0
गोल्डेन न्यूज संवाददाता
पोखरा १५ कार्तिक ।
स्याङ्जा जिल्लामा जन्मिएर पोखरालाई कर्मथलो बनाइ पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशिल असफल गौतम काठमाडौंमा सम्मानित एवं पुरस्कृत भएका छन् । विशेषगरि हाइकु विधामा लामो अनुसन्धान र कलम चलाउँदै आएका उनी पाँच हजार नगद पुरस्कार र सम्मानपत्र सहित सम्मानित भएका हुन् । असफल हाल पोखराको आदर्श समाज दैनिक र विभिन्न साहित्यिक संघ–संस्थामा आवद्ध छन् । उनी स्रष्टा साहित्य चौतारी सम्मानबाट सम्मानित भएका हुन् । कार्यक्रममा उनीसंगै अन्य ५ स्रष्टाहरू समेत सम्मानित भएका छन् । काठमाडौंमा हालै आयोजित एक समारोहका बीच असफल सहित अन्य ५ स्रष्टाहरूलाई सम्मान गरिएको हो । साहित्य संगालो डटकमले सञ्चालन गर्दै आएको स्रष्टा साहित्य चौतारी सम्मानबाट यस वर्ष साहित्यका विभिन्न लघु विधामा कलम चलाउने असफल सहित अन्य ५ स्रष्टाहरू सम्मानित भएका हुन् । यसरी सम्मानित हुनेहरूमा हाइकु विधामा असफल गौतमसहित कविता विधामा अर्घाखाँचीका असिम सागर राई,  गीत विधामा पोखराका गीतकार सरस्वती श्रेष्ठ सरू, गजल विधामा काठमाडौंका आनन्द श्रेष्ठ, कोँइच मातृभाषी लेखनमा ओखलढुङ्गाका उत्तम कुमार सुनुवार र रेगिस्तानी कवि तीर्थ संगम राईलाई सम्मानपत्र र नगद पाँच हजारसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ श्रवण मुकारूङ, अतिथिहरू निबन्धकार युवराज नयाँघरे, विश्व नेपाली साहित्य महासंघका संस्थापक अध्यक्ष विश्वासदीप तिगेला, महासंघका महासचिव लक्ष्मी राई लारा, नेपाल मुक्तक प्रतिष्ठान नेपालका महासचिव रमेश श्रेष्ठलगायतले सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ मुकारूङले अधिकांश संघसंस्थाहरूले वितरण गर्ने सम्मान कोही टाउका ठूला टोपी साना, कोही टाउका साना टोपी ठूला जस्ता संयोजन नमिलेका देखिने गरेको अवस्थामा साहित्य संगालोले गरेको सम्मान उत्कृष्ट रहेको बताए । उनले भने–‘प्रज्ञा प्रतिष्ठान जस्तो ठाउँमा सम्मान र पुरस्कारका लागि राजनीति र भाइबन्धु हुने गरेकोमा मलाई चिन्ता छ, सम्मान र पुरस्कार वितरणमा खिचातानी गर्नु हुँदैन, उचित संयोजन हुनुपर्छ ।’ कार्यक्रममा सम्मान अर्पण गर्ने अतिथिहरू युवराज नयाँघरे, विश्वासदिप तिगेला, लक्ष्मी राई लारा, रमेश पौडेल, सम्मानित स्रष्टाहरू असिम सागर राई, असफल गौतम, सरस्वती श्रेष्ठ सरू, आनन्द श्रेष्ठ, मातृभाषी लेखक उत्तम कुमार सुनुवारसहित इन्द्रमणी नेपालले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै पुरस्कारका संस्थापक केदार संकेतले विश्वभरी जहाँ रहेर पनि नेपाली भाषा साहित्यको उत्थानमा लाग्ने स्रष्टाहरूलाई प्रोत्साहन गर्ने लक्ष्यले सम्मान वितरण गरिएको बताए । काठमाडौंको होटल स्वागत बागबजारमा सम्पन्न कार्यक्रमको सञ्चालन साहित्यकार सागर श्रेष्ठले गरेका थिए ।

Post a Comment

 
Top