्यवसायीहरुले समस्या भोग्नु परेको छ । यसैकुरालाई ध्यानमा राखेर आफूहरुले भाडा बढाउन लागेको पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा यातायात व्यवसायी संस्थाका प्रतिनिधिहरुले जानकारी दिए । पत्रकार सम्मेलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पश्चिमाञ्चल क्षेत्रीय संयोजक धर्मराज अधिकारी, पृथ्वी राजमार्ग बस संचालक समितिका अध्यक्ष ऐनकुमार साइ र समितिका सचिव योगेन्द्र कुमार केसी लगायतले राज्यले हवाइ इन्धनको अभाव हुँदा विमान संचालन गर्ने कम्पनीलाई ३० प्रतिशत भाडा वृद्धि गर्न स्वीकृत दिएका कारण यातायात व्यवसायीलाई पनि ३० प्रतिशत भाडा वृद्धि गर्न स्वीकृत दिनुपर्नेमा जोड दिएका थिए ।
व्यवसायीले डिजेलको साविक मूल्य भन्दा तेब्बर र पेट्रोल चारगुणा बढी मूल्यमा खरिद गरेर यातायात सेवा संचालन गर्नुपरिरहेको भएपनि राज्यले भाडा वृद्धि गर्न नदिएको बताउँदै उनीहरुले यातायात व्यवसायलाई धराशायी बनाउन सरकारी अधिकारीनै लागेको आरोप लगाए । आगामी १ साताभित्र पनि इन्धन सहज आपूर्ति नभएमा अर्थात व्यवस्थित वितरण गर्न स्थानीय प्रशासन र सरकारले वेवास्ता गरेमा ३० प्रतिशत भाडा वृद्धि गरिने उनीहरुको भनाइ थियो ।
पेट्रोलियम पदार्थको अभाव भएपछि कतिपय यातायात व्यवसायीले भने प्रचलित भाडामा शतप्रतिशत वृद्धि गरि यात्रुलाई मारमा पारेको गुनासो बढेपछि ट्राफिक प्रहरीले समेत कार्वाही शुरु गरेको थियो । पोखराबाट काठमाडौं जाने बसले ५ सय रुपैयाँको सट्टा १ हजार रुपैयाँ लिएर यात्रु बोकेपछि पोखरामा नै केही बस ट्राफिकले नियन्त्रणमा लिएको थियो भने पृथ्वी राजमार्गको गजुरीमा रहेको प्रहरीले १० वटा भन्दा बढी बसका यात्रुसंग लिएको बढी भाडा फिर्ता गरेको थियो । यसरी यातायात व्यवसायीले दोब्बर भाडा अशुल्दै आएको भएपनि पृथ्वीराजमार्ग बस संचालक समितिका अध्यक्ष साइले भने आप्mनो समिति अन्तर्गत चल्ने बसले काठमाडौं जाने यात्रुसंग १ सय रुपैयाँ भन्दा बढी भाडा नलिएको दावी गरे । लामो रुटमा चल्ने बसमा भने यात्रुको भाडा वृद्धि नगरिएको उनको दावी छ । साइका अनुसार हालको इन्धन अभावको मार सबैभन्दा बढी गण्डकी र धवलागिरि अञ्चलका व्यवसायीलाई परेको छ । अन्य जिल्लामा प्रमुख जिल्ला अधिकारीले समन्वय गरि इन्धनको वितरणलाई व्यवस्थित गरेको तर गण्डकी र धवलागिरिमा भने त्यस्तो अवस्था नरहेको भन्दै स्थानीय प्रशासनको आलोचना समेत व्यवसायीले गरेका छन् । पृथ्वीराजमार्ग बस संचालन समितिका अध्यक्ष ऐनकुमार साइले सहज अवस्थामा पोखराबाट देशका विभिन्न स्थानमा जानका लागि ३४० वटा बसहरु छुट्ने गरेकोमा हालको असहज अवस्थामा करिब १०० वटा बसहरु पोखराबाट विभिन्न स्थानमा जाने गरेको बताए । यसरी बसको संख्या घटेपनि तिनलाई आवश्यक पर्ने इन्धन प्रशासनले व्यवस्था गर्न नसकेपछि यातायात व्यवसायी स्वयंले नै चर्को मूल्यमा खरिद गर्नुपरेको कारण बसभाडा बढाउनुपर्ने बाध्यता सृजना भएको उनले बताए ।
अन्य जिल्लामा प्रमुख जिल्ला अधिकारी वा प्रशासनका मान्छेहरुले सार्वजनिक सवारी साधनका लागि डिजेल र पेट्रोलको वितरणलाई व्यवस्थित गरेको भएपनि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत प्रशासनिक अधिकारीहरुले वेवास्ता गर्दा यातायात व्यवसायी मर्कामा परेको अध्यक्ष साइको गुनासो थियो । समितिका सचिव योगेन्द्र केसीमा अनुसार पोखराबाट संचालन हुने सवारी साधनका लागि दैनिक २७ हजार ५ सय लिटर डिजेल आवश्यक पर्ने गरेकोमा हाल आफूहरुले १२ हजार लिटर डिजेलको व्यवस्था गर्न प्रशासन संग माग गरेको बताए । ‘हामीले मागेजति डिजेल दिने हो भने भाडा वृद्धि नगरिकन सामान्य अवस्थामा सवारी साधन संचालन गर्न सक्ने थियौ तर नपाएपछि भाडा वृद्धि गर्नुपर्ने बाध्यता आइ परेको हो’–सचिव केसीले भने ।
पत्रकार सम्मेलनमा यातायात व्यवसायी महासंघका क्षेत्रीय संयोजक धर्मराज अधिकारीले इन्धन वितरण प्रक्रियामा प्रशासनले सुधार नल्याउने हो भने आफूहरुले ३० प्रतिशत भाडा वृद्धि गरि सेवा संचालन गर्न बाध्य हुने चेतावनी दिए । भाडादर वृद्धि गर्दा राज्यले अनावश्यक दुःख दिने र यातायात व्यवसायीलाई कार्वाही गर्ने हो भने आफ्ना सवारी साधन घर, ग्यारेज र सडकमा खडा गर्न आफूहरु बाध्य हुने उनले बताए । आम यातायात व्यवसायी, मजदूर र सर्वसाधारणलाई सडकमा उत्रिनुपर्ने अवस्था आइसकेको भन्दै अधिकारीले जारी गरेको विज्ञप्तिमा गण्डकी र धवलागिरि अञ्चलका सवारी साधनलाई पनि अन्य जिल्ला र अञ्चलमा जस्तो अत्यावश्यक सेवाको रुपमा राखी कोटा प्रणाली अनुसार इन्धन वितरण गर्न आग्रह गरिएको छ ।  

