0
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता मा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका चार फुटबल खेलाडी र एक प्रशिक्षकलाई म्याद थपका लागि मंगलबार काठमाडौँको विशेष अदालतमा उपस्थित गराइएको छ । दसैँमा अदालत बन्द भएका कारण उनीहरूविरुद्ध प्रहरीमै मुद्दा दायर गरिएको हो । राज्य विरुद्धको अपराधमा उनीहरूविरुद्ध मुद्दा चलाइएको र यो मुद्दा विशेष अदालतले हेर्ने भएकाले उनीहरूलाई अदालतमा लगिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए। म्याच फिक्सिङको आरोपमा अपराध महाशाखाले राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित सन्दीप राई, रितेश थापा र विकास सिंह क्षेत्री तथा प्रशिक्षक अन्जन केसीलाई गत असोज महिनामा पक्राउ गरेको थियो ।  उनीहरू माथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेतलगायत राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप छ ।
होम एन्ड अवे’को आधारमा सन् २०११ मा भएको विश्वकप छनोटमा नेपालले जोर्डनसँगको अवे गेममा ९–० को लज्जास्पद हार व्यहोरेको थियो । तर घरेलु मैदान (काठमाडौँ) मा भएको खेलमा भने नेपालले जोर्डनसँग १–१ गोलको बराबरी नतिजा निकालेको थियो ।
 
यी खेलाडीमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटलगायतका १६ देखि २३ वटा अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप छ । एक वर्षअघि दक्षिण कोरियाको इन्चोन सहरमा सम्पन्न १७ औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा समूह चरणका सबै खेलमा लज्जास्पद हार खेपेको नेपाललाई त्यतिबेलै खेल मिलेमतो गरेको आरोप लागेको थियो । दोहामा एक वर्षअघि फिलिपिन्ससँग भएको मैत्रीपूर्ण खेलमा समेत नेपाल पराजित भएको थियो । एसियाडमा खेल मिलेमतो भएको विषयमा संसद्को सार्वजनिक लेखा समितिमा समेत छलफल भएको थियो । ती खेलाडी ले सन् २००८ देखि सन् २०१४ को बीचसम्म भएका अधिकांश अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा आशातीत प्रदर्शन गर्न सकेका छैनन् ।
 
प्रहरीले कप्तान थापालाई थापाथली, गोलकिपर थापा र राईलाई बालुवाटार तथा क्षेत्री र केसीलाई जावलाखेलबाट पक्राउ गरेको थियो । यता, अदालतले भने खेलमा मिलेमतो (म्याच फिक्सिङ) गरेको अभियोगमा दशैंअघि प्रहरी नियन्त्रणमा रहेका राष्ट्रिय फुटबल टोलीका कप्तानसहित ५ जनालाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । सरकारी वकिलसमक्ष खेलाडीहरुको बयान नसकिएकोले उनीहरुलाई थुनामा राख्न अदालतले अनुमति दिएको हो । रासस


Post a Comment

 
Top