0
सानेबहादुर नेपाली
ऐतिहासिक एवम् धार्मिक स्थलको रूपमा परिचित गोरखाको तान्द्राङकोटमा रहेको सिद्धकाली मन्दिर ओझेलमा पर्दै गएको छ ।      गोरखाका तत्कालीन राजा रामशाहले धादिङ जिल्लाको सल्यानकोट जित्न जाँदा सिद्धपुरुष दुर्लभ लामिछानेले हेराएको साइतमा बूढी गङ्गालाई रोकी सेना तारेर सल्यानमाथि विजय हासिल गरेको उक्त ऐतिहासिक स्थल र सिद्धकाली मन्दिरमा रहेको तान्द्राङकोटको सम्पत्तिको उचित संरक्षण र सम्बद्र्धन हुन नसक्दा ओझेलमा पदै गएको हो । उक्त मन्दिरमा सिद्धपुरुष दुर्लभ मूल पुजारी रहेको स्थानीय वृद्धवृद्धा बताउँछन् । जिल्लाको तान्द्राङ गाविस वडा नं ५ स्थित तान्द्राङकोटमा लामिछानेले सिद्ध काली मन्दिर स्थापना गरेपछि सबै अष्टमीमा नियमित बलि चढ्ने भएपनि विशेष गरी दशैंको घटस्थापनादेखि दशमीका दिनसम्म र चैत्र अष्टमीको दिनमा भक्तजनहरूको भीड लाग्ने गर्दछ । पछिल्लो समयमा त्यस क्षेत्रमा रहेका ऐतिहासिक संरचनाहरूको संरक्षण एवम् सम्बद्र्धन नहुँदा बाह्य एवम् आन्तरिक पर्यटकलाई आर्कषण गर्न नसकिएको स्थानीय जनता बताउँछन् । गोरखकाली र सिद्धकाली दिदीबहिनीबीच झगडा हुँदा सिद्धकालीले बूढीगण्डकीको पूर्व पट्टिको उचाइमा राखिदिनु भनेकाले उक्त स्थानमा कालीको शिला ल्याएर मन्दिर स्थापना गरेको किंवदन्ति रहेको छ ।
 
उक्त मन्दिर समुद्री सतहबाट करिव एक हजार १३५ मिटर उचाइमा रहेको छ । उक्त मन्दिरमा कालरात्रि पूजा, महाअष्टमीको मध्यरातमा कालरात्रिको बलि दिँदा धर्मप्रति विश्वास नगर्नेहरू बेहोश हुने गरेको समितिका सचिव यदुप्रसाद लामिछाने बताउछन् ।     यस वर्षको दशैंको अवसरमा करिब ५ हजार महिलाले उक्त मन्दिरमा बत्ती बालेका थिए । उनले भने–( “सिद्धकालीले मनले चिताएको पु¥याइदिने विश्वासले पनि वर्षेनी भक्तजनहरूको भीड लाग्ने गर्दछ ।” यस मन्दिरमा बोका, राँगा, भेडा, हाँस लगायतका पशुपक्षीको बलिदिने र फूलको डोली लैजाने प्रचलन रहिआएको छ । उक्त मन्दिरमा पूजाअर्चना गर्न धावा, चौतारा, आरुपोखरी, मसेल, घ्याम्पेसाल तान्द्राङ लगायतका स्थानबाट मानिसहरू आउने गर्दछन् । गत वैशाख १२ गते गएको भूकम्पले सिद्धकालीको मन्दिर पूर्ण रूपमा भत्किएकाले समितिका पदाधिकारी र स्थानीयवासीको सहयोगमा सामान्य मर्मत गरेर मन्दिर पुनःस्थापना गरिएको छ । “करिव डेढ लाख रुपैयाँको लागतमा पूजा सञ्चालन गर्न मिल्ने अवस्थामा ल्याएका हौँ,” समितिका सहसचिव रामचन्द्र लामिछानेले भने । भूकम्पमा परी सिद्धकाली मन्दिरभित्र एक बाघ समेत मरेको थियो । देवीको शिरतिर फर्किएको अवस्थामा मरेको बाघ भेटिनुले पनि धर्मप्रति झनै मानिसहरूको आस्था बढेको उनको भनाइ छ । “ऐतिहासिक, धार्मिक र पुरातात्विक स्थलको संरक्षण एवम् सम्बद्र्धन गर्न पनि सिद्धकालीको मन्दिर पुनःनिर्माण गर्न आवश्यक ठानेका छौँ,” उनी भन्छन् । उक्त मन्दिरमा सिद्धकालीको नाउँमा पूजा व्यवस्थापन गर्न ६ पाठा र एक पाडो समितिले दिनुपर्ने प्रावधान रहेको विगत १५ वर्षदेखि पुजारी रही आएका लोकनाथ सुवेदी बताउछन् । एक वर्षमा पूजाअर्चना गर्न करिव एक लाख रुपैयाँ खर्च हुन्छ । उनले भने–“तर राज्यले पूजा खर्च भनेर अहिले ८ हजार रुपैयाँ दिने गरेको छ । अघिल्ला वर्षहरूमा ४ हजार ५ सय राज्यको मालपोत कार्यालयबाट दिने गरेको थियो ।”    गाविसको मात्रै नभई राज्यकै गहनाको रूपमा रहेको उक्त क्षेत्रको विकासका लागि गाविसले समेत बेवास्ता गर्ने गरेको सुवेदी बताउछन् । उक्त मन्दिरको पुनः निर्माणका लागि पुरातत्व विभागमा पत्र पठाइएको समितिले जनाएको छ ।
मन्दिरलाई पुरानै अवस्थामा फर्काउन करिव ५० लाख रुपैयाँ लाग्ने अनुमान समितिले गरेको छ । उक्त मन्दिर नजिकै फूलपाती भञ्ज्याङमा रातको समयमा बत्ती बल्ने, तत्कालीन राजाले घोडा बाँधेको डोप, सिद्धपुरुष दुर्लभको भग्नावेश घर अद्यापि देख्न सकिने स्थानीय ६१ वर्षीय प्रेमनारायण चुडारी बताउछन् । रासस





Post a Comment

 
Top