0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय शिक्षक सीप विकास फाउण्डेशन कास्कीको आयोजनामा ४ दिने गणित शिक्षण कार्यशाला तालिम सुरु भएको छ । बुधबार तालिमको उद्घाटन गर्दै जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् ।
 
राष्ट्रिय शिक्षक सीप विकास फाउण्डेशन कास्कीका अध्यक्ष एवं बाल प्रभात वोडिङ स्कुलका प्राचार्य शालिकराम अधिकारीको अध्यक्षतामा सुरु भएको तालिममा नेदरल्याण स्थित कापिजे विश्वविद्यालय तथा थिओला फाउण्डेशनको प्राविधिक सहयोगमा तालिम सुरु भएको कार्यक्रमका संयोजक प्रेमबहादुर कुँवरले जानकारी दिए ।  विगत ४ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरका शिक्षक तालिमहरुको सफल कार्यशाला गर्दै आएको संस्थाले बाल प्रभात स्कुलको सभाहलमा केपिजे विश्वविद्यालयका शिक्षक प्रा. वर्ट टोला र प्रा.आनिका ओष्टनसंगै शैक्षिक तालिम केन्द्र पोखराका गणित प्रशिक्षक चिन्तामणी शर्माले कास्की, स्याङ्जा र तनहुँका करिव ६० शिक्षकलाई तालिम दिन सुरु गरेका छन् । पूर्व प्राथमिक तथा प्राथमिक तहमा गणित विषयलाई कसरी पढाउने, बाल मनोविज्ञानको आधार कस्तो हुन्छ भन्ने आधार सहित विश्वमा प्रचलित शिक्षणविधिबाट विभिन्न विद्यालयबाट सहभागि शिक्षकहरुलाई तालिम प्रदान गरिने आयोजक संस्थाले बताएको छ ।  संस्थाका उपाध्यक्ष एवं भाष्कर मेमोरियल स्कुल फूलबारीका प्राचार्य विश्वराज बास्तोलाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव युवराज त्रिपाठीले गरेका थिए । तालिम शुभारम्भको अवसरमा मदरल्याण उमाविका प्राचार्य प्रेमनारायण पोख्रेल, कर्म फलाईट्स संस्थाका एडियु लोयल लगायतले सिकाई विधिलाई उपयोगी बनाएर व्यवहारमा उतार्न सक्नुपर्नेमा जोड दिएका थिए । ‘शिखरमा पुग्ने उपायहरु धेरै हुन सक्छन’ भन्ने नाराका साथ सुरु भएको तालिमलाई दक्षिण अष्ट्रेलियाली जीनजीन हाइ स्कुलका प्राचार्य व्यारी बमफिल्डको सहयोग समेत रहेको कार्यक्रममा बताईएको थियो ।

Post a Comment

 
Top