0
गोल्डेन न्यूज संवाददाता
कास्की ल्वाङ्घलेल–४ लुम्रेका स्थानीय वासिन्दाहरू यतिखेर सामुदायिक भवन निर्माणमा लागिरहेका छन्। स्थानिय समाजसेवी झुलु गुरुङ र दुर्गाबहादुर बुढाथोकीले दिएको पाँच आना जग्गामा ल्वाङ्घलेल वासीहरूले लुम्रे सामुदायिक भवन तथा कृषि सङ्कलन केन्द्र निर्माण गर्न थालेका छन् । उक्त भवनका लागि हालसम्म स्थानीय गाउँलेहरूले जनश्रमदान र स्वेच्छिक सहयोगबाट नै निर्माण थालेको भवन निर्माण समितिका अध्यक्ष कृष्ण प्रसाद दाहालले जानकारी दिए। हालसम्म उक्त भवनका लागि मर्दीखोला समाज युकेका अध्यक्ष रामचन्द्र गुरुङबाट ५० हजार, ल्वाङ्घलेल गाविसबाट ५० हजार, मिर्मिरे आमा समूह ल्वाङ्घलेलबाट एक लाख ५६ हजार, बजार व्यवस्थापन समिति ल्वाङ्घलेल लुम्रेबाट ४१ हजार र प्रकोप व्यवस्थापन समिति ल्वाङ्घलेल लुम्रेबाट ३९ हजार सहयोग आएको समितिका कोषाध्यक्ष हिमबहादुर गुरुङले बताए। उक्त भवन निर्माण सम्पन्न गर्नका लागि झण्डै १५ लाखको लागत लाग्ने भएकाले स्थानीय समाजसेवी, बुद्धिजीवि, राजनीतिकर्मीहरूलाई पनि यथाशक्य सहयोग गर्नका लागि समितिले अपिल गरेको छ। यही आर्थिक वर्ष भित्र सभाहल, कार्यालय र ट्रस्टसहितको भवन निर्माण सम्पन्न गर्ने उद्देश्य समितिले राखेकाले सम्पूर्ण सहृदयी दाताहरूलाई धन, मन र बचनले एकवद्ध भएर उक्त भवन निर्माण सफल पार्नका लागि समितिका अध्यक्ष दाहालले अनुरोध गरेका छन्।


Post a Comment

 
Top