0
गोल्डेन न्यूज संवाददाता
अग्ला पहाडै पहाडमा सुन्दर बस्तीहरु रहेको स्याङ्जा जिल्ला प्रकृतिको अनुपम उपहार हो । साँस्कृतिक विविधता भित्र एकता भएको यो जिल्लामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरु प्रचार–प्रसारको अभावमा ओझेलमा परिहरहेका छन् । ओझेलमा परेका आफ्नो गाउँका सम्भाव्यताको अध्ययन गरी प्रचार–प्रसार गर्ने उद्देश्यले हालै स्थापना भएको मनकामना समाज कल्याण समूहले स्थानीयलाई पनि साथ लिएर आफ्ना कार्यक्रमहरु अघि बढाउने योजना सार्वजनिक गरेको छ । स्याङ्जा जिल्लाको त्रियासी भन्ने ठाउँबाट बाट लगभग १३ किलोमिटरको दुरीमा र समुन्द्र सतहदेखि करिब १५ सय उचाईमा रहेको यस गाविसमा थुप्रै धार्मिक तथा पर्यटकीय सम्भावनायुक्त ठाउँहरु रहेका छन् । स्याङजाकै प्रशिद्ध धार्मिक स्थल मनकामना मन्दिर समेत यसै गाविसमा रहेको भएपनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको भन्दै समूहले गाविसको समग्र हितका लागि कार्यक्रमहरु अघि सारेको समूहका संयोजक हेमराज गुरुङले जानकारी दिए । मनकामना मन्दिर परिसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा ठूलो मेला लाग्दै आएको छ । यस वर्षपनि उक्त मन्दिरमा मेला भर्न संयौ दर्शनार्थीहरुको भीड लागेको थियो । यस्तै चैते दशैँमा पनि यस ठाउँमा ठूलो मेला लाग्ने गरेको छ । मन्दिरमा साउन महिना र एकादशी बाहेक दैनिक पूजा समेत हुने स्थानीयहरु बताउँछन् । तर वर्षेनी हुने यस्ता मेलाको साँस्कृतिक र धार्मिक पक्ष महत्पूर्ण भएपनि प्रचार–प्रसारको अभावमा मेला ओझेलमा परेको स्थानीयहरुको गुनासो छ । पर्यटकीय गन्तब्य बनेको सो ठाँउ प्रचार–प्रसारको अभावमा ओझेलिएको जानकारहरु बताउँछन् । तर यसका बाबजुद यहाँका स्थानीयहरुले आफ्नो ठाउँलाई चिनाउन तथा प्रर्वद्धन गर्न कुनै कसर भने बाँकी राखेका छैनन् । जुझारु स्थानीयहरुको पहलमा यस ठाउँका पर्यटकीय गन्तव्यहरुले पनि पर्यटकहरुलाई पर्खेर बसेका छन् भन्ने आभाष गराउन थालेको छ । मनकामना गाविसका स्थानीयहरु समग्र धार्मिक पर्यटकीय महत्व बोकेका क्षेत्रहरुको प्रर्वद्धन तथा प्रचार–प्रसारमा जुटेका छन् । रमणीय, धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्पूर्ण रहेको यस ठाउँका स्थानीयहरुले गाउँको प्रचार–प्रसारका लागि उनीहरु बृत्तचित्र निर्माण तथा आम सञ्चारसंग हातेमालो अभियान चलाउने अभियानमा जुटेका हुन् । देश विदेशमा आफ्नो ठाउँको प्रर्वद्धन गर्ने उद्देश्य सहित सुरु भएको वृत्तचित्र निमार्णको कार्यक्रम अहिले अन्तिम चरणमा पुगेको छ । गाविस भित्रका १ देखि ९ नंबर सम्मकैै वडाहरुलाई समेटेर समग्र रहन–सहन, भेषभूषा, कला संस्कृति, धार्मिक एवं प्राकृतिक र ऐतिहासिक ठाउँहरुको जानकारी गराउनका लागि बृत्तचित्रले सहयोग गर्ने मनकामना समाज कल्याण समूहका संयोजक हेमराज गुरुङले जानकारी दिए ।
त्यसैगरी गाउँमा पर्यटकीय सम्भावना खोज्ने क्रममा मनकामना डाँडाबाट सहासिक खेल प्याराग्लाईडिङको पनि सफल उडान गरिएको छ । उडान भर्नका लागि पोखराबाट गएका नेपाल हवाई खेलकूद संस्था ना मा आवद्ध ७ जना पाईलटहरुले यहि कार्तिक ९ र १० गते सफल उडान भरेको गुरुङले बताए । यस्तै गाउँमा होम स्टेको सम्भाव्यता अध्ययन गरी पूर्वाधार विकास गर्नका लागि गाविसको वडा नं ५ मा रहेका बल्यौ, सुरुङ, गमडाँडालाई छनौट गरि काम अघि बढाईएको छ । त्यस्तै वडा नं ७ का लामडाँडा, वडा नं ३ का पोखरी डाँडा, टोड्के मूलाबारी र  गैरीस्वाँरा, वडा नं १ को गहते र कुमेरदुङ, वडा नं २ का राईडाँडा, गोफाँदी, सपाउँदे, लगायतका गाउँहरुलाई पनि होम स्टेका रुपमा पूर्वाधार विकाशको योजना अघि बढाइएको छ । उक्त योजनाका लागि मनकामना गाविसले पनि सहयोग पुर्याएको गाविसका निर्वतमान गाविस अध्यक्ष प्रेम बहादुर गुरुङले जानकारी दिए । गुरुङहरुको बाहुल्यता रहेको यस गाविस लोपोन्मूख घाँटु नाच, सोरठी, कृष्णचरित्र, सालैजो र कौडाका लागि प्रख्यात भएको स्थानीयहरुको भनाई छ । यसको संरक्षण र सम्बर्धनका लागि आफू नेतृत्वको समूहले आगामी दिनमा थुप्रै योजनाहरु अघि बढाउने समूहका संयोजक गुरुङले बताए ।

Post a Comment

 
Top