0
प्रभा बराल नेपाली वाङ्मयको क्षेत्रमा कविता, गजल, निबन्ध र कथा लेखनमा क्रियाशील स्रष्टा हुन् । विशेष गरेर पछिल्लो समय अखबारी र बाल साहित्य लेखनमा रुचि राख्दै आएकी बराल पचासको दशकबाट साहित्य साधनामा क्रियाशील स्रष्टा हुन् । बराल फुटकर विधाका कृति प्रकाशन गरेर साधनाले माझिएकी एक सचेत स्रष्टा हुन् । बरालले हालसालै आत्महत्याको जङ्गल (२०७२) यात्रा निबन्धको नविनतम् कृति लिएर पाठकसामु देखा परेकी छन् । विभिन्न पत्रपत्रिकाहरूमा समय सान्दर्भिक लेख रचना प्रकाशन गर्दै आएकी बरालको अखबारी लेखनले उनको आख्यान लेखनको धरातल मापन पक्कै गर्न सकेको थिएन ।
आत्मसाँची राखेर भन्दा, पङ्क्तिकारले पनि बराल यति सुन्दर यात्रानिबन्धहरू लेख्ने क्षमतावान लेखक हुन् भन्ने आकलन गरेको थिएन । जे कल्पना गरिएको हुँदैन, त्यो प्राप्त हुँदा छुट्टै आनन्द आउछ । धेरैले भनेको कुरा हो पङ्क्तिकारको नामसँगको असहमति, झट्ट बराललाई पनि उनको कृतिको नामको सन्दर्भमा उनलाई कतिले भने होलान कस्तो नाम राखेको भनेर । दुनियाँमा नामले नै सबै कुरा हुन्थ्यो भने किन धेरै सन्दर्भहरू विपरित भइरहेका छन् ? यसर्थ नाम राख्नका लागि राखिने आवरण हो उनले राखेको कृतिको नामसँग म एकदम सहमत छु उत्कृष्ट नामाङ्करण भनेर । कुरा कृति भित्रका सामग्रीको, भनिन्छ, जुनसुकै वस्तु जस्तो देखिए तापनि त्यसमा निहित अविनाशी सत्य स्वरुपलाई पहिचान गर्नु नै वास्तविक ज्ञान हो । बरालको प्रस्तुत कृति अध्ययनपछि आम सचेत पाठकलाई उनको लेखनमा रहेको अविनाशी सत्य स्वरुपले झक्झक्याउने छ । एकातर्फ बरालले आफ्नो लेखन अद्भूत कला प्रदर्शन गरेर आम पाठकहरूलाई मोहित पारेकी छन् । अर्कोतर्फ आत्मसम्मानको लेखन प्रस्तुत गरेकी छन् ।
कतिपय व्यक्तिहरूलाई अवसर नै मिल्दैन । कोही अवसर मिली हाले पनि सदुपयोग गर्न जान्दैनन् तर बरालले पाएको अवसरलाई सान्दर्भिकताका साथ प्रस्तुत गरेकी छन् । जुन कृति उनको दुई पटकको जापान बसाइँको कमाइ ठान्दा अन्यथा नहोला । अग्र, मध्य र अन्तिम गरी दुई सय १६ पृष्ठमा संरचित छ । दुई सय ७५ रुपैयाँ मूल्य राखिएको कृतिको मूल्य पनि समय सान्दर्भिक देखिन्छ । प्रस्तुत कृतिमा बादलपारिको देशमा, एहिमे विश्वविद्यालय, निकास नपाएको उल्झन, श्रद्धाका दुई थुँगा फूल, जहाँ आया र पियन हुँदैनन् साकुरा फुल्ने देश, ओकाइदो मेला, ओफुरो, रोलर कोष्टरमा फनफनी, समुन्द्र मोहलगायतका लामा र छोटा आयामका यात्रावृत्तान्त समावेश रहेका छन् । यसैगरी बरालले फेरि जापान, किमोनो, जापानमा पनि झारफुक, जापनीज वाइफ अमेरिकन लाइफ, सुन्तला र रोबोट, साइकलमा पाइडलमाथि, फुजी मार्टकी वृद्धा, आत्महत्याको जङ्गल, क्यासल, कस्तूरीजस्ता हामी र आरिगातो निहोन, आरिगातो ओत्तोलगायत विभिन्न २१ शीर्षकमा दुई पटक जापान घुमफिर गर्दाका यात्रानुभूतिहरूलाई पोखेकी छन् ।