यातायात असुविधाले पोखरामै छठको तयारी

दसैँ तिहारपछि नेपालीले मनाउने प्रसिद्ध चाडमध्येको छठ मनाउन पोखरामा पनि तयारी गरिएको छ । दीपावली तथा छठका अवसरमा धेरै तराई समुदायमा बसोबास गर्ने व्यक्ति विगतका वर्षमा घर फर्कने गरे पनि यस वर्ष यातायातको असहजताका कारण पोखरामै छठ मनाउने तयारी गरेका हुन् । विगतका वर्षमा दीपावलीसहित छठ मनाउन तराई स्थायी बसोबास भई पोखरामा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्ति आ–आफ्ना घर जाने गरे पनि यस वर्ष भने यातायातको असहजताका धेरै व्यक्ति पोखरामा नै रहेको वीरगन्ज घर भई पोखरामा तरकारीको व्यापार गर्दै आएका रामचन्द्र ठाकुरले बताए । केही वर्षयता घर जान नसक्नेले पोखराको बगर, रामबजार, लेखनाथको पशुपति घाटलगायतका स्थानमा अस्थायीरुपमै भए पनि छठी घाटको स्थापना गरी छठ मनाउने गरेका छन् । उनले यस वर्ष पनि धेरै तराई समुदायका व्यक्तिले पोखरामा नै छठ मनाउने तयारी गरेको जानकारी दिए । पछिल्लो वर्षमा तराई समुदायका व्यक्तिमात्र नभएर पोखरा र यस आसपासमा बसोबास गर्ने अन्य व्यक्तिले पनि छठ मनाउन थालेको उनको भनाइ छ । उनका अनुसार छठमा षष्ठी भगवतीको पूजा अर्चना गरी परिवारको कल्याणको कामना गरिन्छ । छठ पर्वमा कात्तिक शुक्ल पञ्चमीका दिनदेखि व्रत बस्ने व्यक्तिले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर पकाई प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने प्रचलन रहेको ठाकुरले बताए । प्रचलित संस्कृतिअनुसार कात्तिक शुक्ल षष्ठी (छठ)का दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनःअर्घ दिएपछि विधिवत् रुपमा छठ समाप्त हुन्छ ।



Post a Comment

 
Top