0
गोल्डेन न्यूज संवाददाता सुरतालको दोस्रो सिजन अन्तरगत यतिबेला विभिन्न क्षेत्रमा अडिसन भैरहेको छ । पछिल्लो पटक सुरतालको लागि आयोजक संस्था सुरताल कला केन्द्रले बागलुङमा अडिसन सकाएको छ । कुल ५२ जना सहभागी भएको अडिसनबाट उसले गायनतर्फ ९ जना र नृत्यतर्फ ६ जनालाई अघिल्लो चरणका लागि छनौट गरेको छ । ‘बागलुङमा गायन र नृत्य प्रतिभाहरुको उत्साहजनक सहभागिताले हामीलाई थप हौस्याएको छ ।’ सुरतालका सँयोजक प्रशान्त सुनारले भने–‘गायन र नृत्य प्रतिभाहरुको लागि सुरताल एउटा उत्कृष्ट मञ्च बनिसकेको छ ।’ यसअघि पोखरामा भएको अडिसन मार्फत ३२ जना प्रतिस्पर्धीहरु ‘मेगा अडिसन’ का लागि छनौट भईसकेका छन् । त्यस्तै स्याङ्जामा भएको अडिसनबाट पनि १२ जना छनौट भएका थिए । यस्तै प्रतियोगिताका लागि २३ गते गोरखा, २६ गते लमजुङ, ३० गते तनहुँ र कात्तिक ३ गते पाल्पामा अडिशन हुने सँयोजक सुनारले जानकारी दिए । कात्तिक १४ गतेदेखि विभिन्न चरणमा अडिसन हुँदै जाने र फाईनलका लागि प्रतियोगीहरु छानिने आयोजकले बताएको छ । प्रतियोगिताको गायन विधातर्फ रामभक्त जोजिजु, योगेक काजी बिसी र प्रकाश नेपाली निर्णायक रहेका छन् । त्यस्तै नृत्यतर्फ गोरे गुरुङ, प्रीति गुरुङ र दीपसागर निर्णायक रहेका छन् । प्रतियोगितामा गायन र नृत्य दुवै विधातर्फ विजेता बन्नेलाई हार्टफोर्डको स्कुटर प्रदान गर्ने आयोजकले बताएको छ । त्यस्तै दुवै विधामा दोस्रो हुने प्रतियोगीलाई २० हजार रुपैयाँ नगद प्रदान गर्ने उसले जनाएको छ । पुसको १८ गते प्रतियोगिताको ग्राण्ड फिनाले हुनेछ ।


Post a Comment

 
Top