बरालको प्रस्तुत कृति अध्ययन पछि धेरै पहिला पढेका एक सन्त कविको याद आयो । जसले भनेका थिए, ‘आफ्नो प्राण रक्षाको निम्ति अनिवार्य रुपमा आवश्यक पर्ने भए पनि यदि त्यसले परिवारको इज्जतलाई अधोगतितिर धकेल्छ भने त्यस्तो कार्य नगर्नु राम्रो हुन्छ ।’ लेखक प्रभा बरालको नविनतम् कृति आत्महत्याको जङ्गल पढेपछि मानसपटलको कुनै कुनामा भण्डारण भएका यस्ता सन्दर्भहरूले जुरुक्क उचाली रहेका छन् । यसरी उचाल्नुको पहिलो कारण बरालले पाएका सुनौला अवसर र भोगेका दुख लाग्दा भोगाई दुवैलाई आत्मसम्मानका साथ स्वीकार्नु नै हो । उनले कृति लेखनमा निकै इमान्दारिता व्यक्त गरेकी छन् । पाइला–पाइलामा राष्ट्रप्रेमको भाव व्यक्त गरेकी छन् । यस्ता यावद् सन्दर्भहरू कृतिमा रहेका छन्, यो नै उनको लेखनको सवल पक्ष हो । चाहे जापानमा रहदाको केही फुर्सदिलो समयलाई सदुपयोग गरेर सुन्तला टिप्ने काम गर्दाको वर्णन होस् । चाहे अरुले प्रयोग गरेका कोठा पुनः नयाँ पाहुनाका लागि अपडेट गर्दाको वर्णन होस् । चाहे साइकलका पाडलमाथि सरर यात्रा गर्दा आफूले बाल्यकालमा माइती गाउँमै साइकल चलाउन सिकेकोमा गर्व गरेर होस् । चाहे महोत्सवमा नेपाली पहिचान झल्कने स्टल राखेर नेपाली संस्कार र संस्कृतिको प्रवद्धन गरेर होस् यी केही उदाहरण मात्र यहाँ प्रस्तुत गरिएका हुन् । यस्ता प्रयाप्त सन्दर्भ उनको प्रस्तुत कृतिमा पाइन्छन् । यो नै उनले लेखनको सवल पक्ष हो ।
जब एक सर्जकले कृति प्रकाशन गर्छ तब त्यो कृति सबैको सार्वजनिक चाँसोको विषय भित्र पर्न जान्छ । त्यसैले त्यसका राम्रा नराम्रा पक्षहरुका बारेमा छलफल, चर्चा परिचर्चा अवश्य हुन्छ नै । बरालको प्रस्तुत कृतिमा राम्रा पक्षहरू धेरै हुँदाहुँदै पनि केही भन्न मन लागेका कुरा पनि छन् । कृतिमा नजर पु¥याउँदा पु¥याउँदै केही वाक्य गठनमा त्रुटि फेला पर्न गएको पाइन्छ । जस्तो रिटार्यड (पृ.६२) यसैगरी कृतिमा कतै आँसु, कतै आँशु , लेखिएको पाइन्छ (पृ. ९६) । यस्तै बुझद्थ्यो कतै बुझदथ्यो (पृ.१८१) एउटा कृति भित्रको भाषागत एकरुपता कायम गर्न सकेको खण्डमा पनि राम्रो हुने देखिन्छ । यसैगरी इथिोपिया (पृ.११४) बिचको अक्षर छुटे जस्तो देखिन्छ । तपाईंले के काम गर्न भयो (पृ.१२५) । यात्राले पूर्णता पाउन रहेछ (पृ.१२९) । काठमाडौंलाई साइकलमैत्री सहर बनाउने भनेको त सुनेकी छ (पृ.१५३) । जस्ता केही सामान्य त्रुटि देखिन्छन् ।
अध्ययनको सिलसिलामा देखिएका यस्ता त्रुटिहरू समयमै औल्याउन पाए अन्य संस्करणमा सुधारिने छन् भन्ने अपेक्षा मात्रै हो । अन्तमा पङ्क्तिकार लेखनमा इमान्दारिता खोज्ने व्यक्ति हो, यसर्थ बरालको यस कृतिमा देखिएको यो इमानको लेखनले नै उनी सफल नियात्राकार हुन् । निहारिकाले आफ्नो मन्तव्यमा भने झैँ, बिना टिकटको हवाई तथा जापान यात्रा गरे जस्तै अनुभुत आम पाठकलाई उनले गराइ रहेकी छन् । कृतिमा प्रयोग गरिएको भाषा सरल र सहज रहेको छ । समय सन्दर्भनुसार प्रयोग गरिएका जापानीज भाषाका शब्दहरूको अर्थसमेत समावेश भएकाले पाठकलाई कृति पढ्न लागेपछि कुनै उल्झन आउँदैन । यस्ता राम्रा यात्रा निबन्ध लेख्ने बरालको बाँकी साहित्यिक यात्राको सफलताको शुभकामना !





Post a Comment

 
Top