0
गोल्डेन न्यूज संवाददाता
भारतीय नाकाबन्दीले पेट्रोलियम पदार्थ तथा ग्यासको चरम अभाव भईरहेका बेला कालाबजारी पनि उत्तिकै भईरहेको छ । मुलुक संकटमा परेको बेला केहि व्यक्तिहरु लाखौं कमाउने ध्याउन्नमा मिसावट नै गरेर तेब्बर मुल्यमा तेल कारोबारमा संलग्न छन् भने प्रहरी, जिम्मेवार कर्मचारी समेत कालाबजारीमा संलग्न भएको  सार्वजनिक भईरहेका छन् । पहुँच नभएका सर्वसाधारण जनताले नाकाबन्दीको सास्ती खेपिरहँदा प्रशासन समेत कालाबजारी नियन्त्रणमा लागेको छैन । पेट्रोल पम्पहरुमा आफूखुशी ईन्धन बाँडिरहेको खबर आईरहेका छन् । उपभोक्तालाई बाँड्नुपर्ने ग्याँस समेत डिपोबाटै हराएको पाईएको छ । शक्ति कम्पनीका साढे चार सय सिलिण्डर ग्याँस एकाएक गायब छन् । उपभोक्तालाई सार्वजनिक सुचना जारी गरेर ग्यास बितरण गरिने आपूर्ति समितिको निर्णय विपरीत ग्यास सिलिण्डर गायव भएपछि उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले जानकारी दिए । ‘आपूर्ति समितिमा छलफल गरेर सार्वजनिक सूचना जारी गरी ग्याँस वितरण गर्ने भनिएपनि जानकारी नै नदिई चार सय ५० सिलिण्डर ग्याँस गायब छ ।’ कोईरालाले भने–‘यस्ता अभावको उत्कर्षमा रहेको बेला उपभोक्ता ग्यासको लागि तड्पिरहेका छन् । जनता झुक्याउने खेल भएको छ ।’ पोखरामा बितरणको तयारी गरिएका सिलिण्डर गायव भएपछि ग्याँस बितरण हुने–नहुने अन्योल भएको उनले बताए । आफूहरुले हराएका सिलिण्डरहरुकोे विवरण खोजी बाहिर ल्याएरै छाड्ने कोईरालाले बताए । तर, केहि घण्टा पछि नै कोईरालाले आफ्नो बोली फेरेका छन् । उनले गायव पारेको नभई निर्णय अनुसार नै स्थानीयका लागि छुट्टाईएको भन्दै कुरा फेरेका हुन् । आईतबार गृहलक्ष्मी र शक्ति ग्याँसका सिलिण्डर साटिने उनले जानकारी दिए । तर यस विषयमा प्रशासनले सूचना जारी गरेको छैन । गत कार्तिक १८ मा पनि जानकारी नै नगराई गृहलक्ष्मी कम्पनीका आधा परिमाणका ग्याँस साटिएकोमा सर्वसाधारणले गुनासो गरेका थिए । दुई कम्पनीका ग्याँस कहाँ बाडिन्छ ? भन्ने प्रश्नमा मञ्चका अध्यक्ष कोईरालाले भने स्थानबारे भन्न नमिल्ने बताए । प्रशासनले समेत सर्वसाधारणलाई सूचना नगरिरहेको बेला उपभोक्ताकै नेताले स्थान भन्न नमिल्ने बताउनु आफैंमा रहस्यमय छ । उपभोक्ता मञ्च उपभोक्ताको हक हितमा लाग्नुपर्ने हो तर सर्वसधारण कृत्रिम अभाव, कालाबजारीको मारमा पर्दा समेत उपभोक्ता मञ्च सक्रिय बनेको देखिदैंन । सिलिण्डर कुन प्रयोजनका लागि गायब भएको वा छुट्टाईएको भन्ने विषयमा शक्ति ग्यास कम्पनीका महाप्रबन्धक मेघराज पौडेलसंग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।
यसैबीच कास्की जिल्लामा लामो समयदेखिको एलपी ग्याँसको अभाव भैरहेको परिस्थितिमा मध्ये नजर गर्दै आइतबार शक्ति र गृहलक्ष्मी ग्याँस वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालले शनिबार राति १०ः३० बजे विज्ञप्ति जारी गर्दै आइतबार दुवै कम्पनीका गरि ७ हजार ९ सय १४ सिलिण्डर वितरण गरिने जनाएको छ । जिल्ला प्रशासनले दिएको जानकारी अनुसार ग्यास वितरण हुने स्थानको नजिकको विक्रेताहरुकोमा कम्पनीको तर्फबाट झर्ने सिलिण्डर एकमुष्ट रुपमा झारिने छ ।  त्यसपछि सम्बन्धित बिक्रेताहरुले स्थानीय टोल सुधार समिति, आमा समूह, उपभोक्ता मञ्च, समावेशी तथा नागरिक समाजका प्रतिनिधिहरुको समेत उपस्थितिमा ग्यास वितरण गरिने छ । एक परिवारमा एक मात्र सिलिण्डर पर्ने गरी सम्बन्धित कम्पनीको खाली सिलिण्डर लिई लाइनमा बस्ने पहिले आउने व्यक्तिले पहिले पाउने गरी ७.१ के.जी. तौलको सिलिण्डर विक्री ग्राहकको नाम, ठेगाना लेखी हस्ताक्षर सहितको अभिलेख राखी वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ग्यास वितरण गर्न कम्पनीको कार्यालयबाट वितरण केन्द्रसम्मको ढुवानी तथा वितरण स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी वलबाट समन्वयात्मक रुपमा सुरक्षाको प्रवन्ध मिलाउने बताइएको छ ।
यसैबीच प्रशासन कार्यालयले सूचना जारी गर्नु करिब ४ घण्टा अगावै सम्बन्धित ग्यास विक्री केन्द्रमा सयौंको मात्रामा सिलिण्डर थुप्रिएका छन् । आइतबार शक्ति र गृहलक्ष्मी ग्यासमात्र वितरण हुने भनिएपनि उपभोक्ताले सबै प्रकारका सिलिण्डर लिएर लाइनमा बसेका छन् । उपभोक्ता ग्यास पाउने आशमा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा एकसाता देखि नै लाइनमा बस्दै आएका थिए । सम्बन्धित ग्यास विक्री केन्द्रबाटै वितरण हुने सूचना पाएपछि उपभोक्ताहरु हतार–हतार विक्री केन्द्र तर्फ लागेका थिए ।



Post a Comment

 
Top