0
गोल्डेन न्यूज संवाददाता
पोखरा १५ कार्तिक ।
संसारका विभिन्न प्रसिद्ध विश्वविद्यालयबाट निःशुल्करुपमा अनलाइन कोर्ष लिएर आफ्नो दक्षता र क्षमता अभिवृद्धि गर्ने तर्फ पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले चासो देखाउन थालेका छन् । सन् २००८ मा खुल्ला अनलाईन कोर्षको शुरुवात भएकोमा सोही वर्ष विश्वका विभिन्न मुलुकबाट २ हजार २ सय जनाले सहभागिता जनाएको र १५० जनालेमात्र अनलाइन कोर्ष उत्तीर्ण गरेको भएपनि हाल विश्वका दर्जनौं विश्वविद्यालयले विभिन्न विषयमा अनलाइन कोर्ष संचालन गर्न थालेको र करिब १० लाख विद्यार्थीहरु सहभागी भएको भएपनि १० प्रतिशत भन्दा कमलेमात्र कोर्ष पूरा गरि प्रमाणपत्र पाउने गरेका छन् । तर नेपालबाट अनलाइन कोर्ष लिने विद्यार्थीहरुको संख्या अन्य विकसित मुलुकको तुलनामा ज्यादै न्यून छ । यसै सन्दर्भलाई मध्य नजर गर्दै पोखराको मदरल्याण्ड उच्च माविका अंग्रेजी विषयका शिक्षक बामन कुमार घिमिरेले अनलाइन कोर्ष सम्बन्धी अभियान आफ्नो विद्यालय र अन्य विद्यालयमा पनि संचालन गरेका छन् । करिब ८ महिनाको अवधिमा उनले आफ्नै विद्यालय मदरल्याण्डमा अध्ययन गर्ने करिब ८० जना विद्यार्थीहरुलाई   अनलाइन कोर्षमा सहभागी गराउन सफल भएका छन् । जसमध्ये विद्यार्थीले करिब १२ वटासम्म अनलाइन कोर्ष पूरा गरि सम्बन्धित विश्वविद्यालयबाट प्रमाणपत्र समेत प्राप्त गरेका छन् । पाँचवटा भन्दा बढी प्रमाणपत्र प्राप्त गर्नेहरुमा सगुन पराजुली, आशिष अधिकारी, प्रवेश पहारी, विनिता अधिकारी, विवेक बराल, बादल त्रिपाठी, पवन लम्साललगायत रहेका छन् । मदरल्याण्डमा अध्ययन गर्ने विद्यार्थीहरुले एक सय भन्दा बढी प्रमाणपत्र प्राप्त गरिसकेको शिक्षक घिमिरेले बताए । आफ्नो विद्यालयसंगै पोखराका अन्य विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र शिक्षकहरुलाई सहभागी गराएर उनले दुई दिने कार्यशाला समेत सम्पन्न गरे । विभिन्न गुणस्तरीय विषयगत ज्ञान प्राप्त गर्ने, विश्वव्यापी मित्रता विकास गर्ने, साँस्कृतिक समझदारी बढाउने उद्देश्यका साथ मदरल्याण्ड उच्च माविको व्यवस्थापनमा दुईदिने कार्यशाला शनिबार सम्पन्न भएको हो । घरमा इन्टरनेटको पहुँच हुने व्यक्तिहरुले यसको सदुपयोग गरी यथेष्ट फाइदा लिन सक्ने जानकारी कार्यक्रममा दिइएको थियो ।
नेपालमा इन्टेरनेटको पहुँच बढ्दै गएको र घर–घरमा इन्टरनेट सुविधा हुँदा विद्यार्थी र विशेषगरि नवयुवाहरु फेसबुक लगायतका सामाजिक सञ्जालमा लागेर घण्टौं समय खर्च गर्ने र विकृति विसंगति बढेको महसूस गरि अनलाइन कोर्ष तर्फ विद्यार्थीहरुलाई अभिप्रेरित गर्न थालेको शिक्षक घिमिरेले गोल्डेन न्यूज दैनिकसंग भने ।
कार्यक्रमका प्रशिक्षक तथा सहजकर्ता बामनकुमार घिमिरेका अनुसार नेपालको पाठ्यक्रमसँग सम्बन्धित यस्ता ५÷६ हप्ते कोर्षहरुका लागि प्रति हप्ता आफ्नो अनुकूलअनुसार करिब तीन घण्टा दिन सके पूरा हुने र निःशुल्क प्रमाणपत्र समेत पाइने भए पनि यसतर्फ नेपालीको चासो कम देखिएको छ । शुक्रबार कार्यशालाको  उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि उच्च मावि शिक्षा परिषद् क्षेत्रीय कार्यालय पोखराका प्रमुख अशोक न्यौपानेले अहिलेको वदलिँदो परिवेशमा अनलाइन शिक्षा निकै नै प्रभावकारी बन्न सक्ने बताए । उनले अनलाइन शिक्षा पद्धतिलाई सार्वजनिक विद्यालयतर्फ पनि बिस्तार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक तथा रासस बोर्ड सदस्य गंगाधर पराजुलीले विधागत अध्ययनमात्र नभएर शिक्षामा विशिष्टिकरण भइरहेको अवस्थामा अनलाइन कोर्षलाई विद्यालयको पाठ्यक्रम संगसंगै लैजान सके विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने बताए । नेपालमा अझैपनि शैक्षिक प्रमाणपत्रमा लेखिएको अंकका आधारमा व्यक्तिको क्षमता मूल्याङ्कन हुने गरेको भन्दै उनले विश्वव्यापी करण संगै शैक्षिक प्रमाणपत्र भन्दा अनलाइन कोर्षको प्रमाणपत्र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
विद्यालयका अभिभावक समेत रहेका नेपाल प्रेस युनियनका गण्डकी संयोजक टंकराज अधिकारीले विद्यार्थीहरुलाई अनावश्यक क्रियाकलापमा लाग्नबाट जोगाउन पनि अनलाईन शिक्षा उपयोगी हुने बताए ।  युएस अलुम्नाइसहित पोखरा उपत्यकाका १६ विद्यालयका प्राचार्य, शिक्षक र विद्यार्थी गरी ७० जनाको सहभागिता रहेको दुई दिने कार्यशालाको उद्घाटन तथा समापन समारोहको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद बरालले गरेका थिए भने व्यवस्थापनमा नेल्टा कास्की र टेलनेट कम्युनिकेसन्स प्रा लि पोखराको समेत सहयोग थियो ।
समापन समारोहका प्रमुख अतिथि कास्कीका जिशिअ विष्णुप्रसाद अधिकारीले गुणस्तरीय शिक्षा हासिल गर्नका लागि आफूलाई कक्षाभित्रका गतिविधिमा मात्र सीमित नगराई अतिरिक्त ज्ञानका स्रोतको पहिचान गरी तिनको सदुपयोग गर्नुपर्ने तर्फ सजग हुनुपर्नेमा जोड दिएका थिए ।  विशेष अतिथि अमेरिकी सरकारका प्रतिनिधि एलेक्स लाउरीले अनलाइन कोष तालिमले अँग्रेजी भाषाको विकासमा महत्वपूर्ण टेवा मिल्ने बताए । कार्यशालामा मदरल्याण्ड उच्च माविमा अध्ययनरत मध्येबाट ५ वटा भन्द बढी अनलाइन कोर्षको प्रमाणपत्र प्राप्त गर्न सफल भएका विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै मायाको चिनो समेत प्रदान गरिएको थियो ।

Post a Comment

 
Top