0
भारतले नेपालमाथि लगाएको नाकाबन्दीले महान् चाड दशैँ अभावग्रस्त बने पनि त्यसले समस्त नेपालीमा एक किसिमको राष्ट्रिय अठोटको भावना सिर्जना गरेको छ । मुलुक आफ्नै आधारमा चल्नुपर्छ । कसैले लगाम आफ्नो हातमा लिएर नेपालीको गति, दिशा र गन्तव्य निर्धारण गर्ने परिस्थिति स्वीकार्य हुनु हुँदैन भन्ने शिक्षा अहिलेको नाकाबन्दीबाट आमनागरिकले लिएका छन् । तर यहाँका नेताहरूले भने यो नाकावन्दीबाट उचित पाठ सिक्न सकेका छैनन् । आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ताबाट निर्दिष्ट निर्णय लिँदा विगत पनि भारतले पटकपटक नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको थियो । नेपालबाट भारतीय सैनिक नियोग तथा उत्तरी सीमानाबाट भारतीय सेना हटाउँदा, नेपाली सेनालाई आवश्यक केही हतियार चीनबाट किन्दा र बाह्र बुँदेपछि उसले नियन्त्रित र निर्देशित गरेको राजनीतिको अवज्ञा हुँदा भारतले नाकाबन्दीको सहारा लिएको छ । भारतको यो प्रवृतिको अन्तर्राष्ट्रिय जगत र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्रहरूबाट पनि विरोध भइरहेको छ । नाकाबन्दीपछि उत्पन्न अभावको परिस्थिति तत्काल सामान्य बनाउने सोचका साथ उत्तरी छिमेकी चीनले तत्काल एक लाख मेट्रिक टन पेट्रोल अनुदानस्वरूप र दीर्घकालीन रूपमा अरू वैकल्पिक व्यवस्था गर्न अग्रसर हुने वताएको छ । एउटा घनिष्ट छिमेकीबाट अपमानित नेपालका लागि यो एउटा अवसर हो । यसलाई आत्मनिर्भरता र बाह्य राजनीतिक हस्तक्षेपबाट मुक्ति गराउन सही रुपमा उपयोग गर्न सक्नु पर्दछ । यदि बाबुराम भट्टराईको गोप्य एजेन्डा अनुसार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतसमक्ष झुकेको भए शायद यो नाकावन्दीको परिस्थिति आउने थिएन । तर राष्ट्रिय स्वाभीमानका लागि प्रचण्डले जुन अगुवाई गरे यो सार्वभौमिकताका लागि ठूलो देन हो । यसबाट कम्तीमा पनि नेपालीपन कायम गर्न सकिएको छ । नेपालको राजनीति र महत्वपूर्ण परिवर्तनको स्विच भारतले आफ्नो हातमा राखेको तथ्यलाई यहाँका राजनीतिक दल र यिनका नेताहरुले स्विकार गरी त्यसलाई सुधारी नेपाली जनताबाट अनुमोदन गरेमा मात्र भारतीय नाकाबन्दी पूर्णतः विफल हुनेछ । चीनले नेपाललाई दिएको सहयोग त एउटा मित्रराष्ट्रको आत्मसम्मानका लागि हो, त्यो नेपालले बुझ्नुपर्छ । आत्मसम्मान प्राप्त गर्न केही कष्ट, केही मितव्ययिता हरेक तहमा अपनाउनु नै पर्छ । संविधान र राष्ट्रिय राजनीति नेपाल र नेपाली जनताको सार्वभौम क्षेत्राधिकारमा नआएसम्म भौतिक सामग्रीको आपूर्तिले मात्र नेपालीले विभिन्न समयमा गुमाएको राष्ट्रिय चरित्र र सम्मान पुनस्र्था्पित हुन सक्दैन । वास्तवमा संविधानको सार्थकता केवल तीनचारवटा पार्टी या तिनका शीर्ष नेताहरूले के पद पाउँछन् भन्नेमा मात्र सीमित रहेमा त्यसले जनताको आक्रोश बढाउँछ र नाकाबन्दी र नेपाललाई अपमानित गर्न चाहने बाहिरी शक्तिले खेल्ने मौका पाउनेछन् । त्यसैले मुलुकभित्रका समस्याको समाधान आन्तरिक एकताका आधारमा गर्नु आवश्यक छ । त्यसैले नाकाबन्दीलाई सकारात्मक अवसरका रूपमा लिई पार्टीहरु बीचको एकतालाई कायम गरी अगाडि बढ्नु पर्दछ । यसबाट नै मुुलुकको हित र समृद्धिको वाटो खुल्नेछ ।

Post a Comment

 
Top