0
गोल्डेन न्यूज संवाददाता
कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले कास्कीको विकासका लागि आफू प्रतिवद्ध भएर लाग्ने बताएका छन् । नेष्डो नेपालद्वारा संचालित रेडियो संवृद्ध नेपालद्वारा आयोजित शुभकामना आदान–प्रदान एवं स्वयं टीका ग्रहण कार्यक्रमको उद्घाटन गर्ने उनले संविधान निर्माणसंगै मुलुक संवृद्धिको बाटोमा लागेको भन्दै विकासको बाटोमा कोही पनि बाधक बन्न नहुने बताए । उनले भने–‘दशकौंपछि मुलुकले नयाँ संविधान पाएको छ । मुलुक अब संवृद्धितर्फ उन्नमुख हुँदैछ । यसमा कोही कसैले पनि अवरोध गर्द हुँदैछ ।’ कास्कीको विकासमा आफू र जिविस कास्की प्रतिवद्ध रहेको भन्दै स्थानीय विकास अधिकारी तिवारीले राम्रो विकासमूलक कार्यक्रम लिएर जो सुकै आएपनि सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । राष्ट्रप्रेमी । विकास प्रेमी सै नेपाली एक भएर अघि बढ्ने हो भने मुलुकको संवृद्धि टाढा नरहेको उनले स्पष्ट पारे । मुलुकको ठूलो युवा र दक्ष जनशक्ति विदेशिएकोमा दुःख लागेको भन्दै उनले विदेशबाट ठूलो रकम आउँछ तर खर्च गरेरै सकिने गरेको बताए । उनले भने–‘विदेशबाट आएको रेमिट्यान्स खर्च मात्र नगरि सो रकमको केही हिस्सा राष्ट्रको पुँजी निर्माणमा लगाउने हो भने मुलुक चाँडै संवृद्धितर्फ अघि बढ्छ ।’
कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका क्षेत्रीय व्यवस्थापक अम्मर अधिकारीले राष्ट्रको नीति, नियम र परिधिभित्र रहेर सबै वित्तिय संस्थाहरुले काम गर्नुपर्नेमा जोड दिए । नेष्डो नेपालको प्रगतिमा आफू ज्यादै खुशी रहेको भन्दै उनले संस्थाले प्रतिज्ञा गरेको प्रतिवद्धता अनुसार संस्था चले सबै संस्थाले सफलता हात पार्ने बताए ।
रेडियोका कार्यकारी निर्देशक विश्वप्रकाश प्रसाइँले नेष्डोको स्थापना, संचालन गरेका कार्यक्रम र सफलताबारे प्रकाश परेका थिए । उनले नेष्डोको सफलतामा धेरैको साथ, समर्थन, संरक्षकत्व, अभिभावकत्व रहेको भन्दै मुलुकमा गरिवी रहेसम्म नेष्डोको अभियान नरोकिने बताए । त्यस अवसरमा उनले फरक अनुभूतिका कार्यक्रममा सहभागीहरु बीच  शुभकामना आदान–प्रदान गराएका थिए । प्रसाइँले तयार गरेको लिखित शुभकामनालाई पढ्दै र कार्यक्रममा सहभागीलाई पनि भन्न लगाउँदै शुभकामना आदान–प्रदान गराइएको थियो । उनले शुभकामना सन्देशमा मुलुकको संवृद्धि र हालै जारी संविधानलाई सफल कार्यान्वयनलाई जोड दिइएको थियो । कार्यक्रममा सहभागी सबैले मुलुकका १०८ शक्तिपीठहरुबाट संकलित टीका  आफैले ग्रहण गरेका थिए । त्यस अवसरमा पर्वतमा जन्मिएर कास्कीमा हालै आएका स्थानीय विकास अधिकारी एवं कार्यक्रममा प्रमुख अतिथि रामचन्द्र तिवारीलाई सफलताको कामना गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता रेडियोका प्रवन्ध निर्देशक विश्वप्रकाश प्रसाइँ, स्वागत नेष्डोका लघुवित्त विभाग प्रमुख विश्ववन्धु प्रसाइँ, नेष्डो प्रतिज्ञा सावित्री खत्री र इन्द्र खत्रीले  गरेका थिए भने कार्यक्रम संचालन रेडियोकी स्टेशन इञ्चार्ज ओमना क्षेत्रीले गरेकी थिइन ।  कार्यक्रममा नेष्डोकी विरौटा केन्द्र प्रवन्धक अनिता सोतीद्वारा नृत्य र पार्वती तिमिल्सिनाले गीत प्रस्तुत गरेकी थिइन । रेडियोले मुलुकमा नयाँ संविधान जारी भएको खुशीयाली,  विजयादशमी, शुभदीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको हो ।

Post a Comment

 
Top