0
गोल्डेन न्यूज संवाददाता
 भारतीय नाकाबन्दी संगै बजारमा मानिसको चहलपहलमा आएको कमी र नेपालीका महान चाडपर्वका कारण विभिन्न संघ संस्थाले रक्तदान कार्यक्रम सञ्चालन नगर्दा पोखरामा ए पोजेटिभ रगतको अभाव भएको छ । चाडपर्वले झण्डै २ महिनाको समय खर्चिने र चाडपर्वको धूमधाम संगै खेतिवाली थन्क्याउन ब्यस्त हुने हँुदा विगतका बर्षहरुमा जस्तै यसवर्ष पनि  पोखरामा रगको कमी भएको हो । रगतमध्ये सर्वसुलभ रुपमा धेरै मानिसमा पाईने ए पोजेटिभ ग्रुपको रगत भएपनि बिभिन्न अस्पतालहरु मा अप्रेशन गराउने बिरामीदेखि दुर्घटनामा पर्ने हरु समेत धेरै हुने हुदा उक्त ग्रुपको रगतको माग समेत उच्च हुने गरेको हो । पोखरामा लामोसमयदेखि बिभिन्न संघ संस्थाले आफ्नो बार्षिक कार्यतालिकामा नै रक्तदानलाई उच्च प्राथमिकतामा राखेर रक्तदानका कार्यक्रम सञ्चालन गर्दै आएको भएतापनि चाडवाड, नाकाबन्दी र खेतिपाती थन्काउने मौसमका कारण कार्यक्रम सञ्चालनमा कमी आए संगै पोखरामा रगको अभाव हुन थालेको हो । रगतको अभाव हुने अवस्था आएपनि रगत अभावको करणले अपे्रसन र उपचार भने प्रभावित नभएकोे क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराले जनाएको छ । केन्द्रका प्रमुख ध्रुव लामिछानेका अनुुसार चाडवाड र बर्षा यामका कारण रक्तदान कार्यक्रम कम मात्रामा सञ्चालन भएकाले केन्द्रमा रगतको अभाव हुन थालेको हो ।  ‘यस क्षेत्रमा रहेका संघ–संस्थाहरुले चाडपर्व, बर्षा याम भएकाले आफ्नो रक्तदान कार्यक्रमहरु सञ्चालन नगरेकाले रगतको अभाव हुन गएको छ’–उनले भने ।
 
अभाव पूर्तिगर्न तत्कालै संघ–संस्थालाई आग्रह गरेर रक्तदान कार्यक्रम सञ्चालन गरिने उनले बताए । बढ्दो शहरिकरण र चेतनाको विकाससंगै बिरामी अस्पताल आउनेक्रम बृद्धि भएपछि पोखरा क्षेत्रमा दैनिक ८० युनिट रगत आवश्यक पर्ने गरेको बताइन्छ । तर अहिले रक्त सञ्चार केन्द्र संग सीमित संख्यामा मात्र रगत रहेकाले तत्कालै रक्तदान कार्यक्रमहरु सञ्चालन गर्न केन्द्रले नियमित रक्तदान कार्यक्रम गर्दै आएका पोखराका लायन्स क्लव लगायतका ठूला संघ–संस्थाहरुसंग आग्रह गरिने लामिछानेले बताए ।
 
पोखरामा प्रमुख कार्यक्रमका रुपमा सञ्चालन गर्दै आएको लायन्स क्लव इन्टरनेशनल ३२५ बी १ नेपालका रक्तदान चियर पर्सन किशोर बरालले पोखरामा भएको रगको अभावलाई कम गर्न पोखरामा रहेको ८० वटा क्लवहरुलाई आग्रह गर्ने बताए । उनले भने–‘अहिलेसम्म ५ महिनाको समयमा क्लवहरुले ७ सय ५० युनिट रगत संकलन गरिसकेको छ, अव रक्तदान गर्न प्रतिबद्धता जनाएको दर्जनौं क्लवहरुलाई आग्रह गरेर लायन्सले पोखरामा भएको रगतको अभावलाई निर्मूल पार्छ ।’ पोखरामा सवै भन्दा बढी ए पोजेटिभ, एबी पोजेटिभ, बि पोजेटिभ, ओ पोजेटिभ, बी नेगेटिभ, ए नेगेटिभ, एबी नेगेटिभ रगतको नियमित आवश्यक पर्ने गरेको छ । यसमध्ये पनि प्रायःजसो नेगेटीभ ग्रुपको रगरको सधैं नै अभाव हुने गरेको छ । 

अति नै नगन्य मानिसहरुमा नेगेटिभ ग्रुपको रगत हुने भएकाले सो ग्रुपको रगत अभाव  हुने गरेको छ । बिरलै मात्र पाइने भएकाले रक्त सञ्चार केन्द्रको सम्पर्कका आएका नेगेटिभ रक्त समूहका मानिसको नाम लिस्ट र फोन नम्वर केन्द्रले संकलन गरेर समस्या परेको बेला रक्तदातालाई फोनबाट आग्रह गरेर बिरामीको जीवन बचाउने गरिएको केन्द्रले जनाएको छ । नेपाल रेडक्रस सोसाईटी र रक्त सञ्चार केन्द्रमार्फत पोखरामा नियमित २ सय ५० भन्दा बढी बिभिन्न संघ संस्थाहरुले रक्तदान कार्यक्रम सञ्चालन गदै आएका छन । त्यसमध्ये यस क्षेत्रमा ८० भन्दा धेरै लायन्स क्लवहरुले आफ्नो बार्षिक कार्यतालिका नै तयार पारेर रक्तदान गर्दै आएका छन ।




Post a Comment

 
Top